दरबार हत्याकाण्ड आधुनिक युगको नसुल्झिएको एउटा रहस्य !

news
Picture:reuters

राजन कुईंकेल

जेठ १९ वर्षेनी पल्टेर आउने पात्रोको एउटा मिति । जब जब पात्रोमा यो मिति देखिन्छ तब तब आम नेपालीको आङ जिरिङ भएर आउँछ । श्वास एकतमासले फुल्छ । नसम्झौं भन्दा पनि इतिहासको दूर्दान्त क्षण आँखै अगाडी नाच्न थाल्छ ।

अर्थात् २०५८ सालको जेठ १९ । जुन दिन नेपालका तात्कालीन राजा वीरेन्द्रको वंश समूल नष्ट गरिएको दिन । आधुनिक युगमा राजसंस्थाको परिवारनै नष्ट हुने गरी मच्चाइएको हत्याकाण्ड । विस्मृतिमा छाड्न चाहेर पनि नसकिने कटू यथार्थ । हँसमुख राजा वीरेन्द्रको अनुहार आँखै अगाडी नाचिरहने ।

१८ वर्ष अगाडी राजपरिवारको शुक्रवारे भोजमा गरिएको नृशंश हत्या । जहाँ राजा वीरेन्द्रको सन्तानको छानी छानी गोली ठोकेर हत्या गरिएको थियो । युवराज दिपेन्द्रले मच्चाएको भनिएको काण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमार धीरेन्द्र शाह, शाही आफन्तहरु शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाहको हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए ।

तात्कालीन जारकालीन रुसमा राजनीतिक कारणले जारशाहीको वंश अन्त्य हुने गरी हत्या गरिएबाहेक आधुनिक विश्व इतिहासमै राजपरिवारको एकसाथ हत्या गरिएको यो घटना संसारकै लागि रहस्य बनेर रहेको छ ।

यद्यपि, हत्यालगत्तै गरिएको छानबीन, त्यसयता घटनासँग जोडिएका पात्रहरुले लेखेका पुस्तकहरुमा पनि घटनाका मूल दोषी युवराज दिपेन्द्रलाई ठहर्याइएको छ । तर आमजनता यो निष्कर्षमा सहमत हुन सकेका छैनन् । उनीहरु घटना सुनियोजित र षड्यन्त्रको तानाबाना भएको मान्दछन् ।

फेरि घटना भएको समय र त्यस बेलाको राजनीतिक परिस्थितिले पनि मानिसलाई आशंका गर्न बल मिलेको देखिन्छ । काठमाडौंको सत्ता राजनीतिमा संसदीय शक्ति र दरबारको किचलो बढेका बेला काठमाडौं बाहिर हिंसाको सहारा लिएको माओवादी सशस्त्र द्वन्द्व चरमोत्कर्षमा थियो । काठमाडौंको केन्द्रीय सत्ताको किचलोमा माओवादी आफुनुकूलको चरु होमिरहेको थियो । सत्ता र शक्तिका लोभीहरु संसदीय राजनीतिमा सक्नेजति फोहोरी खेलमा लिप्त थिए ।

तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त दरबार हत्याकाण्ड एउटा ‘ग्राण्ड डिजाइन’ थियो भनि बारम्बार भनेका थिए । तर उनले त्यो डिजाइन कसले, कहाँबाट कसरी गरायो भन्नेचाहिं कहिल्यै खुृलाएनन् । घटनालगत्तै माओवादी नेता बाबुराम भट्टराईले लेख नै लेखेर हत्याकाण्डलाई अर्को ‘कोतपर्व’ को संज्ञा दिएका थिए ।

सांसद किनबेच, सरकार हत्याउन सुरासुन्दरी प्रकरण, प्राडोपजेरो काण्ड, राष्ट्रको ढुकुटीमा हुन थालेको ब्रह्मलूट जस्ता कारणले संसदीय सत्ता विकृतिको आहालमा डुबेको थियो । सिंहदरवारको सत्तासँग असन्तुष्ट नारायणहिटीभित्रका अनुदार पक्ष माओवादीको हिंसामा मलजलका लागि सहायक बनिरहेका तथ्य बाहिरिदै थियो । माओवादी स्वयं पनि संसदीय राजनीति अन्त्यका लागि दरबारसँग हात बढाउँदै थियो ।

माओवादीको हिंसालाई सहारा लिएर नेपाली एकतालाई धूमिल बनाउने खेलमा विदेशी शक्ति उत्तिकै लागेका थिए । माओवादी नेताहरुलाई आश्रयका अतिरिक्त युद्धका लागि आवश्यक रसदपानीसमेतको व्यवस्था मिलाउन भारतीय संस्थापन उदार बनेको थियो । दिल्लीको सत्ता नेपाली दरबारसँग कत्ति रुष्ट थियो भन्ने त भारतको अनुसन्धान निकाय रअले निकालेको एक प्रतिवेदनमै उल्लेख भएकै छ ।

यस्तो पृष्ठभूमिमा तुलनात्मक रुपमा राजनीतिमा उदार मानिएका र पञ्चायतले विकासवादी राजाको छबी बनाइदिएका वीरेन्द्रसमेतको एकाएक हत्या गरिनुलाई आमजनताले षड्यन्त्रका रुपमा लिए । त्यसैले त अझै पनि उनीहरु यस हत्याकाण्डामा दिपेन्द्रको संलग्नतालाई स्वीकार्नै सकिरहेका छैनन् ।

घटना विवरणहरुमा आएअनुसार रक्सी र नशामा चूर रहेको एक जनाले कसरी दश/दश जनाको हत्या गर्न सक्छ ? हर निमेष तात्कालीन शाही सेनाको सुरक्षा निगरानीमा रहने दरबारभित्रै यो कसरी सम्भव भयो ? राजा, रानी, युवराजलगायत भीभीआईपीहरुको सुरक्षाको जिम्मा लिएका अंगरक्षकहरु के गर्दै थिए ?

