‘सामन्तवादी सोच भएकाले गुठी विधेयक फिर्ता गर्न लगाएर पीडितको भावनामा ठेस पुर्‍याए’

news

काठमाडौं, असार ५ । राजपा नेपालका सांसद राजकिशोर यादवले संसद आफ्नो काम–कर्तव्यबाट चुक्दै गएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले जनताका प्रतिनिधिले दिनदिनै जनसवाल उठाइरहेपनि सुनुवाइ नभएको भन्दै संसद आफ्नो काम–कर्तव्यप्रति चुक्दै गएको टिप्पणी गरे ।

उनले समयमै सचेत नभए मुलुकको राजनीति गम्भीर दुर्घटनामा पर्ने चेतावनीसमेत दिए ।

सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरी सत्गौवाले सामन्तवादी सोच भएका र प्रतिपक्ष दल नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता गर्न लगाएर भूमिहीन तथा गुठीपीडित गरिब किसानको भावनामा ठेस पुर्‍याएको आरोप लगाइन् ।

उनले सामन्तवादी सोच भएकाहरुले अझैपनि धर्म, संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेको आरोप लगाइन् ।

कांग्रेस सांसद सञ्जयकुमार गौतमले धर्म, संस्कृति र परम्परा जोगाउन सडकमा उत्रेका जनतालाई प्रधानमन्त्रीबाटै अनेक लान्छना लगाउने काम भएको भन्दै आपत्ति जनाए ।

शून्य समय

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रेणुका गुरुङले मन्त्री र सत्तारुढ दलका केही सांसदको निर्वाचन क्षेत्रमामात्रै बजेट दिएको तथा स्थानीय विकास पूर्वाधारका लागि छुट्याइएको ६ करोड रकममा सांसदहरुमाथि भेदभाव गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरिन् ।

सांसद भरतकुमार शाहले गुठी विधेयकजस्तै अरु विवादित विधेयक पनि फिर्ता लिन सरकारसँग माग गरे ।

यस्तै, सांसद विमला नेपालीले गृहमन्त्रीले शान्ति–सुरक्षाको न्यूनतम् जिम्मेवारीसमेत बहन गर्न नसकेको भन्दै ध्यानाकर्षण गराइन् ।

सांसद मोहन बानियाँले कर्णाली राजमार्ग सरकारी मापदन्डअनुरुप नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद मैनाकुमारी भण्डारीले गुल्मीमा बाँदर आतंकका कारण १५ घरपरिवार बसाइँसराइ गर्न बाध्य भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद लक्ष्मणलाल कर्णले वीरगन्ज चिनी कारखाना सन्चालनमा ल्याउन सरकारसँग माग गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...