जनजागरणको अभ्यास-प्रजातन्त्रप्रतिको प्रतिबद्धता साबित होला ?

news

-हरिविनोद अधिकारी

नेपाली काँग्रेसको पहिलो जनजागरणले के सन्देश दियो या के परिणाम निकाल्यो भनेर आम नेपाली वा नेपाली काँग्रेसका शुभचिन्तकहरुले पक्कै नै पर्खेर बसेका छन् । नेपाली काँग्रेसको जनजागरण अभियानको पहिलो चरण समाप्त जो भएको छ । २०७६ साल वैशाख २५ गतेबाट सुरु भएको जनजागरण अभियानको पहिलो चरण एक महिनाको थियो र जेठ २५ गते समापन भएको छ ।

सम्भवतः प्रजातन्त्र खतरामा छ भन्ने सन्देश दिनका लागि यो जनजागरण अभियान गरिएको थियो होला तर स्वयं नेपाली काँग्रेसमा नै एउटै धारणा, एउटै विचार नदेखिँदा र सरकारका अप्रजातान्त्रिक काम कार्बाहीको विवरण प्रस्तुत गर्न प्रमुख विपक्षी चुकेको देखियो भन्ने पर्यवेक्षकहरुको धारणा छ ।

नेपाली काँग्रेसले पनि पहिलो जनजागरणको समीक्षा पक्कै गर्छ होला तर पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिँह तथा सहायक महामन्त्री तथा पूर्व मन्त्री डाक्टर प्रकाशशरण महतका भनाइले मानिसहरुमा दोधार पारेको छ । सिँहले भने यो अभियान त्यति सफल हुन नसकेको प्रतिक्रिया दिनु भएको भनेर सञ्चार माध्यममा आएको छ भने महतले सफल भएको भनेर आफ्नो धारणा व्यक्त गर्नु भएको छ । लोककथामा भनिएको दृष्टिविहीनहरुको हात्ती छामेको कथा जस्तै नै थियो त जनजागरण अभियान ? या साँच्चै सर्वसत्तावादी कम्युनिस्टको चरित्र उदाङ्ग पार्न सक्षम भएको थियो । यसवारेमा बहस काँग्रेसी वृत्तमा आफ्ना आफ्नै तर्फबाट स्पष्टीकरण र व्याख्या आइरहला । 

के साँच्चै अहिलेको सरकार अप्रजातान्त्रिक हो ? या प्रजातन्त्रको आडमा अप्रजातान्त्रिक शासनलाई अघि बढाउन चाहेको हो ? के दुई तिहाईको मत सँसदमा पाए पछि गरेका कामहरुको कतै उत्तरदायित्व बहन गर्नुपर्छ कि  पर्दैन ? यसवारेमा खासै चर्चा भएको यसकारण पनि पाइएन कि सँसद चलिरहेको छ, सँसदमा पञ्चवर्षीय योजनासँगै त्यस योजनाअन्तर्गतको यो वर्षको आय व्ययको विवरण अर्थात् बजेट पनि प्रस्तुत भएको थियो । बजेटका वारेमा आएका धारणाहरु पनि नेपाली काँग्रेसभित्र एउटै देखिएन । उदाहरणका लागि साँसद विकास कोषका लागि भनेर छुट्ट्याएको रु. ६ करोडका वारेमा लिन सकिन्छ । वृद्ध भत्ताका वारेमा  लिन सकिन्छ । यदि नेपाली काँग्रेसले संघीय संरचनालाई महत्व दिएर साँसद विकास कोष नलिने वा नदिनका लागि निर्णय गरेको हो भने नेपाली काँग्रेसका साँसदहरुले के त्यो रकम वहिष्कार गर्नेछन् ? या लिनेछन् ? या यसवारेमा मौनता राख्नेछन् ? वृद्ध भत्ताको लागि उमेर ६५ वर्ष र रकम ५ हजार पुर्‍याउने हो भने किन यसवारेमा सँसदमा जरुरी सार्वजनिक सरोकारको प्रस्ताव नल्याएको ? यी सबै कुराहरु त जनजागरणकै बेलामा भन्ने कुराहरु  थिए । 

