लक्ष्मण थारुको उद्घोष : हामी मर्न तयार भएर फेरि आन्दोलनमा जुटेका छौं

news

काठमाडौं, जेठ १९ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घटनापश्चात विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ । 

समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले टीकापुर घटनाबारे सत्य, तथ्य छानविन गर्नका लागि तात्कालिन नेपाल सरकारले गठन गरेको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल दास नेतृत्वको न्यायिक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गर्नुपर्ने पनि माग राखेको छ । 

कार्यक्रममा थरुहट नेता लक्ष्मण थारुले आफू ४२ महिना लामो जेल जीवनपछि पहिलोपटक मिडियामा आएको सुनाउँदै आफूहरु फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेको बताए । 

उनले भने, ‘हामीलाई झुठा मुद्दा लगाएर ४२ महिनासम्म जेल राखियो, अझै पनि हाम्रा धेरै साथीहरु जेलमै छन् । अब हामी फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेका छौं ।’ उनले आफूहरुले न्याय र अधिकार नपाएको गुनासो पोखे । उनले भने, ‘हामीलाई राज्यबाट जहिले पनि हेप्ने काम भयो । सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दैन, तर झुठा मुद्दा लगाएर यो देशका २५ लाख थारुहरुलाई तर्साउने काम गरेको छ ।’ 

उनले आफूहरुको घर, पसलमा आगो लगाईएको र उल्टै राज्यबाट झुठा मुद्दा खेप्नु परेको गुनासो गरे । टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गर्दै  उनले आफूहरुले कुनै पनि हालतमा ७ वटा प्रदेश नमान्ने घोषणासमेत गरे । उनले थपे, ‘अखण्ड सुदुरपश्चिम माग्नेले त्यही पाए, मधेश प्रदेश माग्नेले पनि पाए, किराँतहरुले पाउँदैछन्,  हामी थारुहरुले किन नपाउने ?’

आगामी भदौ ७ गतेबाट देशभरिका पाँच लाख थारु उतारेर सम्मेलन गर्ने उनले बताए ।

कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मिनराज चौधरीले नेपालमा रहेका सबै क्षेत्रका वर्ग, समूदायका मागहरु पूरा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, समितिले थरुहट आन्दोनलको क्रममा टीकापुर घटनापश्चात् २०७२ भदौ ८ गते निषेधाज्ञा लागेकै समय थारुहरुको घर, पसल तथा व्यवसायिक केन्द्रहरुमा गरिएको आगजनी, लुटपाट, डाँकाचोरी गर्ने तथा संलग्न अपराधीहरुलाई तुरुन्त पक्राउ गरि कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नसमेत माग गरेको छ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...