ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न फ्रान्सेली व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

news

काठमाडौं, जेठ ३० । यूरोप भ्रमणका क्रममा फ्रान्स पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, संभावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनौट आदि कारण नेपालमा लगानीमैत्री वातावरण बनेको उनले बताए ।

प्रधानमन्त्री ओलीले फ्रान्सेली उद्यमीलाई नेपालमा ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

फ्रान्सेली उद्यमीको छाता संगठन ‘मुभमेन्ट अफ दि इन्टरप्राइजेज अफ फ्रान्स’द्वारा बुधबार साँझ पेरिसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थायित्वसँगै लगानीमैत्री वातावरण बनेको उल्लेख गरे ।

साताव्यापी युरोप भ्रमणमा निस्किएका ओली स्वीट्जरल्यान्ड र बेलायतको भ्रमणपछि बुधबार पेरिस पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फ्रान्सले नेपालका विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्न चाहेको उल्लेख गरेका छन् । यो वर्ष नेपाल र फ्रान्सबीच दौत्यसम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ मनाइँदै छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...