हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट

news

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाो हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् ।

डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हिजोसाँझ हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

उनले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताए ।

यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि आज चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ ।

आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...