राजपा अध्यक्षमन्डलको संयोजकमा अनिल झा, विधान संशोधन

news
फाइल तस्वीर ।

काठमाडौं, जेठ ५ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्षमन्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्ने भएका छन् ।

राजपाको अध्यक्षमन्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमन्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको अध्यक्षमन्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा झाले जिम्मेवारी पाएका हुन् । संयोजक भण्डारीको अवधि आइतबारैबाट सकिँदैछ ।

यसैबीच, राजपाले पार्टीको विधान २०७४ को धारा २७ बमोजिम धारा उपधारामा संशोधन गरेको जनाएको छ ।

विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी तीन वर्षभित्र गर्नसकिने बनाइएको हो ।

पार्टी विधानअनुसार निर्वाचन आयोगले वि.सं. २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो । तर, उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो ।

असारसम्म पनि महाधिवेशन नहुने भएपछि विधानको ३१ (१०) मा रहेको दुई वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर तीन वर्ष बनाइएको छ ।

राजपाको महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ ।

विधान संशोधन नगर्दा राजपालाई वि.सं. २०७६ असार मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता हुन्छ ।

जेठ २ देखि ५ गतेसम्म बसेको अध्यक्षमन्डलको बैठकले विधान संशोधन गरी अध्यक्षमन्डलको व्यवस्था पनि हटाएको राजपाको विज्ञप्तिमा उल्लेख छ ।

विधानको दफा ३१ (१२) मा यसअघि महाधिवेशनपछि पनि अध्यक्षमन्डलको व्यवस्था राखिएकामा त्यसलाई हटाएर एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

यस्तै, विधानको धारा ३१ (७) मा रहेको पार्टीको कुनैपनि तह वा स्तरमा समिति बनाउँदा राजपा नेपालमा एकीकृत ६ ओटै दलको सम्बन्धित स्तरका कार्यसमितिमा आपसी सहमतिका आधारमामात्रै गठन गर्ने व्यवस्थालाई पनि राजपाले हटाएको छ ।

यसअघि, संक्षिप्त विधानमा निर्वाचित सदस्य, पदाधिकारीका लागि शपथग्रहणको व्यवस्था छुट्न गएकामा अनुसूची ४ मा शपथग्रहणको व्यवस्था गरिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...