नेत्रविक्रम, नमच्चाउ निहत्थाको हत्या श्रृंखला !

news

राजन कुईंकेल

नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टी, नेकपाको आतंकले फेरि शहर त्रसित बनेको छ । वर्तमान राज्यसत्तासँग असन्तुष्ट रहेको बताउने उक्त समूहले जनतालाई विश्वासमा लिनेभन्दा त्रास सृजना गरेर आतंक फैलाउने बाटो अख्तियार गरेको छ । एकपछि अर्को गर्दै चन्द जुन बाटो हिड्दै छन् यो उनी, उनका नेता कार्यकर्ता, आमजनता र मुलुकको हितका लागि घातक मात्र छ ।

यसले कुनै परिणाम दिन सक्ने छैन । हिंसा समाधान हुनै सक्दैन । आजको विश्वमा जजसले जुनजुन नाममा हिंसा अबलम्वन गरेका छन्, तिनको कुन गति भएको छ र कुन परिणाम आएको छ भन्ने कुनै बयानको जरुरी छैन । आइतवार जेठ १२ गते त्यही हिंसात्मक बाटो अबलम्बन गर्ने उनकै कार्यकर्ता आफैले बनाउँदै गरेको बम पड्केर मारिए ।

अरुलाई मार्ने दुराशय बोक्ने ति कार्यकर्ता मात्रै मारिएका होइनन्, तिनको दूष्कर्ममा निहत्था अरु थुप्रै नागरिक घाइते बनेका छन् । केही मारिएका छन् । एकपछि अर्को गर्दै राजधानी काठमाडौंमा गरिएको श्रृंखलावद्ध विष्फोटले चन्द र तिनको क्रियाकलापप्रति कहिंकतैबाट सहानुभूतिसम्म मिल्ने छैन । यो उनले बुझे हुन्छ ।

उनीसहित उनका गुरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यले गरेको दश वर्षे हिंसाले मुलुकलाई कुन गर्तमा लगेर जाक्यो आमजनता भुक्तभोगी छन् । हिंसाको बाटो अपनाएर छोटै समयमा आफ्ना गुरुहरुले राज्यसत्ता र शक्तिको बेलगाम उपभोग गरेको देखेरै होला उनले फेरि यही बाटो अबलम्बन गरेको । तर सत्य के हो भने चन्द समूहले हिंसाको मार्ग अबलम्वन गरुञ्जेल उनीप्रति कसैको साथ मात्र होइन सहानुभूति पनि रहनेछैन ।

हो, वर्तमान सरकार र राज्य संयन्त्र मुलुक लूट्ने अभियानमा निर्लिप्त छ । जताततै बेथिति, अराजकता छ । भ्रष्टाचार छ, अनियमितता छ । पटक पटक मुलुक सञ्चालन गरेका राजनीतिक दल र तिनका नेता कार्यकर्ता यिनै अनियमितताको आहालमा डुबेका छन् । सुधारको पहलकदमी कहिंकतैबाट हुन सकेको छैन । राज्यका सबै संरचनाहरु मिलेमतो र भागबण्डाको बेथितिबाट कुरुप बनाइएको छ । जनताको आशाको अन्तिम भरोसा रहेको न्यायालयसम्म पनि भागबण्डा र मिलेमतो राजनीतिको शिकार बनाइएको छ ।

भ्रष्ट नेता कर्मचारी, ठेकेदार, बिचौलिया, दलालले राज्य संरचनाहरुलाई छपक्कै छोपेका छन् । जता गयो त्यतै यिनै र यस्तै प्रवृतिका पात्रहरुसँग ठोक्किन्छन् । बेरोजगारीको विकराल अवस्था छ । देशभित्र काम नपाउँदा हजारौंहजार युवाको लर्कन खाडी मुलुकमा श्रम बेच्न जान विवश छन् । उपायविहीन बनेका महिला दिदीबहिनी कामको नाममा बेचबिखनको जालोमा फसाइएका छन् ।

गरीबीको दूष्चक्रमा चेपिएका नेपाली युवायुवती खाडी, मलेसियालगायत देशका जोखिमपूर्ण श्रम क्षेत्रमा रोजगारीका नाममा हरदिन बेचिएका छन् । त्यहाँ उनीहरु श्रम र पसिना मात्र होइन रगत समेत बेच्न विवश छन् । दुई चार पैसा कमाएर घरको दुरावस्था सुधार्ने सपना साँचेर बिरानो मुलुक भास्सिएकाहरु मध्ये दैनिक चार पाँच जनाको शव बन्द बाकसमा छोपिएर मुलुकमा भित्रिरहेको छ ।

