गुठी विधेयकमा गलेको सरकारः औपचारिकरुपमै लियो विधेयक फिर्ता

news

काठमाडौं, असार १० । सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी विधेयक मंगलबार औपचारिकरुपमा फिर्ता लिएको छ ।

राष्ट्रियसभामा दर्ता भएको विधेयक फिर्ता लिइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार नै संसदमा दर्ता गराइसकेको थियो ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता गर्ने प्रस्ताव पेस गरेकी हुन् ।

मन्त्री अर्यालको विधेयक फिर्तासम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

विधेयकले शदीयौंदेखि चल्दै आएको गुठी परम्परालाई मास्न खोजेपछि जनस्तरबाट ठूलो प्रतिरोध आन्दोलन नै गर्नुपरेको थियो ।

नागरिकको विरोध प्रदर्शनमा उत्तेजित भई सरकारले हस्तक्षेप गर्न थालेपछि आन्दोलनको स्वरुप अझ चर्किदै गएको थियो । त्यसपछि सरकारले बाध्य भएर विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।

सरकारले गुठी विधेयक प्रतिनिधि सभामा नभई राष्ट्रिय सभामा बैशाख १७ गते दर्ता गरेको थियो । सरोकारवालासँग कुनै छलफल नै नगरी ल्याइएको विधेयक एकैपटक संसदमा टेबल भई बैशाख १९ गते विधेयकको प्रति सांसदहरूलाई दिइएपछि यसमा राखिएका प्रावधानबारे जानकारी भएको थियो ।

सरकारले जेठ ६ गते राष्ट्रिय सभामा विधेयक पेश गरेपछि क्रमशः यससँग सरोकार राख्ने संस्थाहरुले आपत्ति जनाएका थिए । विधेयकमाथि राष्ट्रिय सभा बैठकमा सामान्य छलफल हुन थालेपछि विारेधको स्वरुप बढ्दै गयो ।

विधेयकको विरोध गर्न जेठ २८ गते माइतीघर मण्डलमा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र लाठी प्रहार गरेपछि विरोधको आकार बढ्दै गएको थियो ।

काठमाडौंबाट शुरु भएको विरोध प्रदर्शन ललितपुर, भक्तपुर हुँदै राजधानी बाहिर पनि विस्तार भयो । त्यसपछि असार २ मा प्रधानमन्त्री केपी ओलीले उपत्यकाबाट निर्वाचित नेकपासम्बद्ध सांसद र जनप्रतिनिधिहरुसँग छलफल गरे ।

प्रदर्शन चर्कंदै गएपछि मन्त्री अर्यालले असार ३ गते विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...