गलबन्दी च्यातियो तिम्ले तानेर....

news

-सन्जिव कार्की 

प्रकाश सपुतले गीत लेखे भाका हालेर गाए शान्ती श्री परियारसंग मिलेर । गीत गज्जब बन्यो । अञ्जली अधिकारी र प्रकाश स्वयंले अभिनय गरे । जसले सर्वत्र चर्चा पायो थोरै समयमा हप्ता दिन भित्रै करोडौं भ्युज पायो । गीत संगीत कसलाई मन पर्दैन र ? झन राम्रो, मिठो र लोकप्रिय गीत संगीत सुन्न हेर्न कसले छुटाउथ्यो र ? अहिले गीत सुन्ने भन्दा हेर्ने जमाना र प्रबिधि छ । ‘गलबन्दी च्यातियो तिम्ले तानेर..’ भन्ने गीत नहेर्ने मान्छे कमै भए न गुन गुनाउने मान्छे कमै छ्न् । बालक, युवा वृद्धदेखि गाउँ, सहर, कुना कन्दरा सबै तह र तप्काका मान्छेको ओठ ओठमा झुन्डियो गीत अनि गीत भित्रको डायलग ‘ढिलो आयो कडा आयो ।’ उसै पनि ब्याटल दोहोरी देखि बोल माया गीत लगायतले चर्चामा रहेका प्रकाश झन अहिले यतिबेला सडक देखि संसदसम्म चर्चा ,बिबाद र जातीय समर्थन बिरोधको चंगुलमा छन ।

गलबन्दी च्यातियो तिम्ले तानेर, पछ्यौरी च्यातियो तिमीले तानेर, यो गीतका गायक प्रकाश सपूत र शान्ती श्री परियार अनि अभिनयकी अञ्जली अधिकारी यो पछिल्लो पुस्ताका बेजोड चर्चित पात्र र ब्यक्तित्व हुन कला र गलाको संयोजन हुँदा यहाँ कुनै जातभातको प्रसङ्ग थिएन कसरी गीत राम्रो हुने अभिनय राम्रो हुने चिन्ता थियो । कसले लेख्यो कसले गायो कसले अभिनय गर्यो त्यो मतलव थिएन । सबै मात्रै कलाकार थिए सर्जक र श्रष्टा थिए र छन  । यी तीन जना गायक दुई जना र अभिनयतर्फ अन्जली खुब चलेका प्रतिभा हुन । छोटो समयमा नै मोडलिङमा जमेकी अञ्जली अहिले चर्चाको उत्कर्समा छिन ।

प्रकाश सपुतलाई शम्भु राइले आफ्नो गीत चोरेको आरोप लगाएर मुद्दा दर्ता गरे । गायक प्रकाश कथित तल्लो जातको भएको कारण गीत चोरीमा उनको जातलाई लान्छित हुनेगरी ,अपमानित गर्नेगरी, एउटा समुदायप्रती नै घृणा विद्वैष फैलाउने गरि चोरी आरोपलाई मलजल गरेर केही फोहोरी मानसिकता हुने साम्प्रदायिक चेत हुने मान्छेहरुले सामाजिक संजाल विशेषत फेसबुकमा पोस्ट गरे । तब कलाकारको जात छुट्टाउनु पर्यो अनेक खोजिनिती र छुद्रता देखाउनु पर्यो ।

