भारतलाई हराउँदै न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा

news

काठमाडौं, असार २५ । न्यूजिल्यान्ड इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो ।

२४० रनको चुनौती पछ्याउनेक्रममा बुधबार भारतले ४९ ओभर ३ बलमा ‘अलआउट’ हुँदै २२१ रनमात्र बनाउन सक्यो ।

सातौं विकेटका लागि रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीबीच ११६ रनको साझेदारी भएपछि भारत जितनजिक पुगे पनि अन्ततः पराजित भएको हो ।

जडेजाले ५९ बलमा ७७ तथा धोनीले ‘रनआउट’ हुनुअघि ७२ बलमा ५० रन बनाएका थिए ।

त्यसअघि, भारतले ९२ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा, कप्तान विराट कोहली र लोकेश राहुल समान १ रनमा आउट भए ।

५ रन जोड्दा भारतले सुरुआती तीन ब्याट्सम्यानलाई गुमाएको थियो । ऋषभ पन्त र हार्दिक पाण्डेयाले समान ३२ रन बनाए ।

न्यूजिल्यान्डका माट् हन्रीले ३ तथा ट्रेन्ट बोल्ट र मिचेल सान्तनरले समान २ विकेट लिए ।

यसअघि, न्यूजिल्यान्डले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम चुनौती पछ्याएको थियो ।

मंगलबार न्यूजिल्यान्डले ४६ ओभर १ बल खेल्दा ५ विकेटको क्षतिमा २११ रन बनाएपछि वर्षाले खेल हुन नसक्दा बुधबार बाँकी ओभरबाट न्यूजिल्यान्डले खेल्न थालेको थियो ।

न्यूजिल्यान्डका रोस टेलरले ७४ तथा कप्तान केन विलियमसनले ६७ रन बनाएका थिए ।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।

जितसँगै न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा न्यूजिल्यान्ड फाइनलमा अष्ट्रेलियासित पराजित भएको थियो ।

दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र आयोजक इंग्ल्यान्ड खेल्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...