प्रतिपक्षी दलले उठाएका मुद्दा सम्बोधन गर्ने सहमतिपछि प्रदेशसभा बैठक सञ्चालन

news

धनगढी, असार २२ । सत्ता र प्रतिपक्षबीच सहमति भएपछि लामो समयदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेश सभाको बैठक आजदेखि संचालन भएको छ ।

प्रतिपक्षी दलले उठाएका मुद्दाहरु सम्बोधन गर्ने सहमतिपछि प्रदेशसभा बैठक २२ दिनपछि आइतबार संचालन भएको हो । आजको बैठकमा बोल्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले ल्याएको बजेट राम्रो भएकै कारण आलोचना भएको दावी गरे ।

उनले बजेटमा कुनै असन्तुष्टि भए सदनमै छलफल हुनुपर्ने बताए । बजेट अपारदर्शी भएको भन्दै रातो किताब जलाएर सदन अवरोध गरिरहेका प्रतिपक्षी सांसदहरुतर्फ इंगित गर्दै उनले विकासका योजना कार्यान्वयन गर्न सबै एकै ठाउँमा उभिनसमेत आग्रह गरे ।

यस्तै, प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले बजेटमा गम्भीर त्रुटीहरु रहेका कारण आफुहरुले रातो किताव जलाएर सदन अवरोध गरेको बताए । उनले प्रतिपक्षलाई विश्वासमा लिएर काम गर्न सरकार सहमत भएकाले सदनको अवरोध हटाएको बताए ।

सदनमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी नेताले सम्बोधन गरेपछि बजेटमाथिको छलफल अगाडि बढेको छ । आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट तथा विनियोजन विधेयकमाथि सामान्य छलफल प्रारम्भ होस् भनी पेश गरेको प्रस्ताव सदनले सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेश सभामा भोलिदेखि बजेटमाथि छलफल हुनेछ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...