लक्ष्मणलाल कर्णको प्रश्न– यो संसदको के अर्थ ?

news

काठमाडौं, जेठ ३० । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले सांसदहरुले अब संसदमा आवाज उठाइरहनुको अर्थ नरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा उनले संसदमा सांसदले उठाएका आवाज सरकारले नसुन्ने, संसदीय समितिले दिएको निर्देशन लोकसेवा आयोगले नमान्ने हो भने यो संसदमा अब किन आवाज उठाउने भन्ने प्रश्न गरे ।

‘हामी संसदीय व्यवस्थामा छौं, संसदीय व्यवस्थामा संसद जनताको सबैभन्दा नजिकको थलो हो,’ उनले भने, ‘जनताको आवाज यहाँ उठ्छ, जनताको प्रतिनिधिमार्फत आवाज यहाँ उठ्छ ।’

संसदीय समितिको निर्देशन लोकसेवा आयोगले मान्दिन भनेर टिप्पणी गर्दै आएको जिकिर गर्दै उनले भने, ‘यो संसदको उपहास हो कि होइन ?’

संसदले, संसदीय समितिले दिएको निर्देशन सरकारले मान्दिन भनिरहेको, सम्बन्धित मन्त्रीले पनि मान्दिन भनिरहेको अवस्थामा लोकसेवा आयोगले पनि मान्दिन भनेको उल्लेख गर्दै सांसद कर्णले भने, ‘संसदको निर्देशन सरकारले नमान्ने, संसदीय समितिको निर्देशन लोकसेवा आयोगले नमान्ने, योभन्दा ठूलो उपहास संसदको हुँदैन ।’

उनले भने, ‘यस किसिमले गरिमाको अवहेलना भयो भने यो संसदमा बसेर के गर्ने हामी ? किन कराउने ? हाम्रो आवाज सुनिदैंन, हाम्रो निर्णय सुनिदैंन भने यो संसदको के अर्थ ?’   

संविधानको मौलिक अधिकारमै समानुपातिक, समावेशी अधिकार सुनिश्चित गरिएको जिकिर गर्दै उनले त्यो अधिकार पालनामा सरकार इमानदार नदेखिएको गुनासो गरे । ‘त्यही कुरा लोकसेवा आयोगले नमान्दा आज समग्र देशमा आवाज उठिरहेको छ, संविधानको पालनाको आवाज उठिरहेको छ,’ उनले भने, ‘मौलिक अधिकारमा शान्तिपूर्ण प्रदर्शन गर्ने र आफ्नो अभिव्यक्ति दिने अधिकार सबैलाई प्राप्त छ, जुलुस निकाल्दा लठ्ठी प्रहार हुन्छ, यो संविधानको मौलिक अधिकार मार्बलको अंगुर होइन, यो देखाउनका लागिमात्र बन्या होइन ।’

उनले सरकारलाई प्रश्न गरे, ‘यो संविधानलाई के बनाउन खोज्या हो ? या त, राज्यले भनिदिनु पर्‍यो, यो खाली देखाउनका लागिमात्र लेख्या हो भनेर ।’ 

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...