तीनकुनेस्थित वाग्मती पुल निर्माणमा लापरबाही, पप्पुका प्रमुखले दिए विभागलाई दोष (भिडियो)

news

गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज)

काठमाडौं, जेठ २ । समयमै काम नसक्ने र कमसल निर्माण गर्ने भनेर बदनाम भइरहेको पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेस्थित वाग्मती पुलमा पनि गम्भीर लापरबाही गरेको फेलापरेको छ ।

प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले बिहीबार पुल निर्माणकार्यको अनुगमन गर्दा डिजाइनभन्दा बाहिर गएर पुल बनाइरहेको पाइएको हो ।

सुरुमै सडक विभागले दिएकोे डिजाइन अनुशरण नगरेको पप्पु कन्स्ट्रक्सनलाई सडक विभागले बिग्रेको काम सपार्दै काम अघि बढाउन निर्देशन दिएको थियो ।

तर, निर्माण कम्पनीले गल्ती सुधार गर्नु त कता हो कता पुलको पिलरमा पनि मापदन्ड पूरा नगरेको संसदीय अनुगमनकाक्रममा उजागर भयो ।

गत वर्ष असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने यो पुल सम्पन्न हुन अझै कति समय लाग्ने हो यसै भन्न सकिने अवस्था छैन ।

संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले निर्माणमा ढिलासुस्ती गर्ने जो–कोहीलाई कारबाही गर्ने चेतावनी दिइन् ।

उपत्यका सडक विस्तार आयोजना प्रमुख अर्जुन अर्यालले विभागले दिएको निर्देशन पनि पप्पु कन्स्ट्रक्सनले अटेर गरेको प्रतिक्रिया दिए ।

अनुगमनकर्ताहरुसँगै रहेका पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण रौनियारले निर्माणमा भएको कमजोरी त स्वीकार गरे तर दोषचाहिँ सडक विभागमाथि नै थोपरे ।

अनुगमनकाक्रममा सरोकारवाला निकायका पदाधिकारीहरुबीच विवादसमेत भएको थियो ।

तीनकुनेको यो पुलमात्रै होइन, पप्पु कन्सट्रक्सनले जिम्मा लिएका थुप्रै आयोजनाहरु यसैगरी अलपत्र अवस्थामा छन् भने कमसल निर्माणको चपेटामा पनि परेका छन् ।

तीनकुने–माइतीघर सडकखन्डमा वाग्मती नदी र टेकुमा विष्णुमती नदीमाथि गरी चारओटा पुल निर्माण गर्नुपर्नेमा वाग्मतीमा बन्नुपर्ने पुलहरुको काम केही प्रतिशतमात्रै भएको छ ।

बिजुलीबजारस्थित धोबीखोलामाथिको पुल भने लगभग सम्पन्न हुने अवस्थामा छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...