गुठीसम्बन्धी विधेयकबारे सत्तापक्ष र प्रतिपक्ष सांसदबीच जुहारी (भिडियो)

news

सरोज अधिकारी र नवीन स्थापित (इमेज)

काठमाडौं, जेठ ३० । राष्ट्रियसभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकबारे प्रतिनिधिसभामा सत्तारुढ र प्रतिपक्षबीच आरोप–प्रत्यारोपको शृंखला बढेको छ ।

त्यतिमात्र होइन, केही समययता सेलाएको संविधान संशोधनको विषयसमेत संसदभित्र चर्को ढंगबाट उठ्न थालेको छ ।

विगत तीनदेखि प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमामात्र नभइ समय लिएर बोल्दा पनि गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनको विषयले चर्चा पाएको छ ।

गुठी विधेयकविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हरेक दिनजसो सुरुमै समय लिएर बोल्दै विधेयक फिर्ता लिन माग गरिरहेको छ । तर, सत्तारुढ दल नेकपा भने विधेयकको प्रतिरक्षामा उभिएको छ ।

यद्यपि, विधेयकबारे तालुक भूमिसुधार मन्त्रालयले भने नजानेर केही गल्ती भएको भन्दै सच्याउने बताइरहेको छ ।

बिहीबारको बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले काठमाडौंको नेवार उठ्दा व्यवस्था परिवर्तन भएको स्मरण गर्दै गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता नलिए ओली सरकारको त्यही हालत हुने चेतावनी दिए ।

उनले गुठी विधेयकविरुद्ध देशभर आन्दोलन छेड्ने चेतावनीसमेत दिए ।

बैठकमा नेकपा सांसद कृष्णभक्त पोखरेलले भने गुठी विधेयक किसान, मजदुर र धर्म रक्षाका लागि आएको भन्दै ‘राष्ट्रियसभामा दर्ता भएको विधेयकबारे प्रतिनिधिसभामा बहस गर्नुको अर्थ छैन’ भन्दै आफैं बहसमा उत्रिए ।

संसदमा सरकार र लोकसेवा आयोगले राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन नमानेको भन्दै चर्को आलोचनासमेत भएको छ ।

संसदको निर्णय सरकार र संवैधानिक आयोगले नमान्ने भए संसदमा बोल्नुको के अर्थ ? भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । लोकसेवाको विज्ञापनलाई तत्काल रोक्नुपर्ने उनीहरुको माग छ ।

सत्तारुढ दलका सांसदले नै भूकम्पप्रभावितलाई अनुदान दिने भनिएको रकम अझै पीडितले नपाएको भन्दै सरकार किन जनतामैत्री काम गर्न सक्दैन ? भन्दै प्रश्न गरे ।

तत्काल घर निर्माण गरिसकेका भूकम्पपीडितलाई रकम उपलब्ध गराउन नेकपा सांसद यज्ञ सुनुवारले माग गरे ।

संसदमा केही समययता अलि सेलाएकोजस्तो देखिएको संविधान संशोधनको विषयमा बिहीबार चर्को आवाज उठेको छ ।

बैठकमा समय मागेर बोल्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधनको माग पूरा नभए संसद छोड्ने चेतावनी दिए ।

बिहीबारको संसद बैठकमा खानेपानी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन विधेयकमाथि पनि छलफल भएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...