नेपाली इतिहासमा लेखिएको छ र देखिएको छ-नेपालको राजनीतिक, आर्थिक, साँस्कृतिक तथा सामाजिक रूपान्तरणमा नेपाली काँग्रेसले अहम भूमिका निर्बाह गरेको छ । जुनबेलादेखि नेपाली काँग्रेसको स्थापना भयो, त्यहीबेलादेखि आजसम्म पनि अनवरत नेपाली भूमिमा रूपान्तरणका लागि लडिरहेको छ र प्रजातन्त्र नै उसको प्राणवायु हो । र पनि किन स्थापित र पुनस्र्थापित प्रजातन्त्र वा लोकतन्त्रमा उसको भूमिका खुम्चँदै गएको छ ?यसमा जनजागरणले कति मद्दत गर्‍यो आफ्ना कमी कमजोरी पत्ता लगाउनका लागि ? यसवारेमा निर्मम समीक्षा काँग्रेसभित्रै आवश्यक छ । नेपाली जनताले दिएको समीक्षा र त्यसको परिणाम भनेको २०७४को स्थानीय र आम निर्वाचन नै हो । त्यसमा किन चुकियो या जनताले किन कम मत दिए भन्नेवारेमा खासै जनतालाई वा शुभचिन्तकहरुलाई चित्त बुझ्ने उत्तर नेपाली काँग्रेसका नेताहरुबाट आएन । कसको कारणले हार भयो ? जनताले भोट दिएनन् र कम्युनिस्टहरु मिलेर कम मत आयो भन्ने ठाडो जबाफले जनतालाई चित्त बुझेको छैन । 

कोही न कोही त होला न जबाफदेही ? कि कोही पनि छैन पार्टी हाँक्ने जबाफदेही लिने व्यक्ति वा समूह ? एकले अर्कालाई दोष दिनुभन्दा जनतामा किन काँग्रेसप्रति विमोह उत्पन्न भयो भनेर बुझ्नका लागि जनजागरण अभियान गरिएको हो भने सायद त्यसको वस्तुगत समीक्षाबाट आउने परिणाम चाँडै आउला , अन्यथा त्यहाँ पनि गुट उपगुटको आधारमा मूल्याङ्कन गरिने हो भने परिस्थिति झन भयावह हुनसक्छ भनेर अहिल्यै भन्दा पनि हुन्छ । नेपाली राजनीतिमा काँग्रेस जबजब कमजोर हुन्छ, प्रजातन्त्र स्वतः कमजोर हुन्छ भन्ने कुरा २००७सालको प्रजातन्त्र स्थापनादेखि आजसम्मका ऐतिहासिक क्षणहरुको समीक्षा गरे थाहा हुन्छ । 

नेपाली काँग्रेसले जे भन्दछ,त्यही गरेको छ । दोहोरो चरित्र राखेको देखिँदैन । अहिले राप्रपाले उचाल्दैमा वा कम्युनिस्टले फकाउँदैमा सिद्धान्तमा परिवर्तन गर्नुहुँदैन । तर एउटा ठोस सैद्धान्तिक आधारमा आफ्ना कदमहरु चाल्नु जो जरुरी छ । कहिले माओबादीसँग नजिक, कहिले एमालेसँग नजिक, कहिले राप्रपालाई सत्ताको तालाचाबी समाउन दिने अनि कहिले राजतन्त्र वा हिन्दू धर्मका पक्षमा देखिने गरेर सैद्धान्तिक आधार गुमाएकै हो । त्यसलाई अब सिद्धान्त र रणनीतिमा फरक गर्दै राजनीतिलाई जनताका पक्षमा कसरी लैजाने हो भन्ने सोच्नु आवश्यक छ ।

सिद्धान्त भनेको कुनै पनि राजनीतिक दलको प्राणवायु हो । प्रजातन्त्रको पक्षमा सैद्धान्तिक अडान विश्वव्यापी अडान र जनताका पक्षमा लिइने प्रगतिशील धार हो । अहिले त्यो धारका पक्षमा उभिएर नेपालका कम्युनिस्टहरु सत्तामा आएका छन् । तर उनीहरुका लागि समस्या के देखिएको भने त्यो धारमा कसरी अडिने हो सधँै ? किनभने उनीहरु सर्वसत्तावादका पक्षमा उभिने सैद्धान्तिक धारका पक्षपाती हुन् र अहिले पनि उत्तर कोरियाको राजनीतिक धारको पक्षमा, भेनेजुएलाका सर्वसत्तावादी राष्ट्रपतिका पक्षमा वक्तव्य दिने र चीनमा थ्यानमेन चोकमा भएको नरसंहारका पक्षमा उभिनेहरु नै हुन् । आफ्ना् संगठन विस्तारका लागि राजासँग, भारतसँग या जोसुकैसँग पनि मिल्ने भए पनि आफ्ना रणनीतिमा नचुकेका कारणले नै प्रजातन्त्रमा पनि आफूलाई जीवितमात्र होइन कि प्रजातन्त्रका पक्षपातीहरुलाई पनि पछि पारेर जनताको मन जित्न सफल भएका छन् । के जनजागरणमा यसवारेमा जनतालाई चित्त बुझाउन सकियो त ? या जनतालाई झन रनभुल्लमा पारेर आइयो ?

पर्यवेक्षहरु भन्छन्—आफ्नो कुनै तयारी विना गरिएको जनजागरण अभियानले पक्कै नै केही त पृष्ठपोषण पाएकै हुनुपर्छ । अनुशासन भनेको कुनै कुरामा पनि आफूलाई नबाँध्नेहरुले अरुलाई अनुशासनको पाठ पढाएका के हुन्छ ? आपूm एकताबद्ध नहुने अनि अरुलाई दोष दिएर नहुने कुरामा पनि सायद जनजागरणले केही कुरा सिकायो होला ।

हिजोका दिनमा नेपाली काँग्रेस स्थापना गर्दाको इतिहासले मात्र आजको प्रजातन्त्रका आवश्यकताहरु पूरा हुँदैनन् । हिजो पञ्चायतका विरुद्धमा लडेको इतिहासले मात्र आजका युवाको मन जित्न सकिँदैन । प्रजातान्त्रिक समाजवादको नारा घोषणापत्रमा लेख्दैमा नेपाली जनतामा समानता र सामाजिक न्यायको आवश्यकता पूरा गराउन सकिँदैन । सायद कार्यस्थल भनेको राजनीतिक क्षेत्र नै हो, पक्कै त्यहाँ नै कुनै कमी भयो होला भन्ने मान्नु जरुरी छ ।  नेपाली जनतामा काँग्रेसप्रतिको सैद्धान्तिक मोहमा कमी आएको छैन तर कम्युनिस्टलाई पनि काँग्रेसले प्रजातन्त्रवादी बनाइसकेको भ्रममा  प्रजातान्त्रिक निर्वाचनमा बहुमत ल्याउन उनीहरुलाई सम्भव भएको हो भनेर मान्दा सायद गल्ती हुँदैन । तर प्रजातन्त्रका सिद्धान्तले जितेर आउने अनि प्रजातन्त्रमाथि नै प्रहार गर्ने कुराको भने काँग्रेसले यसपटक खुलेर जनतालाई ध्यानाकर्षण गराउन सकेन जस्तो छ किनभने जनतालाई यसभन्दा राम्रो शासन दिने वाचा दिन किन डरायो काँग्रेस भनेर पर्यवेक्षकहरु अचम्भ मानेका छन् ।