जातीय छुद्रता र अहंकार विस्तारै अरुलाई दुख्ने दुखाउने हदसम्म आइपुग्यो अहिले सामाजिक संजाल देखि संसदसम्म त्यही जातीय बिभेदको सेरोफेरोमा केन्द्रित छ । यो देशमा गरिबको समस्या गरिबको मात्रै भयो । महिलाको समस्या महिलाको मात्रै भयो । दलितको समस्या दलितको मात्रै भयो भन्ने उदाहरण संसदमा दलित समुदाय मात्रै प्रकाश् सपूत माथिको आक्रमणलाई प्रत्याक्रमण गर्ने बाध्यतामा छन । के अरु समुदाय र बर्गका मान्छेले यो विषयमा बोल्दा कसैको जात जान्छ ? संसद मुद्दामा बहस गर्ने थलो हो । जातमा होइन तर देखियो त्यस्तो ? हामी जातीय बिभेदलाई आज पनि जनताको प्रतिनिधित्व गर्ने उच्च्तम थलोमा पनि कायम राख्दै छौ ? दलितको समस्या र विवादमा दलित मात्रैले बोल्नु पर्ने महिलाको समस्या महिलाले मात्रै बोल्नुपर्ने ? कुनै पनि कुराको पक्षधरता सत्य तथ्यको आधारमा हुन्छ कि जातीय रङ्गमा आधारित भएर ? हरेक विषय र प्रसंगलाई जातभातसँग किन जोड्नु पर्यो ?

जे समस्या हो त्यही विषयमा बहस र छलफल गरौँ जानेर वा नजानेर जातीय सद्भाव भड्काउने काम नगरौ तर यहाँ जातीय सद्भाव बिथोल्न सानो कुरालाई अर्थात तीललाई पहाड बनाएर धुप हाल्ने तत्वहरु सकृय भएको देखिन्छ विगत देखि नै । जात धर्म जस्तो संवेदनशील कुरालाई त्यतिकै मजाक र हल्का नबनाउन सम्बन्धित सबैले ध्यान दिनु जरुरी छ । एकता बिथोल्ने, जातीय रङ्ग र हिलो छ्यापेर एकाअर्कालाई प्रहार गर्ने बेला यो नहुनु पर्ने हो तर समस्या सामधान र निराकरण गर्नुको सट्टा अल्झाउने, बल्झाउने खोतल्ने, उधिन्ने कुरा दुखद छ । ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ यहाँ कहाँ छ जातीय गन्ध ?

ब्यक्तिगत गल्ती कमि, कमजोरीलाई जातीय रंग दिनु एउटा समुदाय प्रति घृणा र लान्छना अनि तल्लोस्तरका गाली गलौज, अपमान, प्रातडना मानवता विरोधी हर्कत हुन । जन्म केवल संयोग हो, कसैको रुची, मर्जी इच्छा र निवेदनमा आधारित हुँदैन जन्म । तसर्थ जातीय अहंकार जे र जुन प्रसङ्गलाई पनि जातीय चस्माले हेर्ने प्रवृति दुवै घातक र बेइमानीको पराकाष्ठा हो । एउटा समुदायको समर्थन गर्दा अर्को समुदायको मानमर्द्न र भावनामा चोट पर्ने अभिव्यक्ति किमार्थ स्विकार्य हुँदैन । जात विशेषको होइन सत्य र तथ्यको पक्षधरता बौद्धिक धर्म हो । तर यहाँ जातको आधारमा पक्ष विपक्षमा बिभाजित हुँदैछ समाज र यदाकदा बौद्धिक जगत पनि । बुझेको पढेलेखेको बर्ग र तप्का बौद्धिक समूह नै जातको आधारमा समर्थन र बिरोधमा लाग्ने बहस पैरवीमा उत्रने हो भने न्याय बच्ने छैन । विवेक रहने छैन, मानवता खिइने मात्रै होइन सिद्दिने छ । बहस छल्फल मुद्दा केन्द्रित हुनुपर्नेमा निश्चित जाति र समुदाय केन्द्रित हुनपुग्ने छ । जातीय सद्भाव जातीय विद्वैसमा रुपान्तरण हुनेछ अनि जसको शक्ति उसको भक्तिमा समाज पुग्नेछ । समाजमा बिखन्डन र बिभाजनको बीउ उमारेर पछिल्लो पुस्तासम्म यही जात भातको भ्रम कायमै राख्ने कुनियत निन्दनीय छ ।