राज्यसंरचना सत्तामा पुगेका र तिनको तावेदारीमा लागेकाहरुका लागि मात्र बनेको छ । पहुँच नभएकाहरुको केही हुने अवस्था छैन । शिक्षा र स्वास्थ्य जस्ता नागरिकका आधारभूत सेवामाथि व्यापारीकरणको लूट मच्चाइएको छ । राम्रो शिक्षा र स्वास्थोपचार वर्गीय रुपमा सम्पन्न वर्गले मात्र पाउने अवस्था ।

सिटामोल र जीवनजल नपाएरै मारिने नागरिकको संख्या कम छैन । तर सत्ताको आशनमा रहेका नेता र तिनका आसेपासेलाई रुघा मात्र लागेपनि विदेशी सुबिधासम्पन्न अस्पताल धाउनु परेको छ । त्यो पनि जनतालाई निचोरेर जम्मा पारेको ढुकुटी दुरुपयोग गरेर तिनका उपचार गरिएका छन् । आफ्ना चाकरीवाजहरुलाई गृहदेखि स्वास्थ्य मन्त्रालयसम्म लाखौंलाखदेखि करोडौंसम्मको रकम जोहो गराइन्छ ।

जनताका छोराछोरीले पढ्ने र घेरावाल नागरिकले उपचार सेवा पाउने स्वास्थ्य केन्द्रहरु यस्तै विकृत राजनीतिको खेलोफड्को गर्ने प्रयोगस्थल बनेको छ । आफ्ना सन्तान स्वदेशदेखि विदेशका महँगा निजी विद्यालय विश्वविद्यालयमा पढाएर जनताको छोराछोरी पठ्नेस्थललाई राजनीतिक शक्ति आर्जन गर्ने भट्टीका रुपमा विकास गरिएका छन् ।

यो अहिलेदेखिको मात्र समस्या होइन । दशकौंदशकदेखि यही रोगले सार्वजनिक विद्यालय, कलेज र विश्वविद्यालयहरु निकम्मा बनाइएको छन् । दलीय खोल ओढेका शिक्षकले विद्यालय, प्राध्यापक/विद्यार्थीले विश्वविद्यालय, कर्मचारीले सार्वजनिक सेवास्थलहरु लूटी खानेस्थलका रुपमा परिणत गराएका छन् । सरकारी सेवा प्रवाह गर्नुपर्ने नोकरशाहीतन्त्र ट्रेड युनियनको नाममा विकृत बनेको छ । चाकडी र भजनमण्डलीहरुको जमघटस्थल बनेको निजामती कर्मचारी प्रशासन ।

हो, तमाम समस्या हाम्रा अगाडी छन् । तर के निहत्था नागरिकको बली दिएर यो समस्याको समाधान हुन्छ ? दश वर्षसम्म यस्तै समस्याको फेहरिस्त देखाएर त्यही माओवादी नामको जत्थाले एकपछि अर्को गर्दै निहत्था नागरिकलाई बलिबेदीमा चढाएको होइन ? जनताले के पाए ?

होला केही सय नेता र तिनका चाकरीवाज भाइभारदारले मुलुक लूट्ने लाइसेन्स पाए । राज्यका निकायहरु निकम्मा बनाउँदै त्यहाँ यिनैका स्वस्ती गाउनेहरु पुर्याइए । अदालत दलीय सिण्डिकेटमा थला पारियो । तर यी सबैको समष्टि समाधानको रुप र बाटो हत्याहिंसा हुनै सक्दैन ।

यिनै विकृतिमाथि प्रहार गर्ने आफ्नो लक्ष रहेको तर हिंसा मच्चाउने कुनै उद्देश्य नरहेको भन्दै स्वयं चन्दले पटक पटक खाएको कसम कहाँ गयो ? कहाँ पालना भयो त्यो बचन ? चाहे एनसेल आगजनी प्रकरण होस् वा चितवन नवलपरासी विष्फोट । या काठमाडौंमै मच्चाइएको ताण्डव !

