विश्वकप क्रिकेटः बंगलादेशद्वारा अफगानिस्तान पराजित

news

काठमाडौं । अफगानिस्तानलाई हराउँदै बंगलादेशले इङ्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ । 

साउथह्याम्पटनमा गएराति भएको खेलमा अफगानिस्तान ६२ रनले पराजित भयो । जारी प्रतियोगितामा बंगलादेशको यो तेस्रो जित हो ।

रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा अलआउट हुँदै २ सय रनमा समेटियो ।

अफगानिस्तानलाई सस्तैमा रोक्न बंगलादेशका शकिब अल हसनले ५ विकेट लिए । शकिबले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिएका हुन् ।

योसँगै शकिब एकदिवसीय विश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी खेलाडी बनेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । उसका लागि मुस्फिकर रहिमले ८३ रन जोड्दा शकिबले ५१ रन बनाए ।

जितसँगै बंगलादेशले शीर्ष चारमा पुग्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

तेस्रो जितसँगै पाँचौ स्थानमा उक्लिएको बंगलादेशले ७ खेलबाट ७ अंक जोडेको छ । अफ्गानिस्तान भने सबै ७ खेलमा पराजित भएको छ ।

विश्वकप क्रिकेटमा आज इङ्ल्याण्ड र अस्ट्रेलिया भिड्नेछन् ।

६ खेलबाट १० अंक जोडेको अस्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा रहँदा ८ अंक जोडेको आयोजक इङ्ल्यान्ड चौथो स्थानमा छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...