अब दोस्रो जनजागरण बेला पनि आउन लाग्यो , बीपी जयन्तीको वरिपरि पारेर दोस्रो जनजागरण हुनेछ । त्यो बेलामा अहिले दिन नसकिएका उत्तरहरुको पनि उत्तर दिनु पर्नेछ कामले । त्यसैले पनि पहिलो जनजागरणको निर्मम समीक्षा जरुरी छ । कुनै अङ्ग काम लागेन भने पक्कै शल्यक्रियाद्वारा फाल्नै पर्छ र मात्र ज्यान जोगिन्छ । संगठनमा आवश्यक सुधार गर्नका लागि यो पटकको जनजागरणले मद्दत नै गर्नेछ । 

नेपाली काँग्रेसमा गर्नुपर्ने सुधारका वारेमा विना मोलाहिजा निर्मम आत्मालोचना आवश्यक छ नत्र नेपालको प्रजातन्त्रले फेरि नयाँ नयाँ दबाब बेहोर्नु पर्नेछ । त्यो दबाब भनेको एकदलीय सर्वसत्तावादको हो । निर्दलीय सर्वसत्तावादको हो । अनुशासनहीन सर्वसत्तावादको हो  र अचिन्त्य अधिनायकवादको नयाँ सँस्करणको स्थापनाको हो । कस्तो अधिनायकवाद  आउने छ भनेर अहिल्यै भन्न नसके पनि मुलुक त्यही बाटोमा डोरिन थालेको गन्ध आउन थालेको छ ।

प्रजातन्त्रका नाममा सत्ता पाएपछि प्रजातन्त्रलाई नै समाप्त गर्ने नयाँ अधिनायकवादको जन्म कुनै पनि बेला हुनसक्छ भन्ने कुरा हिटलरले देखाएकै हुन् र हाम्रै छिमेकमा पनि इन्दिरा गान्धीले देखाएकै थिइन् । जर्मनीमा ठूलो मूल्य चुकाएर प्रजातन्त्र पुनस्र्थापना भयो अनि भारतमा पनि ठूलै आन्दोलनले गान्धीलाई ठिक ठाउँमा ल्याएको थियो । तर हामीले प्रजातन्त्र ल्याउन सक्यौँ तर जोगाउन साह्रै मुस्किल परेको अवस्था छ । प्रजातन्त्र कसैको कृपाले नल्याएको भए पनि प्रजातन्त्रका विरुद्धमा लागेर आफ्ना राजनीतिक दीक्षा सुरु गरेकाहरुका हातमा सत्ता छ ।

सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्ने र सत्ता जनमतबाट पनि आउन सक्छ भन्ने दुवैको हातमा सत्ता छ । सत्ता त्यस्तो चिज रहेछ, जत्ति पनि भोक लागिरहने , कहिल्यै पनि सत्ताको तिर्खा नमेटिने । प्रजातन्त्रमा मात्र भोक लागे पनि , तिर्खा लागे पनि जनादेश भएन भने सत्ता खुरुक्क छोडेर बाहिरिनु पर्ने सँस्कृति हुन्छ । यसवारेमा काँगे्रस कति चनाखो रह्यो जनजागरण अभियानका वेलामा जनतालाई सम्झाउन भनेर सोच्ने बेला आएको छ किनभने यो सरकारले नेपाली काँग्रेसलाई दबाब दिनसक्ने समूहको रुपमा स्वीकार गरेको देखिँदैन । यसका धेरै प्रमाणहरु नेपाली काँग्रेससँगै छन् । 

जनजागरणले फेरि पनि प्रजातन्त्रकै पक्षमा जागरण ल्याओस् । सर्वप्रथम आफैँमा प्रजातान्त्रिक व्यवहारको अभ्यास गर्ने चाँजो पारोस् । नेपालमा प्रजातन्त्र कहिल्यै पनि समाप्त नहुने प्रत्याभूति दिन सकोस् । प्रजातन्त्र बाँदरको हातको नरिबल नहोस् भन्ने चिन्ता सर्वव्यापी छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...