यसलाई कुनै अर्थमा पनि सभ्य समाजले जायज मान्नै सक्दैन । एनसेल मात्र होइन मुलुकको ढुकटी रित्याउने खेलमा लागेको अरु थुप्रै देशी विदेशी कम्पनी जसलाई सही बाटोमा ल्याउनु जरुरी होला तर बाटो तोडफोड र आगजनी ? अहँ हुन सक्दैन ।

हिंसा मुलुक र जनताको हितमा हुनै सक्दैन । वैद्य–दाहाल–भट्टराईको खेलोले मच्चाएको दशक लामो हिंसाले मुलुकलाई कहाँ पुर्यायो सबै जनतालाई भलिभाँती जानकारी छ । हिजो गरीब जनतालाई रुमानी सपना देखाएर मृत्युको मुखमा धकेल्नेहरु आज के गर्दैछन् ? संसारलाई बदल्छु भन्दै घरघरमा पुगेर जनताको छोराछारी खोस्दै युद्धमोर्चामा मिल्काउनेहरु आफ्ना सन्तानको स्वाभाविक मृत्युका शोकगीत कसरी गाइरहेका छन् ?

तिनका हरेक सनकलाई मन्त्र मानेर युद्धमोर्चामा होमिएका कलिला बालबालिका (बाल लडाकू) समेतलाई कसरी अलपत्र पारियो ? तिनै लडाकु व्यवस्थापनका लागि राज्यको ढुकुटीबाट लिइएका रकम कसरी केही नेताले कुम्ल्याए । अझ युद्धका समयमा राज्य, निजी बैंकदेखि व्यक्तिसम्मका लुटेका सम्पत्ति कहाँ कसकसले कसरी पच पारे ? खै कहाँ छ हिसाब ? माओवादी लडाकु शिविरको रकम हिनामिनाबारे खोजिनीति गर्ने निकायहरुलाई नै आज कसरी तिनै नेताहरुले निकम्मा बनाइदिएका छन् ?

युद्धका समयमा मारिने त मारिए मारिए, वेपत्ता बनाइएका, अपहरण गरिएका, अंगभंग बनाइएका, सम्पत्ति स्वाहा बनाइएका, घरआँगन ध्वस्त बनाइएकाहरुको आज कुन गति छ ? कहाँ पाए तिनले न्याय ? तिनैलाई टेको बनाएर सत्तामा पुगेकाहरुले न्यायका लागि सडकमा भौतारिरहेका उनीहरुप्रति हेर्दै खिसिट्यूरी गर्दै करोडौंको गाडीमा त्यही सडकमा कसरी शयर गर्दैछन् ? अनि फेरि पनि त्यही सनक ? विदेशीको दलाली गरेर र तिनैको प्रायोजनमा आफ्नै देशका दाजुभाई दिदीबहिनी मार्ने अभियान न हिजो ठीक थियो न आज औचित्यपूर्ण !

त्यसैले तिमि साँचै मुलुक बदल्ने बाटोमा लागेका हौ भने हिंसाको बाटो छाडेर मैदानमा आउ । सत्याग्रहबाटै सत्ताका निरोहरुलाई तिनका कूकर्म त्याग्न विवश बनाउ । निःशस्त्र हत्केलाहरुमा जस्तो बल र सत्याग्रहमा जस्तो नैतिक साहस तिमिले लुकीछिपी पड्काउने बन्दुक र गोला बारुदमा रहने छैन । त्यो त कायरहरुले गर्ने कर्म मात्र हो ।

होइन तिमिले यो बाटो त्याग्दैनौं भने समाज तिम्रो सती त जान सक्दैन । तिम्रो दुस्साहसले फेरि केही निहत्था नागरिक मारिने छन् । गरीबी र बेरोजगारीको भट्टीमा पिल्सिएका निर्बोध युवाहरु तिम्रो सनकमा जीवन रित्याउन बाध्य हुनेछन् ।

तिम्रा गोलीहरुले न त ओलीको सत्ताको भित्तो छुने छ न त दाहालको दैनिकीमा नै कुनै परिवर्तन ! या तिनले संरक्षण गरेका बेथितिको पर्खाल नै भत्कने छ । बरु उल्टै तिम्रा यही दूष्कर्मलाई देखाएर तिनलाई मुलुक लूट्ने अर्को सजिलो लाइसेन्स मिल्ने छ । त्यसैले फेरि आग्रह छ, छोड यो रक्तरञ्जित होलीको खेल । शान्तिपूर्ण बाटोबाटै मुलुकमा पन्पिएका यावत समस्याहरुलाई अन्त्य गर्ने बाटोमा लाखौं होइन करोडौं नागरिकलाई लाम लगाउने आन्दोलनको नेतृत्व लिउ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...