भक्तपुरमा टिपरको ठक्करबाट युवतीको मृत्यु, आक्रोशितले टिपर जलाए

news

भक्तपुर, जेठ ३० । भक्तपुरमा बा४ख ३५५८ नम्बरको टिपरले एक स्कुटरलाई पछाडिबाट बुधबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ ।

स्थानीय जडीबुटीमा बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको टिपरले कोटेश्वरतर्फ नै गइरहेको बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ ।

घाइते भण्डारीलाई उपचारका लागि ललितपुरस्थित बीएन्डबी अस्पतालमा लगिएकामा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते छन् ।

दुर्घटनापछि आक्रोशित भीडले ठक्कर दिने टिपरमा आगो लगाइदिएको छ । आगोलागीबाट टिपरमा क्षति पुगेको छ भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि सडक बन्द हुँदा कोटेश्वरबाट पेप्सीकोला तथा कोटेश्वरबाट भक्तपुरतर्फ जाने सवारी–साधन एक घन्टा प्रभावित भएका थिए ।

ठक्कर दिने चालकलाई कारबाहीको माग गर्दै सडकमा स्थानीयवासीले निकैबेर नाराबाजी गरेका थिए । काठमाडौंबाट आएका दुई दमकलले आगो नियन्त्रणमा लिएका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया