दशगजामा ‘एसएसबी’को अस्थायी पोस्ट, नेपाली भू–भागमा हतियारसहित ‘ड्युटी’ (५ तस्वीर)

news

हरि शर्मा (इमेज)

नवलपरासी, जेठ ७ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पश्चिम नवलपरासीको सीमामा पर्ने दशगजामा अस्थायी पोस्ट निर्माण गरेको छ ।

सुस्ता गाउँपालिका–५, बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीचभागमा पर्नेगरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो ।

कच्ची टहरोमा पोस्ट निर्माण गरेर बसेका एसएसबीले नियमित ‘ड्युटी’ पनि नेपाली भू–भागमा हतियारसहित आएर गर्ने गरेका छन् ।

मंगलबार सीमा क्षेत्र निरीक्षणकाक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेसहित सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राई र जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टको टोलीले दशगजा क्षेत्र अतिक्रमण गरेर अस्थायी पोस्ट निर्माण गरेको पाएको हो ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले निरीक्षणकाक्रममा एसएसबीले अन्तर्राष्ट्रिय सीमाको बीचभागमा पर्नेगरी पोस्ट निर्माण गरेको र नियमित चेकजाँच पनि नेपाली भू–भागमा बसेर गर्ने गरेको पाइएको बताए ।

पश्चिम नवलपरासी भारतको महाराजगन्ज जिल्लाको सीमानासँग जोडिएको छ ।

भारतीय डीएम (प्रमुख जिल्ला अधिकारी)सित बैठकमा छलफल गरेर निर्माण गरिएको पोस्ट र नेपाली भू–भागमा बसेर गरिएको ड्युटी तत्काल हटाउन पहल गर्ने प्रजिअ लामिछानेले बताए ।

भारतीय समकक्षीसित बसेर समस्या समाधान नभए सम्बन्धित निकायमा पत्रचार गर्ने लामिछानेको भनाइ छ ।

पटक–पटक दशगजा र सीमा क्षेत्र अतिक्रमण

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको पोस्टभन्दा एसएसबीका पोस्ट धेरै छन् । २८ किमि दूरी सीमा क्षेत्रमा रहेको छ ।

लामो सीमा क्षेत्रमा गस्ती गर्न सशस्त्र प्रहरीमा जनशक्ति अभाव भएका कारण पनि भारतीयले पटक–पटक दशगजा र सीमा क्षेत्र अतिक्रमण गर्दै आएको छ ।

सीमा क्षेत्रमा एसएसबीको २५ देखि ३० स्थानमा अस्थायी पोस्ट छन् । सशस्त्र प्रहरीको भने तीनओटा बीओपी (बोर्डर आउट पोस्ट)मात्र रहेको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नम्बर–२६ का उपरीक्षक गहार्धन राईले बताए ।

जनशक्ति अभावले पनि नियमित गस्तीमा केही कमि भएको राईको भनाइ छ ।

यसैबीच, जिल्लास्थित सुरक्षा अधिकारीहरुले दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पनि निरीक्षण गरेका छन् । सीमा क्षेत्रमा १३ ओटा प्रमुख र तीनओटा सहायक गरी १६ ओटा स्तम्भ छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...