पाँचथरमा ९ जनाको सामूहिक हत्या एकै व्यक्तिले गरेको आशंका

news

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थाननजिकै एकजनाको शव झुन्डिएको अवस्थामा फेलापरेको छ ।

शव मानबहादुर माखिमको भएको प्रहरीले पुष्टि गरेको छ । माखिम हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् ।

प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको छ ।

माखिमको शव मिक्लाजुङ–७, लुमाङ्दिनमा रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो । उनको घर लुमाङ्दिनमा नै हो ।

माखिमको ससुरालीसँग राम्रो सम्बन्ध नभएको बताइएको छ । पछिल्लो समय माखिमको श्रीमती मनकुमारी फियाकसित सम्बन्ध राम्रो नभएपछि मनकुमारीले सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् ।

हत्यामा एकै व्यक्तिको संलग्नता

सामूहिक हत्या प्रकरणमा एकैजना व्यक्तिको संलग्नता रहेको र पारिवारिक विवादका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हत्याकान्डको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोली घटनास्थल पुगेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी पनि घटनास्थलमा छन् ।

संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री नेतृत्वको टोली पनि घटनास्थलतर्फ लागेको छ । उनीसँगै क्षेत्रीय अनुसन्धान टोली पनि रहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली पनि घटनास्थलमा आउँदैछ ।

यस्तै, पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती पनि घटनास्थलतर्फ लागेका छन् ।

सोमबार राति आरुबोटेका स्थानीय धनराज सेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

ज्वाइँ–ससुराको घर सँगसँगै रहेको छ ।

धनराजको परिवारका पाँचजनाको शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चारजनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज सेर्मा, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, ८ वर्षीया मुना सेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

यस्तै, फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको सनाखत भएको छ ।

भागेर बाँच्न सफल 

उनीहरुको शव अहिले घटनास्थलमै रहेको छ । अनुसन्धान टोली पुगेर थप छानबिन गरेपछि शव उठाइने जनाइएको छ । प्रहरीले घटनास्थललाई ‘सिल’ गरेको छ ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते छिन् । उनलाई उपचारका लागि झापातिर पठाइएको जनाइएको छ ।

घाइते सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।

मध्यराति भएको घटना स्थानीयले मंगलबार बिहानमात्रै थाहा पाएका थिए ।

घटना भएको स्थान आरुबोटे पुग्न पाँचथर सदरमुकाम फिदिमबाट गाडीमा करिब ६ घन्टा लाग्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...