फ्रेन्ड्स र च्यासलको सान्त्वना जित, थ्रीस्टार र मच्छिन्द्र पराजित

news

काठमाडौं, असार २६ । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबले सान्त्वना जित हासिल गरेका छन् ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको आफ्नो अन्तिम खेलमा थ्रीस्टार क्लबलाई २–० ले पराजित गर्दै फ्रेन्ड्सले सान्त्वना जित निकालेको हो ।

फ्रेन्ड्सलाई जिताउनेक्रममा निशेन सुब्बा र जीवन गुरुङले एक/एक गोल गरे ।

समूह ‘बी’बाट त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र मनाङ–मर्स्याङ्दी क्लबले क्वार्टरफाइनलमा ठाउँ बनाउँदा फ्रेन्ड्स र थ्रीस्टार बाहिरिएका छन् ।

च्यासलद्वारा मच्छिन्द्र पराजित

त्यस्तै, समूह ‘ए’बाट सान्त्वना जित निकाल्नेक्रममा च्यासलले बिहीबारै मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हरायो ।

च्यासललाई जिताउन दुवै गोल कर्मा शेर्पाले गरे । मच्छिन्द्रका लागि कृष्ण भण्डारीले एक गोल फर्काए ।

जित हासिल गरे पनि ४ अंक जोडेको च्यासल प्रतियोगिताबाट बाहिरिएको छ भने यो समूहबाट समान ६/६ अंकका साथ मच्छिन्द्र र हिमालयन शेर्पा क्लब क्वार्टरफाइनलमा पुगेका छन् ।

‘लिगकम नकआउट’का आधारमा ‘ए’ डिभिजनका १४ क्लबलाई तीन समूहमा विभाजन गरी खेलाइएको प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...