भोजपुरमा दुईजना मारिने गरी ‘यसरी भयो भिडन्त’ (भिडियो)

news

राजन राई (इमेज)

भोजपुर, असार २५ । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाको गतिविधि दिन–प्रतिदिन बढ्दै गएको छ । सरकारले पनि सुरक्षा घेरा कसिलो बनाउँदै गएको छ ।

केही दिनअघि संखुवासभाको सिलिचोङ गाउँपालिका–१, होयाङ्मा प्रहरी र चन्दका कार्यकर्ताबीच भएको भिडन्तपछि प्रहरीले देशैभर चन्दका कार्यकर्तामाथि निगरानी बढाएको छ ।

तर, बुधबार बिहान भोजपुरमा भएको घटनाले परिस्थिति भिडन्ततर्फ उन्मुख भइरहेको प्रस्ट भएको छ ।

विस्फोट, बन्द, तोडफोड, आगजनीजस्ता क्रियाकलाप गर्दै आएको चन्द समूह र प्रहरीबीच बुधबार बिहान भोजपुर सदरमुकामस्थित व्यस्त बजारमा झडप र गोली हानाहान भएको छ ।

गोली हानाहान हुँदा दुवैतर्फ एक/एकजनाको मृत्यु भएको छ भने एक प्रहरीजवान घाइते भएका छन् ।

भोजपुर सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानको पाँचधारे होटल परिसरमै भएको गोली हानाहानबाट चन्द समूहका कार्यकर्ता नीरकुमार राई र प्रहरीजवान सन्जीव राईको मृत्यु भएको हो । अर्का प्रहरीजवान खेमनाथ भट्टराई घाइते भएका छन् ।

चन्द समूहका कार्यकर्ता होटलमा बसेको सूचना पाएर सादा पोसाकमा प्रहरी गएको बताइएको छ ।

प्रहरी र चन्दका कार्यकर्ताबीच होटलमै विवाद भएको र त्यसक्रममा चन्द समूहका कार्यकर्ता नीरकुमार राईले ‘फायर’ खोल्दै प्रहरीजवान सन्जीव राईमाथि गोली प्रहार गरेका थिए ।

गोली लागेर सन्जीव राई त्यहीँ ढले । त्यसलगत्तै सँगै रहेका अर्का प्रहरीजवान खेमनाथ भट्टराईले चन्दका कार्यकर्ता नीरकुमारमाथि गोली प्रहार गरे । नीरकुमार पनि घटनास्थलमै ढले ।

दुवैजनालाई जिल्ला अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।

घटनामा प्रहरीजवान भट्टराई घाइते भएका छन् । उनको कुमको हड्डी भाँचिएको अस्पतालले जनाएको छ ।

मृत्यु हुने प्रहरी सन्जीव तुवाचुङ नगरपालिका–१, बाहुनडाँडाका बासिन्दा हुन् भने चन्दका कार्यकर्ता नीरकुमार भोजपुरकै षडानन्द नगरपालिका–१ निवासी हुन् ।

घटनापछि स्थानीय त्रसिद बनेका छन् ।

मृतक नीरकुमार भोजपुरमा रहेकी आफ्नी श्रीमती भेट्न गएको बताइएको छ । उनले त्यस क्षेत्रमा चन्दा आतंक मच्चाएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो ।

पहिल्यै चिनजान भएका प्रहरीजवान सन्जीवलाई देखेपछि नीरकुमार अत्तालिएको र उनले फायर खोलेको प्रहरीले दाबी गरेको छ ।

यता, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर घटनाबारे प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् ।

घटनास्थल सदरमुकामको व्यस्त बजार हो । प्रहरीले घटनास्थलबाट चिनियाँ पेस्तोल र ६ राउन्ड गोलीसमेत बरामद गरेको छ ।

अरु स्थानबाटसमेत सुरक्षाकर्मी पठाएर भोजपुरको सुरक्षा व्यवस्था थप मजबुत् पारिएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...