बर्षातमा समेत खानेपानीको समस्या

news

विनोद सिंह विष्ट

बैतडी, असार २९ । बर्षातको समय सुरु भईसके पनि बैतडीका धेरैजसो ठाउँमा खानेपानीको समस्या कायम रहेको छ ।

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका लगायतका ठाउँमा खानेपानीको समस्या भएको हो । मेलौली नगरपालिकाको वडा नं.७, वडा नं.१ लगायतका ठाउँमा खानेपानीको मुहान नहुँदा समस्या भएको स्थानीय केशव सिंह भाटले बताए ।

स्थानीयले खानेपानीकै लागि धारा तथा कुवाहरुमा २÷३ घण्टासम्म लाइन बस्नु परिरहेको छ । उनले भने, ‘राति १० बजेसम्म समेत स्थानीयहरु धारामै लाइन बसिरहनुपरेको छ ।’

खानेपानी नहुँदा आफुहरुलाई पानी पिउन, खाना पकाउन, सरसफाइ गर्न तथा गाइबस्तुलाई खुवाउन निकै समस्या भइरहेको स्थानीय पदम ओझाले बताए ।

खानेपानीका लागि भरपर्दो योजना बनाएर पानीको ब्यवस्था गरिदिन स्थानीय बासिन्दाले नगरपालिकासँग माग गरेकाछन् ।

यता मेलौलीका नगर प्रमुख कृष्ण सिंह नायकले खानेपानीको समस्यालाई आफुले गम्भीर रुपमा लिएको बताए । विद्यालयमा लिफ्टको माध्यमबाट जडान गरिएको खानेपानी योजनालाई व्यवस्थित गर्ने र मेलौलीमा बोरिङको माध्यमबाट पानी ल्याउने प्रयास गर्ने उनले बताए ।

उता, बैतडीको सुर्नया गाउँपालिका–८ का दुईवटा बस्तीमा मा वर्षौंदेखिको खानेपानी अभावको समस्या हटेको छ । गाउँपालिकाको देरहाले र चिरकिट्टे बस्तीमा खानेपानी अभाव हटेको हो ।

पहिले घण्टौं हिडेर खानेपानी बोक्नुपर्ने बाध्यतामा रहेका त्यहाँका बासिन्दा अहिले घर घरमा धारा पुगेपछि हर्षित भएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया