कांग्रेसको एक महिने जागरण अभियान कस्तो रह्यो ? (भिडियो)

news

काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानको पहिलो चरण सकिएको छ । नागरिकलाई जागृत बनाउने र कार्यकर्तालाई संगठित बनाउने उद्देश्यसहित थालिएको अभियान गुटगत लबिइङमै सकिएको हो ।

वैशाख २५ गतेदेखि ७७ जिल्लामा भएको जागरण अभियान जेठ २५ गते सकिएको हो । कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर केही नयाँ शैलीसहित जागरण अभियान चलाएको थियो । जागरण अभियानमा पार्टीको आन्तरिक विवाद नउठाउने सहमति भए पनि सबैभन्दा बढी यही विषय उठ्यो ।

जागरण अभियानमा पार्टी नेतृत्वको आलोचनामात्र भएन, नेतृत्व पक्षकाले इतरकालाई गाली गलौज गर्न पनि छुटाएनन् । सबै जिल्लामा कार्यक्रम भए । तर नागरिकलाई आकर्षण गर्ने र संगठन निर्माणको नयाँ सोच प्रकट हुन सकेन । फगत कार्यक्रममा भेला हुने, नेताको भाषण सुन्ने र घर फर्कने काम भएको विश्लेषकहरु बताउँछन् ।

अझ यो अभियानलाई कांग्रेसका नेताहरुले नजिकिँदो महाधिवेशनसँग समेत जोडेर त्यही ढंगको प्रचार गरेपछि जागरणको मूल उद्देश्य पूर्ति हुन सकेन । कांग्रेसलाई लामो समयदेखि अध्ययन गर्दै आएका चिन्तक पुरुषोत्तम दाहाल जागरण अभियानमा शीर्ष नेताहरुले नै पार्टीको आगामी महाधिवेशन लक्षित ब्यवहार गर्दा उद्देश्यअनुसारको सफलता प्राप्त नभएको बताउँछन् ।

आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको कांग्रेस त्यसयता यो रुपमा जनतामाझ पुग्न सकेको थिएन । सशक्त प्रतिपक्षीको भूमिका समेत खेल्न नसकेको आरोप खेपिरहेका बेला कांग्रेसले जागरण अभियानको नाममै भए पनि जिल्ला सदरमुकाममा भेला भएर सरकारलाई खबरदारी गर्ने काम गरेको छ । जनतालाई केही भन्ने प्रयत्न गरेको छ ।

पार्टीभित्रै पनि एउटै मञ्चमा नबस्ने र नबोल्ने नेतालाई दुई तिर फर्किएर भए पनि एउटै मच्चमा बस्ने बनाइदिएको छ । पार्टी नेताहरुको नसुध्रिएको चरित्रबाट आजित कांग्रेस कार्यकर्ताले यसैलाई भए पनि केही न केही उपलब्धि मानेका छन् ।

जागरण अभियानका क्रममा आएका सुझावलाई नेतृत्वदेखि नै मनन् गर्न सके कांग्रेसका भावी अभियान प्रभावकारी बन्न सक्ने चिन्तक दाहालको भनाइ छ ।

आफ्नै पार्टीका नेताहरु एउटै मन्चमा बसेको विषयलाई उपलब्धि ठान्नुपर्ने कांग्रेस कार्यकर्तालाई पार्टी नेतृत्वले जागरण अभियानमा केही न केही नयाँ बिचार र उर्जा दिन्छ भन्ने थियो । तर त्यस्तो उर्जा मिलेको अनुभूति उनीहरुले पाएका छैनन् । आम नागरिक र कार्यकर्ताको भावनालाई आत्मसात गरेर कांग्रेसले बाँकी अभियान सञ्चालन नगरे उसलाई थप चुनौती सिर्जना नहोला भन्न सकिन्न ।

भिडियो रिपोर्ट हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...