अहिलेको समाज झोक चल्ने वित्तिकै उग्र भइरहेको छ । जातीय द्वन्द्व मच्चाउन चाहनेलाई सहज भइरहेको जस्तो लाग्छ । भोलिको परिणाम विचार नगरी झोक चलेको भरमा नलेख्नु पर्ने ठाँउमा लेख्ने र नबोल्नु पर्ने ठाँउमा बोल्ने समाजको नियम भएको छ । बोल्नुपर्ने विषयमा मौन हुन्छ समाज तर बिभाजन नहुने ठाँउमा बिभाजनको रेखा कोर्न पुग्छ मान्छे । लेखक धुर्व सत्य परियारको फेसबूक स्टाटस सम्भु राई र प्रकाश सपुतको बिबादास्पद विषयमा सान्दर्भिक देखेर यहाँ उल्लेख गरेको छु ।

‘झगडा वा विवाद अन्तमा धर्ममा पुग्ने, रंगभेदमा पुग्ने, नश्लमा पुग्ने, आमा ‘चकारी’मा पुग्ने संसारकै असभ्य, विवेकहीनहरुमा देखिन्छ । तर, जातमा पुग्ने हिन्दू समाजमा हो । सबै चेतनाको कमी हो । बौद्धिक, न्यायप्रेमीहरुले चेतना फैलाउने पहल गरिरहेका छन् । जहाँसम्म यी स्टाटसमा आएका विचार छन्, यी बाहिर आउनुपर्छ र समस्याको पहिचान हुनुपर्छ । खानपान बिग्रेर बेहोस भएको रोगीले बान्ता गरेन भने उसले के खाँदा यस्तो भयो भन्ने थाहा हुँदैन र उपचार गर्न कठिन हुन्छ । यसरी बान्ता गरिरहनुपर्छ, यसले मुद्दामा बहस गर्न सहज बनाउँछ । जहाँसम्म गीत चोरीको कुरा छ, प्रकाश सपुतले पनि चिठीसिठी के के लेखेर इमोसनल ब्ल्याक मेल गर्न खोजे, विवेकशील बाटो खोजेनन् । उनले कम्तीमा ‘अलिअलि मिलेको छ दाइ त्यो म स्विकार्छु, आखिर लोकगीत (लोकको गीत, हामी सबैको गीत) न हो, तर तपाईंको गीत जानिजानी चोरेको होइन, मिल्न गएकामा तपाईं के भन्नुहुन्छ, सल्लाह छलफल गरौँ, एउटा निष्कर्षमा पुग्यौँ’ भन्नुपथ्र्यो । शम्भु राईले हचुवाका भरमा त भनेका छैनन्, कम्तीमा सपुतले यति कुरा बुझ्नुपथ्र्यो । तिमीहरु मिल यार, अदालती कारबाहीमै जाऊ, आ–आफ्नो तर्क पेस गर, तर कम्तीमा जातीय हिंसा भड्काउने वातावरण सिर्जना नगर ।’

हामी कहिलेकाही झुक्दा सानो हुने र क्षमा दिदा अपमानित भएको मह्शुस गर्ने मानशिकता बाट पीडित छौ । स्वीकार भावको अभावमा हामी तरङित उद्देलित बन्छौ । दुवै पक्ष बसेर स्वीकार भाव देखाउने हो भने समस्या बिकराल बन्दैन , बिचौलियाहरुले जातभात, धर्म, संस्कृतिको नाममा खेल्ने मौका पनि पाउदैनन् । यो समाजमा बिबिधतामा एकता कायम राख्न सबैले सबैको अस्तित्व स्वीकार गर्नु र सम्मान गर्नु आवश्यक हुन्छ । जातीय बिबिधता, सांस्कृतिक बिबिधता भएको ठाँउमा सबैले सोच्ने, बुझ्ने र व्यबहार गर्ने शैलीगत भिन्नता हुन्छ नै, त्यसैले एक अर्काको अप्ठ्यारो बुझ्ने र बुझाउने शक्ति र शालिनता प्रदर्शन गर्नु आवश्यक हुन्छ । धैर्यता , सहनशिलता र परिपक्व अभिभावकता आजको टडकारो आवश्यकता हो । सम्भु राइको गीत पनि नारायण गोपालको गीत सग मिलेको चर्चा र प्रमाण बाहिर आएको छ लोक गीत र भाकाहरु उस्तै लाग्ने र पुस्तान्तरण हुने, अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुने एउटा प्रक्रिया हो ।

