शिक्षकको ‘कुटाइबाट विद्यार्थीको मृत्यु’, पाँचजना प्रहरीको नियन्त्रणमा

news

कन्चनपुर, असार २६ । कन्चनपुरमा शिक्षकको कुटाइबाट एकजना विद्यार्थीको मृत्यु भएको भन्दै चारजना शिक्षकसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षकको कुटाइका कारण घाइते भएका भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको उपचारकाक्रममा मृत्यु भएपछि विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट, हर्क जाग्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरालाई नियन्त्रणमा लिइएको हो ।

यही असार १३ गते शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका माधवको टाउको र छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो ।

उनको मंगलबार राति भारतको राममूर्ति अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

बालकको मृत्युपछि पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कन्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले जानकारी दिए ।

यता, विद्यार्थी कुट्ने शिक्षकले भने विद्यालयबाहिर साथीभाइसँग झैझगडा गरेको विषयमा अनुशासन सिकाउन दुई थप्पड हानेको स्वीकारे पनि मृतकका आफन्तले भने शिक्षकको कुटाइकै कारण माधवको मृत्यु भएको आरोप लगाएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...