‘होली वाइन’ छर्केर नेपालको संस्कृति मास्न खोजिएको कांग्रेसको आरोप

news

काठमाडौं, जेठ २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लोकसेवा आयोगले निकालेको स्थानीय तहको कर्मचारी भर्नाको विज्ञापनका विषयमा स्पस्ट पार्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सांसदहरुले राज्य व्यवस्था तथा सुशासन समिति भर्ना प्रक्रिया रद्द गर्न निर्देशन दिने र सरकार यसमा मौन बस्ने काम उपयुक्त नभएको बताए ।

विज्ञापनको फारम भरेकाहरु आन्दोलनमा उत्रिएको भन्दै तत्काल यसबारे स्पस्ट पार्न सरकारसँग उनीहरुले माग गरेका छन् ।

प्रदेश लोकसेवा आयोग गठनमा ध्यान दिन सरकारलाई सुझाव दिँदै कांग्रेस सांसदहरुले विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन सुझाव दिए ।

यस्तै, गुठी विधेयकले धर्म, संस्कृतिमाथि प्रहार गरेको भन्दै तत्काल फिर्ता लिन पनि सरकारलाई चेतावनी दिएका छन् ।

कांग्रेस सांसद प्रकाशमान सिंहले गुठी विधेयकले धर्म, संस्कृतिमाथि प्रहार गरेको भन्दै ‘होली वाइन’ छर्कने अनि आफ्ना मठ–मन्दिर ध्वस्त पार्नेगरी विधेयक ल्याउने सरकारको के नियत हो ? भनी प्रश्न गरे ।

सांसदहरुले शिक्षण अस्पतालको इमरजेन्सीबाट बिरामीहरुलाई निजी अस्पतालमा पठाउने काम भइरहेको भन्दै आपत्तिसमेत जनाए । उनीहरुले तत्काल त्यस्ता काम बन्द गर्न पनि माग गरे ।

सांसदहरुले कैलाली र कन्चनपुरमा हावाहुरीले पुर्‍याएको क्षतिको राहत दिन तथा घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरे ।

बैठकमा बुधबार पनि विनियोजन विधेयकमाथिको छलफल जारी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...