दरबार हत्याकाण्डः दीपेन्द्रको सनक थियो कि अरुकै षडयन्त्र ?

news

-संजिव कार्की

१८ वर्ष अघिको त्यो बिभत्स हत्याकाण्डको पर्दा खुल्छ खुल्दैन थाह छैन तर जनजनले आफ्ना प्रिय राजा उदार छवि चरित्रका बीरेन्द्र र राजपरिवार झन बीरेन्द्र राजाको वंश नै बिनाश भएको स्मृतिमा बादल लागेको छैन । विश्वले नै चकित  भएर हेरेको उत्सुकता पुर्वक नियालेको आधुनिक युगको चर्चित हत्याकाण्ड । जब त्यो कहालीलाग्दो दिन अर्थात जेठ १९ आउँछ तब तब जनता आकुलव्याकुल र शोकाकुल नै भएको स्थितिमा पुग्छ्न र प्रिय राजाको स्मृतिमा भावुक हुन्छन । जिज्ञासु बन्छ्न के अझै यो हत्याकान्ड  छानबिन सम्भव होला ?

यदि हत्याकाण्डको पर्दाफास हुने हो भने कतिलाई अनाहकमा लागेको आरोपबाट मुक्त भएर लान्छना मुक्त जीवन जिउने रहर छ, कति कोही दोषी उम्केको छ भने कानुनको बरियोमा कसिन पुग्नुपर्ने छ । यदि तत्कालीन युवराज दीपेन्द्र नै हत्यारा हुन भने तथ्यसंग जनताको साक्षत्कार हुनेछ र आम धारणा तथ्य र तर्कमा आधारित बन्नेछ अनुमान आरोप र स्वार्थ सिद्ध गर्न लगाइएका झुठो आरोपको पर्दाफास हुनेछ । राहतलाई आहत, आहतलाई राहत या जे हो त्यो सत्य आउनु भनेको त्यो घटना सुनेका पुस्ताले पनि नवीन जानकारी हासिल गर्न सक्थे । देश नै भ्रम बाट मुक्त हुन्थ्यो ।

अन्तर्राष्ट्रिय स्तरमा पनि एउटा सन्देश जान्थ्यो आखिर घटनाको सत्य पत्ता लाग्दा ठुलो उपलब्धि प्राप्त गर्न सकिन्थ्यो । खै कसले खोज्ने यस्ता घटना र आशंकित हत्याहिंसा बारे । देशमा कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार छ विद्या भण्डारी राष्ट्रपति हुनुहुन्छ, यतिबेला तत्कालीन एमाले महासचिव कमरेड मदन भण्डारीको दुर्घटना या हत्या हो भन्ने कुराको खोजी हुँदैन भने बिस्थापित राजतन्त्रका राजाको वंशको बारेमा कसले सोधपुछ गर्ने ? गणतन्त्रको पारदर्शिता र जबाफदेहिताको लागि पनि कम्तिमा युग नै उलट पुलट गर्ने विश्वमा नै चर्चित रोयल म्यासेकर बारेमा यथार्थ उधिन्ने प्रयास हुनुपर्ने हो ।

दरबार हत्याकाण्ड बारेमा अहिलेको सरकार र राजा ज्ञानेन्द्रको विशेष चासो र पहल कदमी आवश्यक छ कारण बिरेन्द्र राजाको सपरिवार हत्याको आरोप ज्ञानेन्द्र र खास गरि पुर्व साहाज्यादा पारसले आज पर्यन्त बोक्नु परेको छ यदि यथार्थ आएन भने र उनीहरु निर्दोष हुन भने सदा त्यो हत्या र आरोपबाट कालो धब्बा बोकेर रहनुपर्ने हुन्छ । जनतामा ब्याप्त भ्रम निवारण गर्न पनि ज्ञानेन्द्र–पारसको आफ्नै अग्रसरता अपेक्षित छ । सधैं मानसिक तनाव र लान्छनाको भारी बोकेर बस्नु भन्दा उच्चस्तरीय बैज्ञानिक आधुनिक सुबिधा सम्पन्न आयोग बनाएर राजदरबार हत्याकाण्डको बास्तविकता खोतल्ने र यो युगको च्यालेन्ज स्विकार गर्ने हिम्मत देखाउनुपर्छ ।

निर्दोष नफसोस बरु दोषी उम्कियोस भन्ने कानुनी सिद्धान्त छ तसर्थ नोर्दोश र अपराध बिहिन बनेर बाच्ने राजा ज्ञानेन्द्र र पारसको हक किन सुरक्षित नगर्ने यो जिम्मा सरकारको पनि हो । तर सरकार लान्छना नै लान्छना अपमान र बेइज्जत गरेर पुर्व राजालाई कर्नर मै राख्न चाह्न्छ अझ रोचक र घतलाग्दो कुरा के छ भने आफ्नो असफलताको दोष समेत ज्ञानेन्द्र पारसलाई बोकाएर आफ्नो सुरक्षित अवतरण सरकारको ध्येय छ ।

दुई सय चालिस वर्षदेखि राजतन्त्रले बिगारेको प्रणाली र थुपारेको फोहोर सफा गर्दै आफ्नो समय ब्यतित भएको र नयाँ काम गर्न नपाएको बहाना चाहिएको छ । काम नगर्नेलाई चाहिने हरेक बहाना मिलेको छ, मिल्छ लज्जा त्याग्न नसक्नेले जे भने पनि सुहाउँछ ।  मदन भण्डारीको हत्याकाण्ड पनि यहि जेठ महिनामा नै परेको संयोग हो तर छानबिन हुनुपर्छ, गर्छौ भनेर नेतृत्व कसले लिने ? हत्याकाण्डको बाछिटा स्वंय प्रचण्डको महँगो शुटमा लत्पतिएको सबैले देखेकै छन ।

हत्या हिंसाको हदबन्दी र हदम्याद हुन्न अपराधी या शंकास्पदप्रति जहिले पनि अनुसन्धान र छानबिन गर्न सकिन्छ समय टर्यो र म्याद गुजृयो भन्ने छुट छैन । राजा ज्ञानेन्द्र र पारस नै हत्याका सुत्रधार हुन या योजनाकार हुन भने किन राज्यले समाएर अनुसन्धान गर्न सक्तैन ? राज्यको तमाम सेवा र सुबिधा अनि सुरक्षा किन अपराधीलाई दिनु पर्छ ? दरबार हत्याकाण्डमा किन बचे ज्ञानेन्द्रका सपरिवार ? दाइको वंश नै बिनाश हुनु फूपू, फुपाजु, ज्वाइँ समेत मारिनु तर ज्ञानेन्द्रका सबै सकुशल कसरी सम्भव भयो शंका गर्ने प्रशस्त आधार र प्रमाण छैन र ? पारसको बयानबाट पनि शंका गर्न सकिन्छ । लान्छना लगाइएका दिपेन्द्रले पारस तिर बन्दुक सहित ताक्न लाग्दा ‘दार्इ, हजुर यहाँ त हामी मात्रै छौं’ भन्नुको अर्थ के हो ? दीपेन्द्रले कस कसलाई मार्दैछ्न पूर्व जानकारी पारसलाई थियो र ? कोमल शाह घाइते हुनुभएको कुरामा सत्यता छैन भन्ने आशंका पनि बलियो गरि उठेको थियो यी बिबिध कारणबाट पनि अझै ज्ञानेन्द्र परिवारलाई अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । यो हिम्मत गर्न सक्छ सरकारले ? सरकारमा हुती भएका कोही छन ?

किन बेला बेलामा धम्क्याउने मात्र गर्छ्न देशका राजनीतिक पार्टीहरुले राजाको परिवारलाई ? अपराधी किटान गर्नेले किन थुन्न सक्दैनन् ? राजदरबार हत्याकाण्डको पर्दाफास गर्ने प्रचण्ड उदघोष आफुले सरकारको नेतृत्व गर्दा कुन दुलोमा पस्यो ? नयाँ कोतपर्व परिभाषित गर्ने बाबुराम पनि सरकार प्रमुख हुँदा यो घटनामा मुख सिलाए झै बसे । २०६२ ०६३ को जन आन्दोलनको बेला दोषी करार गरेर सडक तताउने खै गणतन्त्र आएको १२ वर्षसम्म कारबाही गरेको ? किन चुपचाप छन् हिजो ज्ञानेन्द्र्लाइ अपराधी घोषणा गर्ने पार्टी र तिनका भात्रीसंगठनहरु ? जबाफदेहिता कसैले लिनु पर्दैन ।

जसले जे बोले पनि जे भने पनि प्रमाणित नभए कुनै खेद गर्नु नपर्ने, पश्चाताप गर्न नमिल्ने कस्तो नैतिकता नभएको संस्कार ? आज गणतन्त्रको सरकार झन कम्युनिस्ट सरकार हुँदा किन घटना अनुसन्धान र छानबिनको माग राखेर सडक तात्दैन ? घटना सामसुम र गुमनाम पार्न किन सबै लागि परेका छ्न लाजमर्दो तवरले । सबै पार्टीको लागि सत्ता बाहिर बस्दा बन्ने आकर्षक नारा र राजा ज्ञानेन्द्रसँग रिस उठेपछि डाम्ने अस्त्र मात्रै बन्यो । रहस्य पर्दा भित्र नै राखेर बाहिर सँधै अनेक तिकडम षडयन्त्र र प्रचारबाजी मात्रै कति सुन्ने जनताले ? घटनालाई आ आफ्नो अनुकुल किन ब्यख्या गरिन्छ ? तत्कालिन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्यायको छानबिन आयोग थिएन त्यो केवल घटना विवरण मात्रै थियो त्यो छानबिन आयोग नभएर घटना स्थलको प्रकृति र देखि जान्नेसगको बाह्र विवरण संकलन हो ।

कुनै गहिरो ठोस अनुसन्धान होइन झन छानबिन आयोगमा नाम टिपाएर पनि पुन आयोगमा बस्न अस्विकार गर्ने तत्कालीन एमाले महासचिव माधव नेपालको नामर्दीपनाले घटना रह्स्यमय नै बन्यो । झन प्रतिवेदन प्रस्तुत गर्दा संसद्का सभामुख तारानाथको प्रस्तुति र शैली हाउभाउ कुनै जोकरको भन्दा कम भएन जनताले कसरी विश्वास गर्ने ? दीपेन्द्र नै वास्तविक हत्यारा भए पनि पत्याउने विश्वसनीय आधार बनेन । जनताको भावना र चाहलाई नजर अन्दाज गर्छन शक्तिका पुजारीहरु ?  तत्कालीन समयमा सत्य तथ्य र गहिरोसंग खोज गर्न किन खुट्टा कमाए, कायरता देखाए माधव नेपालले ? विषय गम्भीर र सन्देहपुर्ण छ ।

माधवकुमार नेपालको नालायकी यस कारण पनि खेदयोग्य छ उनले उच्चस्तरीय छानबिन आयोगमा बसेर अनुसन्धानको दायरा फराकिलो बनाउन र तथ्य निकाल्न योगदान गर्नु पर्थ्यो अनुसन्धानको लागि घटनाको सूक्ष्म रूपमा पर्दाफास गर्न विषय विशेषज्ञको माग गर्नुपर्थ्यो कसैले घटना अनुसन्धानमा बाधा ब्यबधान गरे त्यो बाधा गर्नेको बारेमा सार्वजनिक सुचना दिन सक्नु सान्दर्भिक र पछि पनि अनुसन्धान गर्न  सजिलो पर्थ्यो तर त्यसो नगरेर माधव नेपाल स्वयं शंकाको घेरामा छन भन्ने मेरो धारणा छ । जोखिम मोल्न नसक्नु या घटना नै सामसुम पार्ने नियत के हो त्यसको जबाफ आज पनि माधव नेपालबाट खोजिनुपर्छ । जिन्दगी नै तलमाथि या अर्को मदन भण्डारी बनाइदिने धम्की पो थियो कि माधव नेपाललाई ? अनुसन्धानको पाटो यो पनि हो ।

अझ गम्भीर र खोतल्ने विषय र पक्ष युवराज दीपेन्द्रको प्रेम प्रसङ्ग त्यसबाट विक्षिप्त हुनुको मनोबैज्ञानिक असर र प्रभाव नहोला भन्न सकिन्न । तर जुन कुरा पत्याउन जनमानस तयार छैन, हिजो थिएन पनि । तर कहिलेकाही अपत्यारिलो सत्य भैदिन्छ नचाहेर पनि पत्याउनुको विकल्प हुँदैन । सार्वजनिक छवि र जिन्दगीमा मान्छे आफुलाइ जे देखाउँछ त्यो नहुन पनि सक्छ । जे देखिदैन त्यो उ हुनसक्छ कतै दीपेन्द्रको सवालमा पनि यो खोज र अरु फराकिलो अनुसन्धान र प्रमाण खोज्ने मार्ग हो । दरवार बाहिर जे छवि थियो दीपेन्द्रको भित्र त्यस्तो थिएन होइन भन्ने दरबार र दीपेन्द्रलाई नजिकबाट चिन्नेहरुको भनाइ पाइन्छ ।

सार्वजनिक जिन्दगीमा बदनाम र अराजक भएको कारण सबै दोष पारसलार्इ लगाए सजिलै पत्याउन सक्छ्न जनता तर सवै दोषको भारी पारसको थाप्लोमा हालेर वास्तविक अपराधी उमक्नु भएन ।  बाहिर जे देखिए पनि देखिए भन्दा विल्कुल फरक स्वभाव र मनस्थितिमा थिए दीपेन्द्र । झन पशुपतिशमशेर पुत्री देवयानीसंग प्रेममा परेपछि ऊनी एकदम भिन्न र खराब मनस्थितिको शिकार बनेको कुरा सबैको नजरमा परेको छ । आफ्नी मुमाले देवयानी बिहे गर्ने कुरामा राखेको गम्भीर असहमति र देवयानी प्रती व्यक्त निम्न स्तरको टिप्पणी, अनि अधिराजकुमार निराजनलाई आफ्नो स्थान या राजकुमारको दर्जा दिने कुराले दीपेन्द्र विचलित र मनोबैज्ञानिक रूपमा कठोर र अराजक बन्दै गएको कुरा आफ्नी गर्भवती बैनी श्रुतीलाई एक पार्टीमा ज्वाइँ गोरख कै अघि लात नै लातले पिटेको घटना पनि बिर्सनु हुँदैन ।

मान्छेको मनोबैज्ञानिक असर कतिसम्म हृदयहिन हुन्छ भन्ने जान्न् समाजमा घटित विभिन्न घटना बाट सजिलै बुझ्न सकिन्छ । मानसिक असन्तुष्टि बढदै गएपछि पागल भएर  मान्छेले आफ्ना जन्म दिने बाबुआमा, दाजुभाइ, दिदीबहिनी, श्रीमती ,आफन्त प्राण प्रिय छोराछोरीको हत्या प्रेमिकालाई एसिड खन्याएर बद्ला लिने र आफू पनि आत्महत्या गर्ने बाटो रोज्छन् झन अभिजात्य बर्ग राजपरिवारको जेष्ठ सदस्य भावी राजाको अहममा पुगेको ठेस सामान्य हुँदैन । असामान्य बन्छ । प्रेम  दिमागले गरिन्न हृदयले र आत्माले गरिन्छ तसर्थ प्रेमलाई अन्धो भनिएको हो । अन्धो प्रेम घर परिवारबाट बायस राजा हुने अवसरबाट नै बन्चित बन्ने स्थिती पक्कै पनि राजकुमार दीपेन्द्रको लागि मनोविकार पैदा हुने कारण र असर हुन जुनकुराको हेक्का दरबारले राख्न सकेन र दुर्भाग्यपूर्ण अवस्थामा पुग्यो कि ? कुनै पनि हृदयबिदारक घटना र हत्याको कारण सतह र क्षणमा भएको कारण मात्रै बन्दैन ब्यक्तिमा आएको नैरास्यता बैरागीपन र कुलिशित मनोदशा पनि हुनसक्छ जसको लागि बेलैमा सावधानी अपनाउन नसक्नु तत्कालीन दरबारको लापरबाही पनि हो ।

तीन तहको झन्डै पाँच हजार सुरक्षाकर्मीको घेराभित्र यस्तो ठुलो घटना दस जनाको हत्यामा सैनिक सम्लग्नता र मतियार बने होला भनेर शंका गर्न मिल्ने कि नमिल्ने ? आखिर जे भए पनि सत्य तथ्य जुन अपत्यारिलो नै किन नहोस सत्री बाहिर आउनु पर्छ । हत्या दीपेन्द्रले गरेको भए पनि, ज्ञानेन्द्र–पारसको सहभागिता भए पनि या देशीविदेशी जो जसको संलग्नता भए पनि तत्कालिन शाही सेना ,भारत, अमेरिका, यूरोपियन युनियन ,नेपालका राजनीतिक दल जो जो आरोपित छन दोष लागेका नछुटुन । तर दोष लागेकहरु नचोखियुन आजको यो दुःखद स्मृतिमा हार्दिक श्रद्धाञ्जली समस्त राजपरिवारप्रति ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...