प्रदेश ५ का जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण प्रकृया सुरु

news

-बासुदेव बर्मा/ईमेज

कपिलबस्तु । प्रदेश ५ का दुई जिल्ला सहित १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण प्रकृया सुरु भएको छ ।

दोस्रो चरण अन्तर्गत देशका १५ जिल्लामा वितरण गरिने परिचयपत्रको काम कपिलबस्तुमा सुरु भएको हो ।

संघीय सरकारले प्रदेश नं ५ का कपिलवस्तु र गुल्मी सहित देशभरका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरेको थियो ।

कार्यक्रम सुरु भएका प्रदेश नं ५ का दुई जिल्ला मध्ये कपिलवस्तु बाट जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्यवय समितिका सभापति नारायण प्रसाद खनाल,उप सभापति तारावती चौधरी र कपिलबस्तु नगरपालिका की उप मेयर लक्ष्मी गुप्ताले राष्ट्रिय परिचय पत्रको सुरुवात गरे ।

१० स्थानीय तहमा ८३ वडा रहेका छन् भने ५ लाख ७१ हजारभन्दा बढी जनसङ्ख्या रहेको छ । यस्तै गुल्मी जिल्लामा १२ स्थानीय तहमा ९३ वडा र दुई लाख ८० हजारभन्दा बढी जनसङ्ख्या रहेको छ ।

चालू आवमा राष्ट्रिय परिचय पत्र वितरण कार्यान्वयनमा रहेका १५ जिल्लामा अनलाइन दर्ता प्रणालीको विकास गरी सबै जिल्लाबाट विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइने छ ।

आगामी २ वर्षभित्र सबै जिल्लामा बृहत्तर रुपमा कार्यक्रम सञ्चालन गर्नेगरी राष्ट्रिय परिचय पत्र विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भई कार्यान्वयनमा रहेको समेत जनाइएको छ ।

प्रदेश ५ का दुई जिल्लासँगै कार्यक्रम सञ्चालनको तयारीमा रहेका अन्य जिल्लामा प्रदेश १ का झापा र सङ्खुवासभा, प्रदेश २ का सप्तरी र महोत्तरी, प्रदेश ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, कर्णाली प्रदेशका सल्यान र जुम्ला र सुदूरपश्चिम प्रदेशका अछाम र कञ्चनपुर छनोट भएका छन् ।

यो कार्यक्रम कार्यान्वयन हुँदा राष्ट्रिय परिचय पत्रले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी रुपमा सञ्चालनमा सघाउ पुग्ने, दोहोरो सुविधा लिने, झुटा विवरण पेश गर्ने, सेवासुविधाको दुरुपयोग गर्नेजस्ता कार्य नियन्त्रित भई लक्षित वर्ग, समुदाय र आम नागरिकले राज्यबाट प्रदान गर्ने सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्ने उल्लेख गरिएको छ ।

साथै एक व्यक्ति एक परिचय पत्र नम्बरका कारण सामाजिक कार्यक्रम, गरीबी निवारण कार्यक्रम, सामाजिक बीमा, निवृत्तिभरण सुविधा साथै सरकारबाट प्रदान भइरहेका सेवासुविधामा हुने चुहावट नियन्त्रण भई पारदर्शी रुपमा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...