‘कुम्भकर्ण’ कांग्रेस कहिले उठ्छ ?

news

-लाओस राई

विज्ञानले निश्चित समयमा निश्चित दुरी पार गर्नुलाई गति भनेको छ । गति नै अग्रगतिको प्रस्थान बिन्दु हो । यसबाट के कुरा सिक्न सकिन्छ भने संसारका सबै बस्तु र पदार्थहरु गतिसिल हुन्छ । यिनै प्रक्रिया र पद्दतिले कुनै पनि बस्तु वा पदार्थलाई स्थिर रहन दिंदैन भन्ने भुझ्दा झनै राम्रो हुन्छ । किनकी कुनै बस्तु वा पदार्थ पूर्ण हुनलाई स्वयममा अन्तरघुलन, अन्तरक्रिया वा प्रतिक्रिया हुन पर्दछ । त्यसपछी मात्र त्यो बस्तु वा पदार्थले पूर्णता पाउँछ । अन्यथा त्यो अपूर्ण हुन्छ । त्यसैले  भन्न सकिन्छ पूर्णता पाउनको लागि अन्तरघुलन, क्रिया, प्रतिक्रिया हुनु जरुरी रहेछ ।

बस्तु बिस्तार र निर्माणको लागि अन्तरघुलनको अनिवार्यता, अपरिहर्यता र महत्व रहेछ जान्न सकिन्छ । देख्दा भने स्थिर जस्तो देखिए पनि स्वयममा भने गतिसिल र चलायमान हुँदो रहेछ  । यो त भयो बस्तु वा पदार्थको गतिसिलता । तर झट्ट हेर्दा अदृश्य जस्तो देखिने तर प्रभाव र गतिसिलताको सन्दर्भमा राजनीतिलाई गति र गतिसिलाताको प्रसंगले हेर्ने हो भने पदार्थको अन्तरघुलन भन्दा कम ढंगको देखिन्दैन् । त्यसकारण गतिसिलताको अर्को रुप राजनीति हो भन्दा फरक पर्दैन  ।

नेपालको राजनीतिक संघर्ष र पार्टीको स्मरण गर्ने हो भने नेपाली कांग्रेसको नाम अग्रपंक्तिमा आउँछ । किनकी कांग्रेसले नै नेपाली जनतालाई स्वतन्त्र र निर्भिक बनाएको हो । त्यसकारण नेपाली कांग्रेस अग्रपंक्तिमा आउने नै भयो । इतिहासलाई केलाउने  हो भने कांग्रेसका धेरै पक्षहरुमा राम्रो पाउन सकिन्छ तर इतिहासले मात्र वर्तमान र भविष्यको मार्ग निर्धारण गर्न सकिन्न रैछ भन्ने अहिलेको कांग्रेसको अवस्थाले दर्शाउँछ । यद्यपी इतिहास संघर्षको उर्जा भने जरुर हो । इतिहासको अध्ययन र अनुशरणबाट घट्ना र रुपान्तरण हुँदै नै नयाँ–नयाँ इतिहांस निर्माण हुने हुँदा यसको महत्वलाई पनि नकार्न मिल्दैन । अर्को कुरा ब्यबस्थाको बिरुद्धमा लागि रहनु, संघर्ष गर्नु यदि सिक्नु पर्छ भने नेपाली कांग्रेससंग सिक्नु पर्दछ ।

किनकी राणा शासन, पंचायती ब्यबस्था, ज्ञानेन्द्र शाहको सक्रिय शासनको अन्त्य कांग्रेसकै नेतृत्वमा सफल भयो । सबैभन्दा महत्वपूर्ण काम संबिधान निर्माण र संघीयता जस्तो जनतासंग प्रत्यक्ष सरोकार राख्ने व्यबस्थाको थालनी पनि  कांग्रेसकै नेतृत्वमा भयो । यस्तो गौरवशाली इतिहास निर्माण गर्ने पार्टीको यस्तो नराम्रो अवस्था कसरि भयो ? भन्ने विषयमा मात्र केन्द्रित हुने हो भने त्यस भित्रको अन्तरकथा बडो गम्भिर देखिन्छ । तिनै विभिन्न कथाहरु मध्ये मुख्य, मुख्य पक्षहरु भन्नै पर्दा पहिलो भने नेतृत्वको अदुरदर्शिता भन्ने बुझिन्छ । किनकी नेतृत्वले गतिसिलताको अर्थै बाझ्ने कोशिस गरेको देखिएन । नेतृत्वमा पुग्ने बित्तिकै ‘कुम्भकर्ण’ हुने र बिश्राम गर्ने जुन संस्कार बस्यो त्यो नै कांग्रेसका लागि सबैभन्दा कमजोरी देखियो । जस्तै एक ब्यक्ति सक्षम हुनको लागि मानसिक र शारिरीक रुपमा सवल हुन जरुरी पर्दछ । त्यस शरिरका सबै अंग र अभयव ठिक भए मात्र व्यक्ति स्वस्थ हुन्छ । त्यसै गरि पार्टी गतिसिल र प्रभावकारी हुन पार्टीको सबै इकाईहरु चलायमान हुनु त्यत्तिकै आबश्यक हुनुपर्छ ।

