धर्म परिवर्तनकोे सोपान बन्दै धर्म निरपेक्षता !

news

-नारायण प्रसाद भण्डारी

धर्म अवलम्बन गर्न वा धारण गर्न लायक कर्म, पद्धति र मार्ग हो । यस अर्थबाट हेर्दा धर्म निरपेक्ष राष्ट्रको अवधारणा विरोधाभाष मात्र छैन पूर्ण रुपमा अनर्थक र नकारात्मक छ । धर्मबाट राज्य निरपेक्ष हुनुको अर्थ नैतिकता, आदर्श र कर्तव्यबाट च्यूत हुनु पनि हो । त्यसैले राज्य धर्मबाट निरपेक्ष बन्न सक्दैन । राज्य संयन्त्रको सही सञ्चालन र उचित व्यवस्थापनका नयाँ नयाँ चिन्तन र सिद्धान्तको जन्म भइरहेको छ । त्यसका पछाडि चालु अवस्थामा राज्य सञ्चालनमा देखिएका विकृति बेथिति र भष्ट्रीकरणको न्यूनीकरण र निवारण गर्नु नै हो । राज्यलाई इमान्दारीसाथ आफ्नो धर्म पालना गर्न लगाउनु हो । त्यसकारण धर्म निरपेक्ष भन्ने शब्दले हामीले सोँचेजस्तो सही र सकारात्मक अर्थ दिँदैन । तर पनि भन्न खोजिएको अर्थ वास्तविक अर्थ जस्तो नभएकाले यसमा पनि च्याँखे थापिरहनु नपर्ला ।  

परम्परा र विकास

ईशाको दोस्रो शताब्दीदेखि पश्चिमा देशहरुमा क्रिश्चियन धर्मको प्रवेश भयो ।  यसको प्रचार प्रसार विस्तारले पहिले आक्रामक रुपमा भइरहेका ज्ञान, विज्ञान, प्रविधि र अनुसन्धानका कार्यहरु विस्तारै हराउन थाले । प्रारम्भिक अवस्थामा उम्दा देखिएको पाश्चात्य सभ्यता धर्मको दबदबा र प्रभावले ओझेलमा प¥यो । धर्म र अनुशासनको मापदण्ड बनाएर क्याथोलिक चर्चहरुले आम जनतामाथि ठूलो शोषण गर्न थाले । धर्मको खोल ओडेका धर्मगुरुहरू यतिसम्म विकृत बने कि धन सम्पत्ति कुम्ल्याएर सिधै स्वर्गको टिकट काट्नेसम्मका हर्कत गर्न हिच्किचाएनन् । 

पोपको धर्मजालमा फसेका जनताहरू मात्र होइन सिंगो राज्य संयन्त्र नै चर्चको पकड र नियन्त्रणमा पर्‍यो । क्रिश्चियन धर्मले पुरानो सभ्यतालाई त चकनाचुर पार्‍यो भने कला, साहित्यजस्ता पक्षलाई पनि नियन्त्रणमा लियो । चर्चहरुले राज्यसंयन्त्रमा स्थापित गरेको प्रभूत्व र जनतामाथि गरेको चरम शोषणबाट युरोप नै चिरनिन्द्रामा परेको थियो । यस्तै ज्यादतीबाट उत्पन्न उकुसमुकुसबाट खपिनसक्नु भएपछि सुतेको सम्पूर्ण युरोप ब्यूँझियो । परिणामस्वरुप चर्चहरूको राज्यमाथिको अनावश्यक नियन्त्रण र हस्तक्षेपबाट मुक्त गराउन धर्म निरपेक्ष होइन ‘सेकुलर’को अवधारणा जन्मियो । यहीँ परिस्थितिले नित्शेजस्ता चरम भौतिकवादी दार्शनिक जन्मे । धर्मको त्यस्तो विद्रुप अवस्था देखेर दिक्दार बनेका महान दार्शनिक कार्ल मार्क्सले धर्मलाई अफिम भनिदिए । त्यसपछि राज्य संयन्त्रमाथि बेलगाम कब्जा जमाएर बसेका चर्चहरूलाई त्यसबाट मुक्त पारियो । यद्यपि तिनीहरूमाथि राज्यको संरक्षण र प्रतिरक्षा भने अद्यावधि छ । 

पश्चिमाहरूको दीर्घकालीन रणनीति

सेकुलरिज्मको अवधारणा कुन परिस्थिति र बाध्यताका कारण भित्रिएको थियो भन्ने कुरा माथिका प्रसंगबाट केही हदसम्म बुझ्न सकिन्छ । कुनै पनि मुलुकले आफ्नो तत्कालीन सन्दर्भ, दीर्घकालीन लाभ तथा परिस्थितिजन्य बाध्यताका कारण कुनै विचार वा मान्यता अवलम्बन गरेको हुन्छ । तर त्यहीँ धारणा फरक परिवेश, सन्दर्भ र आवश्यकता भएका मुलुकले अन्धानुवाद गर्छ भने त्यो प्रत्युत्पादक मात्र होइन झन् घातक बनेका उदाहरणको फेहरिस्त जति पनि लगाउन सकिन्छ । 

अहिले नेपाललगायतका कैयौं मुलुकमा क्रिश्चियन धर्मको अवैध व्यापार महामारीकै रुपमा फैलिरहेको छ । विगत २ सय वर्षदेखि युरोप र अमेरिकाले विज्ञान र प्रविधिको विकासमा विश्वकै नेतृत्व गरिरहेको छ । अहिले कुनै देशलाई भौगोलिक रुपमा आक्रमण गर्न सजिलो छैन । त्यसैले भौगोलिक आक्रमणबाट होइन सांस्कृतिक प्रहारबाट साम्राज्य फैलाउने रणनीतिका साथ उनीहरू अगाडि बढेका छन् । 

पूर्वीय सभ्यता संस्कृतिका गहनतम र उच्चतम विचारले उनीहरूलाई भत्भती पोल्न थालिसकेको छ । त्यसको प्रतिक्रिया वेद, गीता, श्रीमद्भागवतजस्ता पवित्र ग्रन्थप्रति अफबाह फैलाएर हातमा बाइबल थमाइदिने उपक्रम चलिरहेको छ । त्यसलाई बेलायतका लर्ड मेकालेको निष्कर्षले अझ प्रस्ट्याउँछ । उनले भारत बेलायतको औपनिवेशमा रहेका बेला सन् १८३५ देखि १८३८ सम्म भारतमा आई जासुसी गरेर कुनै देशमा दीर्घकालीन रूपमा हस्तक्षेप गर्न त्यहाँको भाषा, धर्म र संस्कृतिमाथि आक्रमण गर्नुपर्छ भन्ने रिपोर्ट बेलायती संंसदमा पेश गरेका थिए । सन् १९९० को दशकमा स्याम्युअल पी हटिङटनले अबको लडाइँ सभ्यताको हुनेछ भनेर उद्घोष गर्नुले अब विश्व बुलेटले होइन ब्यालेटले र ब्रेडले होइन ब्रेनले शासन गर्नुपर्छ, भूगोलको लडाइँ होइन सांस्कृतिक लडाइँ भन्ने मान्यतामा अगाडि बढेको स्पष्ट  छ । 

पुँजी, प्रविधि, आविष्कार, विज्ञान र भौतिक विकासमा अग्रगामी छलाङ् पार गरिरहेका पश्चिमा देशहरु संस्कृति र सभ्यतामा पनि आफूहरूको प्रभूत्व कायम रहोस् भन्ने चाहन्छन् । पूर्वीय सभ्यता, वाङ्मयअन्तर्गत हिन्दू धर्मभित्रको विराट आध्यात्मिक चेतना, उच्च दर्शन र र विज्ञानले उनीहरूलाई हीनताबोध भएको हुन सक्छ । त्यसैले नियोजित र योजनाबद्ध आक्रमणमा लागेका छन् । 

धर्मनिरपेक्षताको लाइसेन्ससहित नेपाली समाजको गरीबी र अशिक्षामा टेकेर सामाजिक सद्भाव, सांस्कृतिक सम्बन्ध र सभ्यतालाई सखाप पार्ने दाउमा उनीहरु लागेका छन् । धर्म त अन्तरहृदयबाट ठिक लाग्यो भने अवलम्बन गरिने चिज हो न कि पैसाको बिटासँग साट्ने विषय । इसाईहरूको अस्वाभाविक विज्ञापन र अनर्गल प्रचारबाट विश्वसमुदायको संस्कृति र सभ्यतालाई हडप्ने कुनियत बुझ्न थोरै गहिरिए पुग्छ, कुनै भाष्य पढिरहनु पर्दैन । धर्मान्तरण गराउँदै परिवार परिवारमा भिडन्त गराउने, दाजुभाइ तथा श्रीमान्–श्रीमतीबीच फाटो पार्ने, वर्षौंदेखिको सामाजिक सद्भाव बिथोल्ने र सांस्कृतिक स्खलनतर्फ मुलुकलाई धकेल्ने पश्चिमाहरूको कुटिल नीतिप्रति हामी नतमष्तक मात्रै बन्न सकेका छौं प्रतिकार गर्न सकेका छैनौँ । सामाजिक जागरण र सेवाको नाउँमा खडा भएका अधिकांश अन्तर्राष्ट्रिय गैरसरकारी  संस्थाको मूल ध्याउन्न त्यतैतर्फ केन्द्रित छ । जसको भित्री उद्देश्य थाहा नपाइकन नेपाली दाजुभाई तथा दिदीबहिनी त्यसैका संंवाहक बनिरहेका छन् । 

नेपालमा धर्म परिवर्तनको श्रृंखला 

चर्चको अकुत सम्पत्ति प्रयोग गरेर ईशाइहरूको धर्म परिवर्तनको रणनीति केही दशकयता मात्र होइन, यस्ता गिरोहहरू सयौँ वर्ष पहिलेदेखि नै सक्रिय थिए । पृथ्वीनारायण शाहभन्दा अगाडीको समयदेखि नै उनीहरुको समाज भाँड्ने धन्दा सुरु भइसकेको थियो । शाहले त्यसैको अभियोगमा ३६ जना धर्मप्रचारक इसाईलाई देशनिकाला गरेका थिए । यो उपक्रम लुकिछिपी छिटफुट रुपमा चलिरहेको थियो । केही सय संख्यामा रहेका इसाई धर्मालम्बीको संख्या वि.सं.२०६८ सम्म आइपुग्दा ४ लाख पुग्यो । आगामी जनगणनामा त्यसको दर अझ उकालो लाग्ने निश्चित छ । त्यसैगरी २०६८ सालमा ८ हजारको संख्यामा रहेका चर्चहरुको संख्या विगत ७–८ वर्षको अन्तरालमा १२ हजारमाथि लागिसक्यो भन्ने तथ्यांक छ । आपत्ति इसाइहरुको संख्या बढ्नुप्रति भन्दा पनि वृद्धिको दर डरलाग्दो हुनुमा हो । सबै धर्मावलम्बी समभाव र समसम्मानका साथ रहन पाउनुपर्छ, सबैले आफ्नो इच्छाअनुसारको धर्म अँगाल्न पाउनुपर्छ भन्नेमा कसैको विमति नहोला र हुनु पनि हुँदैन । त्यो अवस्थाको ग्यारेन्टी २०६३ सालअघि पनि थियो, त्यतिबेला पनि धार्मिक सहिष्णुता कायमै थियो । धर्मनिरपेक्षता लागू भएको १३ वर्षबीचमा जुन दरमा इसाईकरणमा वृद्धि भइरहेको छ । यो अत्यन्तै प्रायोजित र नियोजित ढंगले चालिएको कदम हो ।

चाडपर्व र संस्कृति पनि धर्मसँग सम्बन्धित भएकाले यो धर्ममाथिको प्रहार मात्र होइन संस्कृति र पहिचान सिध्याउने खेलोमेलो हो । धार्मिक स्वतन्त्रताको हकलाई कसैले द्रव्यको आडमा देशको सांस्कृतिक धार्मिक अस्मितामाथि नै ठाडो चुनौती दिन्छ भने त्यसलाई घोँक्रेठ्याक नलगाई हुन्न । अरु देशमा सेक्कुलारिज्मको अवधारणा तत्कालीन बेथितिलाई पन्छ्याउन आएको भए पनि नेपालमा भने औचित्यबिनै त्यसको बिजारोपण गरियो । हिन्दू धर्ममाथि मात्र होइन बौद्ध, इस्लाम, किराँतलगायतका धर्ममाथि ठूलो धावा बोल्ने काम भइरहेको छ । त्यसैले त ठिक विपरीत संस्कार र मान्यता बोकेका मुस्लिमहरुले पनि आफूहरु धर्म निरपेक्षताभन्दा हिन्दु राष्ट्र भए अझ सुरक्षित हुने बताइरहेका छन् । नेपाल हिन्दू तथा बौद्ध धर्मको उद्गमस्थल र बलियो पकड भएकाले पनि हामीमाथि उनीहरुको विशेष बक्रदृष्टि छ । झोलाभरी बाइबल बोकी पैसाको बलमा गाउँबस्ती छिरेर धर्मान्तरणको जुन घिनलाग्दो खेल भएको छ यसप्रति स्वर्गीय जिसस क्राइष्टको आत्माले पनि सराप्दो हो । आफ्ना अनुयायीहरू उल्टो अवतारमा देखा पर्दा उनलाई पनि धिक्कार लाग्दो हो । धर्मलाई बेच्ने जुन होडबाजी चलिरहेको छ यसले व्यक्तिलाई आध्यात्मिक मार्गमा होइन झन् अधपतन गराउने निश्चित छ । धर्मको उद्देश्य र अन्तर्य त कञ्चन, निर्मल र पवित्र हुुनुपर्छ । यहाँ त धर्मका नाममा षड्यन्त्र भइरहेको छ, षड्यन्त्र कदापि धर्म होइन । हुन सक्दैन ।

