बजेट आन्तरिक लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरुको जोड

news

काठमाडौं, जेठ ७ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आगामी बजेटले लगानी प्रवर्द्धनमा जोड दिने र विद्यमान समस्या सम्बोधन गर्ने बताएका छन् ।

सरकारले निजी क्षेत्र र आन्तरिक लगानी प्रवर्द्धन गर्ने किसिमको बजेट ल्याउने भन्दै ढुक्क हुन उनले आग्रह गरे ।

नेपाल आर्थिक संघले मंगलबार राजधानीमा गरेको आगामी वर्षको पूर्वबजेट छलफल कार्यक्रममा उनले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको बताएका हुन् ।

वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्र नै प्रमुख वाहक हुनसक्ने भन्दै उनले नीति निर्माणमा पनि निजी क्षेत्रलाई सहभागी गराइने पनि बताए ।

वर्षेनि हजारौं विद्यार्थी बाहिरिने गरेको भन्दै उनले शिक्षा प्रणालीमा पनि अनुुसन्धान र विकासलाई ध्यान दिनुपर्ने समय आएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले सरकारले वैदेशिक लगानीमा जोड दिँदा आन्तरिक लगानी पछि पर्नसक्ने भन्दै आन्तरिक लगानीमा पनि वृद्धि गरिनुपर्नेमा जोड दिए ।

सरकारले आन्तरिक लगानीका लागि प्रक्रिया सहज बनाउनुपर्ने, प्रतिस्पर्धी बनाउनुपर्ने तथा गुणस्तरीय वस्तुको उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्यालले आन्तरिक उत्पादन वृद्धि गरिनुपर्ने तथा कृषिको व्यावसायीकरण गरिनुपर्ने बताए ।

वैदेशिक लगानीबाट पुँजी, प्रविधि तथा ज्ञान भित्रिनसक्ने हुनाले  वैदेशिक लगानीले आन्तरिक लगानी प्रवद्र्धनमासमेत सहयोग पुर्‍याउने उनले उल्लेख गरे ।

संघका कार्यवाहक अध्यक्ष डा. भवानीप्रसाद ढुंगानाले कार्यान्वयनयोग्य बजेट ल्याउन सुझाव दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...