मुहान सुक्न थालेपछि सुर्खेतमा खानेपानीको चरम अभाव

news

सुर्खेत । बढ्दो गर्मीले पानीका मुहान सुक्न थालेपछि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ । उपभोक्ताले ४ दिनमा एक पटक पानी पाउन थालेपछि दैनिक जीवनयापन अस्तव्यस्त बनेको छ  ।

बढ्दो गर्मीसँगै पानीका मुहान सुक्न थालेपछि वीरेन्द्रनगरमा खानेपानीको अभाव हुन थालेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थालाई मागअनुसारको खानेपानी आपुर्ति गर्न यतिबेला हम्मेहम्मे परेको छ ।

मुहानबाट ५० प्रतिशत पानी घटेपछि पानीको आपुर्ति घटेको हो । स्रोतबाट उपलब्ध पानीलाई व्यवस्थित गर्दै समानुपातिक खानेपानी वितरण गर्नका लागि संस्थाले ‘फ्लोसेडिङ्ग लागु गर्दा विद्यार्थी र गृहिणीलाई समस्या भएको स्थानीय प्रभा खड्काको गुनासो छ ।

बढ्दो जनसंख्याको चापसँगै वीरेन्द्रनगरमा दिन प्रतिदिन खानेपानीको माग बढ्दै छ । तर पानीको वैकल्पिक व्यवस्था नहुँदा खानेपानीको चरम अभाव झेल्नुपरेको स्थानीय रवीन्द्र सिँजापति बताउँछन् ।

उसै त पर्याप्त पानीको सुविधा नभएको वीरेन्द्रनगरमा गर्मीयाममा त पानीको हाहाकार नै हुने गरेको छ ।

नगरका सबै स्कीमहरूमा ९६ घण्टामा एक पटक मात्रै पानी वितरण गरिने सुर्खेत उपत्यकाका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाको भनाइ छ ।

प्रतिदिन ७२ लाख ५७ हजार ६ सय लिटर पानि आपुर्ति हुँदै आएको यहाँ दैनिक १ करोड ५४ लाख लिटर खानेपानीको माग छ ।

हिउँदको समयमा औसत दैनिक १ करोड ३५ लाख लिटर र सुख्खा खडेरीमा न्यूनतम औषत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुदै आएको छ ।

सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग रहेकाले वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने देखिन्छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...