धरानमा डेंगु नियन्त्रणमा आएन, ५०० बढी डेंगुका बिरामी भेटिए

news

सुनसरी, जेठ २८ । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगुरोग अझै नियन्त्रणमा आउन सकेको छैन । दैनिक डेंगुका बिरामीको संख्या बढ्दै गएको छ ।

मंगलबारसम्म ५०७ जना डेंगुका बिरामी भेटिएका छन् । यो जेठ महिनाको सुरुदेखि नै डेंगु फैलिएको हो ।

रोग नियन्त्रणका लागि धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहल थालेपनि डेंगुका बिरामी थपिँदै गएका हुन् ।

बिरामीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पताल धरानमा उपचार भइरहेको छ ।

बीपी प्रतिष्ठानमा हालसम्म भर्ना भएका बिरामीमध्ये ४४६ जनालाई डेंगु देखापरेको सहायक निर्देशक डा. विकास साहले जानकारी दिए ।

उनकाअनुसार कतिपय बिरामीहरु निको भएर अस्पतालबाट ‘डिस्चार्ज’ पनि भएका छन् भने दैनिक डेंगुरोगका नयाँ बिरामीहरु उपचारका लागि अस्पताल आउनेक्रमसमेत जारी छ ।

विजयपुर अस्पतालमा ६१ जना डेंगुरोगी बिरामीको उपचार भइरहेको जनाइएको छ ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुरोग नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले ८ र १५ नम्बर वडालाई डेंगु संकटग्रस्त वडा घोषणा गरेको छ ।

डेंगु नियन्त्रणका लागि स्वास्थ्य प्राविधिक परिचालन गरी लामखुट्टे मार्ने काम भइरहेको धरान उपमहानगरकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् ।

चिकित्सककाअनुसार पोथी लामखुट्टेले टोकेपछी सुरुमा ज्वरो आउने, शरीरमा दादुराजस्ता फोका आउने, ‘लिभर’ फुल्ने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्नेजस्ता डेंगुरोगका लक्षण हुन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...