नेपालको समृद्धिमा भारतको साथ : मुख्यमन्त्री योगी

news

युवराज गौतम

लखनउ (भारत), असार ५ । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधै साथ रहने बताएका छन् । 

नेपाल फाउन्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ नेपाली पत्रकारहरुसँगको भेटमा उनले नेपालको समृद्धि भए भारतसमेत सन्तुष्ट हुने बताए ।

उनले नेपालीका लागि भारत आवत–जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ आफुले भारतको केन्द्र सरकारसँग आग्रह गरेकोसमेत बताए ।

फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाल र भारतको धार्मिक र सांस्कृतिक पर्यटनमा साझेदारीको आवश्यकता रहेको औंल्याए ।

जवाफमा उनले भारतीय पर्यटकलाई नेपाल लैजानेतर्फ आफू लागिपर्ने जनाए ।

उनले केही व्यक्तिहरुले नेपाल–भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै त्यसतर्फ भने दुबै पक्ष सजग हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘लागू औषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप गर्ने हरु सीमा क्षेत्रमा सकृय छ्न्, त्यतातर्फ दुबै मुलुकले निगरानी गर्नु पर्छ ।’

नेपालीको स्वाभिमान बिश्वमा नै उच्च रहेको, नेपाल एक स्वाधिन र सम्प्रभुसत्ता सम्पन्न मुलुक भएको भन्दै उनले प्रशंसा समेत गरे । यस्तै नेपालीको धर्म, संस्कृतिसमेत वैश्विक पहिचान भएको उनले बताए ।

उनले नेपालको पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न भारतको दक्षिणतर्फका नागरिकसमेत हप्ता दिन लगाएर भए पनि नेपाल जाने गरेको आफुलाई जानकारिमा आएको बताउँदै धार्मिक पर्यटनमा बिश्वलाई नेपालले तान्न सक्नु पर्नेमा जोड दिए ।

मुख्यमन्त्री योगीले छिटै भारतको गोरखपुरबाट नेपालका लागि बस सेवा संचालनको तयारी भएको समेत जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...