चन्दका तीन कार्यकर्ता हतियारसहित समातिए

news

विराटनगर, असार ९ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१२ का ४० वर्षीय अशोक राई, कानेपोखरी गाउँपालिका–५ का ३४ वर्षीय सुदीप भनिने कंश धिमाल र उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय केन्द्रलाल धिमाललाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मोरङ प्रहरीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिकसमेत गरेको हो ।

हातहतियार देखाएर विभिन्न व्यक्ति र संघ–संस्थाहरुबाट चन्दा असुल्ने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

राई र धिमालको घरमा छापा मार्दा ‘अटोमेटिक’ पेस्तोल दुईथान, सोही पेस्तोलमा लाग्ने ‘म्याग्जिन’ चारथान र गोली १४ राउन्ड बरामद भएको पनि प्रहरीले जनाएको छ ।

उनीहरुकै बयानका आधारमा सोमबार बिहान उर्लाबारी नगरपालिका–२, सालबारीका केन्द्रलाल धिमालको घरबाट तीनथान भरुवा बन्दुक, बारुद्ध, छर्रा, नटबोल्टलगायतका सामग्री बरामद गरेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत् हातहतियार तथा खरखजनाअन्तर्गत् मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...