अन्त्यमा,  

वि.सं २०६३ सालको संविधान संसदबाट पारित गराउनुभन्दा पहिले सांसदहरुलाई समेत धर्म निरपेक्षको एजेन्डाका बारेमा जानकारी नभएको तर पछि कसैले घुसाएपछि लहडमा पारित गरेको कुरा खुलासा भएको छ । केही पात्रहरू जानी बुझी यसतर्फ संलग्न भए पनि यसलाई समर्थन गर्ने कैयौंलाई यसका भावी दुष्परिणामबारे आँकलन नभएको हुन सक्छ । त्यसमा लहड र उक्साहटले यसको पक्षमा उभिन प्रेरित गर्‍यो होला । त्यसभन्दा पहिले पनि देशमा बस्ने नागरिकलाई कुनै पनि आधारमा विभेद गर्नुहुन्न भन्ने मान्यतामा सबै दृढ थिए । तर पनि सनकको भरमा केही एजेन्डाहरु विदेशीको स्वार्थअनुकूल हठात् र बलात् रुपमा स्थापित गरियो त्यसले देशको सद्भाव र एकतालाई झन्झन् कमजोर पार्दै लगेको छ । 

पश्चिमाहरुको संस्कृति र सभ्यता आक्रमण गर्ने दाउको सुुइँको चीनले पाइसक्यो । त्यसकै परिणामस्वरुप वर्षौँ पहिले बनाएका चर्चहरुमा धमाधम डोजर चलाइरहेको छ । उनीहरुले गरेको भद्दा मजाकको जवाफ यसबाटै देखिएको छ । नेपाल देवभूमि, तपोभूमि, शान्तिभूमि, बुद्धभूमि र पवित्र आध्यात्मिक स्थल हो । वेदको उत्पत्ति भएको यस क्षेत्रमा ज्ञानको अथाह भण्डार छ । हाम्रा पूर्वीय र संस्कृतका विशाल ज्ञान, विज्ञान र दर्शनले उनीहरुलाई चकित बनाएको छ । अहिले युरोप र अमेरिकामा संस्कृत भाषा कहिल्यै नमासिने गरी फैलिसकेको छ । हाम्रो धर्म, सभ्यता र संस्कृतिमा रहेको ज्ञानप्रति उनीहरु आश्चर्यचकित भइरहेको एउटा सुखद् क्षणमा हामी भने आयातीत धर्म संस्कृतिको भुलभुलैयामा परेका छौँ । इस्लामहरुको पवित्र तीर्थस्थल साउदी अरबको मक्का मदीना र इसाइहरुको तीर्थस्थल इजरायलको जेरुसेलममा धार्मिक पर्यटनमार्फत् मुलुकको अर्थतन्त्रको करिब ३५ प्रतिशत हिस्सा योगदान पुगेको छ । नेपाललाई पनि हिन्दू धर्मको केन्द्रको रुपमा विकास गरी धार्मिक पर्यटनको अथाह सम्भावनालाई भरपुर उपयोग गर्ने र अध्यात्मको क्षेत्रबाट विश्वलाई नै दिशानिर्देश गर्न सक्छौं । हाम्रो धर्म वास्तविक मर्महरु र निहितार्थ छाडेर गरिएका गलत र विकृत अभ्यासको उन्मुलन गर्न पनि उत्तिकै चनाखो बन्नुपर्छ ।

विकास भनेको चिप्ला सडक बनाउनु र आलिशान महल ठड्याउनुमात्रै होइन देशका मौलिक पहिचान सभ्यताको संरक्षण पनि हो । राज्य भनेको जनसंख्या र भूगोल मात्र होइन त्यसको प्राण सामाजिक तथा सांस्कृतिक सम्बन्ध, सभ्यता, भाषा, धर्म, संस्कृति र मूल्यमान्यतामा टिकेको हुन्छ । धर्मनिरपेक्षको अभ्यास हाम्रो मुलुकका लागि अनुकूल नभएकाले सुविचारित ढंगबाट यसलाई पुनर्विचार गर्नैपर्छ । अन्य देशमा यसको प्रयोग ठीकै भए पनि हाम्रो जस्तो संवेदनशील परिवेश र सन्दर्भमा यसको प्रयोग गलत साबित भइरहेको छ । द्रब्यमोहमा परेर धर्मान्तरण गर्दा तत्कालीन लाभ त होला तर दीर्घकालीन शान्ति, पहिचान र परिचय भने गुम्ने छ । धन सम्पत्ति त जहिले पनि कमाउन सकिएला तर धर्म संस्कृति मेटियो भने कसरी किन्ने ? हाम्रो विश्वास र आस्थामाथिको यो प्रहारलाई प्रतिरोध गरौँ, धार्मिक सांस्कृतिक सद्भावसहितको हिन्दूराष्ट्र पुनस्र्थापित गरौँ । जय देश ।  

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...