आमाको लडेर मृत्यु, बाबुले आत्महत्या गरेपछि असहाय बनेका प्रशान्तको पीडा (भिडियो)

news

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)

काठमाडौं, असार १० । नियतिले कसैलाई जन्मैदेखि ठग्छ त कसैलाई बालककालमै ।

नेपाल बाल संगठनको शरणमा आइपुग्ने बालबालिकाहरुका नियतिले ठगेका आ–आफ्नै कथा छन् ।

कोही जन्मिनेवित्तिकै सडकमा फालिएकाहरु छन् त कोही अस्पतालको शय्यामा छाडिएका । तर, रोल्पाका ७ वर्षे प्रशान्त घर्तीमगरको व्यथा भने बेग्लै छ ।

रोल्पाको साविक उवा गाविसका प्रशान्तकी आमा संगीता घर्तीको भीरबाट लडेर मृत्यु भएपछि बुवा कर्माधन घर्तीले पनि आत्महत्या गरे ।

७ वर्षको उमेरमै एकपछि अर्कोगरी बाबु–आमा गुमाएपछि प्रशान्त एकाएक असहाय, अनाथ बन्न पुगे । घरजग्गा र आफन्तहरु भएपनि उनलाई सहारा दिन कोही तयार भएनन् ।

यिनकै ठूलोबुवाले गत वैशाखमा काठमाडौंमा राम्रो पढाइ हुने भन्दै बाल मन्दिरमा ल्याएर छाडिदिए । ठूलोबुवाले बाल मन्दिरको जिम्मा लगाएर छाडिदिएपनि यिनको मन भने यहाँ पटक्कै अडिएको छैन ।

गाउँघर र आमाको याद आइरहने भन्दै यिनले आफ्नो मनको वह पोखेका छन् ।

प्रशान्तलाई राजधानी सहरको बाल मन्दिरभन्दा रोल्पामै ठूलोबुवासँग बस्ने मन छ ।

प्रशान्तको एकोहोरो इच्छालेमात्रै के गर्नु ? लैजानेले इच्छा नदेखाएपछि ।

बाल मन्दिरले प्रशान्तलाई खाने र पढ्ने खर्च उपलब्ध गराइदिन्छुभन्दा पनि उनका ठूलोबुवा प्रशान्तलाई गाउँ लैजान तयार नभएको बताउँछन्, बाल संगठनका प्रमुख बालकृष्ण डंगोल ।

आमाबाबु बितेपछि ताला लागेको प्रशान्तको घरको हकदार यिनै बालक हुन् । सम्बन्धित जिल्लाले प्रशान्तलाई गाउँ पुर्‍याएर बालअधिकारको उपभोग गर्दै बस्ने व्यवस्था गर्ने तथा बालिग भएपछि उनको जायजेथाको स्वामित्व पनि सुनिश्चित गरिदिनुपर्नेमा जोड दिन्छन्, बालकृष्ण डंगोल ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...