यत्रो हत्याकाण्ड हुँदा सुरक्षा अधिकारीहरु कहाँ थिए ? राजारानीका अंगरक्षकहरुले दिपेन्द्रले नै गोली हानेको भएपनि किन फायर खोलेनन् ? यस्ता अनगिन्ती प्रश्नले घटनामा दिपेन्द्रमात्रै संलग्न थिए वा के दिपेन्द्रले नै घटना गराएका हुन् ? भन्ने मानिसलाई पत्याउनै दिँदैन ।

आममानिसको आशंका एकातिर भएपनि तथ्य र यथार्थले घटनाको दोषी दिपेन्द्र मात्र भएको बारम्बार देखाउँछ । दरबार हत्याकाण्ड छानबिन गर्न बनेको तात्कालीन प्रधानन्यायाधीश नेतृत्वको आयोगको निष्कर्ष होस् वा त्यस घटनासँग जोडिएकाहरुले दिएका बयान वा उनीहरुले लेखेको संस्मरणात्मक पुस्तक सबैमा दोष दिपेन्द्रमै देखाइएको छ ।

हत्याकाण्ड भएको दुई दशक हुन लागिसक्यो । वीरेन्द्रको वंशनाश भएपछि अनेकन आशंकाकै बीच उनका भाई ज्ञानेन्द्र (तात्कालीन अधिराजकुमार) ले राजतन्त्रको निरन्तरता दिए । राजनीतिक अन्यौलकै बीच उनलाई दाम राखेर ढोक्न पुग्नेहरु उत्तिकै भए । एउटा अकल्पनीय दुर्घटना ब्यहोरेका बेला फेरि अर्को आपत् ननिम्त्याउन तात्कालिन सरकारले शाहलाई राजमुकुट पहिर्याएर सांस्कृतिक परम्परालाई निरन्तरता दियो ।

तर नेपाली जनताका बीचमा परम्परागत राजतन्त्रको अवशान जेठ १९ को त्यही शुक्रवारे कालरात्रिले गराइसकेको थियो । परिणाम त्यसको पाँच वर्ष पनि नेपाली धर्तीमा राजतन्त्र तन्कन सकेन । राजा ज्ञानेन्द्रको शक्ति आफैले लिने भोक र संसदीय र माओवादी फाँटका दलहरुलाई मिलाउने देशी विदेशी सक्रियताले अन्ततः २०६२/०६३ को आन्दोलन निम्त्यायो । र दुई सय ३४ वर्षे शाही राजतन्त्रको विधिवत अन्त्य गर्यो ।

तर यो प्रकरणसँग जोडिएको मूख्य विषय भनेको दरबार हत्याकाण्डबारे जनताले विश्वास गर्ने गरी कसैले पनि तथ्य बाहिर ल्याउन सकेन । वा जनतालाई विश्वास दिलाउन कुनै पनि सरकारले सकेन । स्वयं राजा ज्ञानेन्द्र शाहले आफुमाथि गरिएको आशंकाको सफाई लिन सकेनन् । जुन कुरा उनले दरबार छोड्ने बेलामा गरेको प्रेस सम्मेलनमा व्यक्त गरेको दुःखेसोबाट प्रष्ट हुन्थ्यो ।

‘ग्राण्ड डिजाइन’ मान्ने कोइराला राजा ज्ञानेन्द्रको सत्तात्यागसँगै सर्वाधिकारसम्पन्न राजनीतिक उत्तराधिकारी बने तरपनि उनले केही तथ्य जनतामा राखेनन् । यही विषयलाई उछालेर राजनीति गर्ने कम्युनिष्ट नेताहरु यो बीचमा पटक पटक प्रधानमन्त्री बने । राजपरिवार मारिएको प्रांगणमै उभिएर हत्याकाण्डको तथ्य बाहिर ल्याएरै छाड्ने भाषण ठोके तर दुई दशकको यो अवधिमा केही हात लागेन ।

अब त तात्कालीन प्रमाण र तथ्यहरु पनि नष्ट भैसकेका छन् । कति पात्रले त मृत्यु नै वरण गरिसकेका छन् । हुनत यतिबेला झण्डै दुई तिहाईको शक्तियुक्त नेकपाका नेता केपी ओली देशको प्रधानमन्त्री छन् । उनले यो आफ्नो कर्तव्य ठान्लान् वा आफ्ना राजनीतिक गुरु मदन–आश्रितको दासढुंगा दुर्घटनालाई हत्याकाण्डको जलप लगाएर गरिएको राजनीति जसरी तुहियो त्यसैगरी यस विषयमा प्रवेश गर्ने चासो नै नगर्लान् ।

चाहे मदन–आश्रित दुर्घटनाको सन्दर्भ होस् वा दरबार हत्याकाण्ड वा त्यसपछि भएका यस्तै रहस्यको गर्भमा तुहाइएका अरु आपराधिक घटना, हामी नेपालीका लागि एकपछि अर्को दण्डहीनताको विरासत मात्र बनेको छ । यी काण्डहरु इतिहासका अरु कैयन् घटना जस्तै अर्को एउटा नसुल्झिएको गुत्थीका रुपमा मात्र नरहोस् । अहिलेलाई यत्ति कामना !    

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...