गतिसिल इकाईहरुले मात्र पार्टीलाई गतिसिल र जीवन्त राख्दछ । कांग्रेस पार्टीमा त न संगठन जुन ढंगले गतिसिल हुनुपर्ने थियो  त्यो सून्यप्रायः देखिन्छ  । न त भातृ सस्थाहरुलाई गतिसिल गर्न सक्यो, न स्वतस्फुर्त ति संगठनहरु गतिसिल हुने प्रयत्न गरेको देखियो । सबै भातृ संगठन अजिंगर जस्तै लम्पसार र  मस्त निन्द्राको ‘कूम्भकर्ण’ झैँ देखिन्छ । यस्तो मुडा जस्तो स्थिर सस्थाहरुको आडमा पार्टी कसरी चलायमान र गतिसिल हुन्छ, यो आजको मूल प्रश्न हो ।

मुलुक संघीय संरचनाको नयाँ अभ्यासको चरणमा छ । देशमा ७५३ तह विभाजित छन् तर कांग्रेस पुरानै संरचनामा सुतिरहेको जस्तो भान हुन्छ । कांग्रेसको विधानमा संघीयतालाई पालना गर्ने उदघोषसहित तहगत संरचना निर्माण गरे पनि त्यो कार्यान्वयन आउन सकेको छैन । विधानमै उल्लेख भएको ३० वटा विभाग विस्तार तीनबर्ष वितिसक्दा पनि पूर्णता हुन सकिरहेको छैन । साँच्चै भन्ने हो भने कांग्रेस कुम्भकर्ण नै बनिरहेको छ भन्ने दृष्टान्त यही उदाहरणहरु काफी छन् ।

कांग्रेसको ‘पिलर’ मानिएको नेवि संघ नेतृत्वविहीन बनेको चार महिना वितिसकेको छ, तरुण दल चार जनाको केन्द्रिय समितिको भरमा चलिरहेको छ । लोकतान्त्रिक विधि र पद्धती पालन गर्न सिकाउने कांग्रेसको किसान संघ १४ बर्षदेखि एउटै नेतृत्वमा चलिरहेको रहेछ । सेनानी संघमा पनि १२ बर्षदेखि एउटै अध्यक्ष कायम रहेछन् । यी बाहेक अन्य भातृ संगठनको उस्तै बेहाल र लाजमर्दो अवस्थालाई नियालेर ‘कांग्रेस कुम्भकर्ण भयो’ भनेर चर्चा गर्न कुनै संकोच मान्नु पर्दैन । काखा–पाखाको भावनाबाट नेतृत्व मुक्त नहुँदा भातृ संगठनहरु अनिर्णयको बन्दी बन्न विवश छन् ।

केही दृष्टान्तहरु उल्लेख गरिसकेपछि संघर्षको बखत साथ दिने हजारौं कार्यकर्तालाई कुम्भकर्ण जस्तै सुताएको यथार्थ पनि सत्य हो, भन्न हामीले कुनै समस्या होइन । त्यसकारण संघर्ष र यथास्थिति दुवै विद्यमान रहेको नेपाली कांग्रेसलाई कसरी गतिसिल बनाउने भन्ने नै आजको प्रमुख काम हो । नेता तथा कार्यकर्ताको आचरण र ब्यबहारमा परिवर्तन गर्दै परिपक्व बनाउन नेतृत्वले फराकिलो छाती अवश्य बनाउन जरुरी छ । त्यसका लागि नेताहरुले एकत्ववादी प्रवृतिको, संभ्रान्तशाली राजनीतिक संस्कारको अन्त्य गरी लोकतान्त्रिक पद्दति र मूल्य मान्यताको आधारमा कार्यकर्ताहरुको उचित मुल्यांकन गर्नु पर्दछ । त्यसले मात्र पार्टीलाई गतिसिल र जीवन्त पार्दछ । त्यसका लागि क्षमता र योग्यताका आधारमा कार्यकर्तालाई संगठन विस्तारको जिम्मेवारी दिन नितान्त जरुरी छ । त्यसो नभए कांग्रेस ‘कुम्भकर्ण’ नै बनिरहने निश्चित छ । (लेखकः नेपाली कांग्रेसका नेता हुन)         

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...