गीतहरु हजारौं छ्न आउछ्न वर्ष दिनमा नै तर जुन गीतले तहल्का मच्चाउछ त्यो गीत त्यसका गायक संगीतकार रचनाकार सम्मको बारेमा चियो चर्चो गरिन्छ । बच्चा बेलामा कांक्रो चोरेको आरोप लगाएर पनि सामाजिक रूपमा अपमानको ढोल पिटिन्छ । केही मान्छेहरुका उत्ताउलो , जातीय सद्भाव खल्बल्याउने सार्वजनिक पोस्टले गर्दा सामाजिक संजालमा दुई तर्फी बहस चलेको छ गीतकार संगितकार समेत दुई ध्रुवमा बाँडिएर विचार प्रवाह गरिरहेका छन । शम्भु राई र प्रकाश सपूत भर्सेस विचारहरु आइरहेका छ्न कतिपय विचार जातीय अहम र छुद्रता बोकेर पैदा भएका छन । हरेक क्षेत्रको नियमन गर्ने क्षेत्र र क्षेत्राधिकार हुन्छ एन नियम र परिधान हुन्छ । कुन सहि र गलत छुट्टाउने बिधान र नियम हुन्छ ।

भावनात्मक पक्ष भन्दा यथार्थको धरातल टेक्ने प्रयास दुवैको तर्फबाट र समर्थन गर्नेबाट भयो भने सामधान निस्कन्छ । लाखौंको संख्यामा रहेको समुदायलाई चोट लाग्ने गरि कसैले पनि बोल्नु र त्यसको प्रतिकारमा अरु लाखौं  मान्छेलाई अनाहकमा मुछेर विष बमन र जातीय सदभावमा प्रहार गर्ने परिपाटिले दुःख पीडा अराजकता भन्दा पर केहि निम्त्याउदैन तसर्थ यतिबेला सन्तुलित, सुविचारित र सुब्यबस्थित विचार र ब्यबस्थाको खाचो देखिन्छ । जातिय द्वन्द र कलुशित विचारको शिकार केहि मान्छेको त्रुटीमा समग्र मान्छे पर्नु हुदैन फस्नु हुदैन । क्षणभरको आत्मसन्तुष्टी  सधै पछुताउने मार्ग र यात्रा बन्नु हुँदैन ।

जातीय हिंसायुक्त लबज जसले बोले पनि त्यो सजायको भागीदर बन्नुपर्छ ।  प्रकाश सपूत र शान्तीश्रीको गीतमा तानिएको मायालु पछ्यौरी र गलबन्दी एकता सौहाद्रता र मिलनको प्रतीक अनि बिम्ब बन्नुपर्छ । पछयौरी र गलबन्दी तानेर च्यात्ने हैन स्नेह र न्यानोको लागि जोगाएर राख्नुपर्छ । हाम्रो सामाजिक चरित्र असहिष्णु बन्न सक्दैन र हुँदैन । असामाजिक असंगत पक्ष भुलेर सामाजिक न्यायको लागि बोल्नुपर्छ , लेख्नु पर्छ । गीतमा च्यातिएको गलबन्दी र पछ्यौरी समाज मिलनको बिम्ब बन्नुपर्छ । जातीय गन्धले गलबन्दी मकाउन हुन्न । सद्भाव एकता र भावनात्मक सुत्रको डोरी कस्न कामयावी बन्नुपर्छ गलबन्दी र पछ्यौरी । हाम्रो सामाजिक एकता र सदभावको बलियो डोरी एकाध दुखद घटना र परिस्थितिले चुडिन सक्तैन र चुँडन नदिन हाम्रो प्रयत्न हुनेछ । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...