नेकपा सांसदले नै गरे नेपाल–अमेरिकी सेनाको संयुक्त अभ्यासको विरोध

news

काठमाडौं, जेठ ७ । नेपाल र अमेरिकालगायत ६ राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासको सत्तारुढ दल नेकपाकै सांसदले विरोध गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा नेकपाका प्रमुख सचेतक देव गुरुङले विपद् व्यवस्थापनको नाममा सैन्य अभ्यासको सुरुआत भएको भन्दै यसले राष्ट्रिय अस्मितामै खतरा उत्पन्न भएको आरोप लगाए ।

‘डिजास्टर रेस्पोन्स एक्सरसाइज एन्ड एक्सचेन्ज’ (डीआरइई) नामाकरण दिइएको उक्त पाँचदिने सैन्य अभ्यास पोखरामा भइरहेको छ ।

हत्याबारे जानकारी दिन माग

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बिचौलिया, व्यापारी र सरकारको गठबन्धनका कारण मूल्यवृद्धिले नयाँ कीर्तिमान कायम गरेको भन्दै मूल्यवृद्धि कहिले नियन्त्रण हुन्छ ? भन्दै प्रश्न गरे ।

कांग्रेस सांसदहरु देवेन्द्रराज कँडेल र पुष्पा भुसालले पाँचथरको मिक्लाजुङमा ९ जनाको हत्या भएको घटनाबारे सदनलाई जानकारी दिन माग गरे ।

सांसद पार्वता डिसी चौधरी र बालकृष्ण खाँणले नर्सहरुको शान्तिपूर्ण आन्दोलनमा प्रशासनले दमन गरेको आरोप लगाउँदै तत्काल माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले प्रस्तुत् गरेको वन विधेयक–२०७५, वातावरण संरक्षण विधेयक–२०७५ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रस्तुत् गरेको भूमिसम्बन्धी आठौं संशोधन विधेयक–२०७५ माथि छलफल भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...