कुन होला विश्वकप जित्ने छैटौं देश ?

news

काठमाडौं, असार २७ । विश्वले आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा नयाँ विजेता पाउँदैछ ।

उपाधिका लागि इंग्ल्यान्ड र न्यूजिल्यान्ड नेपाली समयअनुसार आइतबार दिउँसो भिड्दै छन् ।

यसअघि, इंग्ल्यान्ड तीनपटक र न्यूजिल्यान्ड एकपटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेका छैनन् । यसपटक जसले जिते पनि नयाँ विजेता हुनेछ । विजेता विश्वकप जित्ने छैटौं देश बन्नेछ ।

सन् १९७५ देखि सुरु भएको विश्वकपको ११औं संस्करणसम्म अष्ट्रेलियाले सर्वाधिक पाँचपटक, भारत र वेस्ट इन्डिजले दुई/दुईपटक तथा श्रीलंका र पाकिस्तानले एक/एकपटक उपाधि जितेका छन् ।

अष्ट्रेलिया यसपटक सेमिफाइनलमा इंग्ल्यान्डसित ८ विकेटले पराजित हुँदै बाहिरियो भने भारत सेमिफाइनलमा न्यूजिल्यान्डसित १८ रनले हार्न पुग्यो । पाकिस्तान र श्रीलंका भने लिग चरणबाटै बाहिरिएका थिए ।

१० टोली सहभागी जारी विश्वकपमा पाकिस्तान पाँचौं तथा श्रीलंका छैटौं भएर लिग चरणबाटै बाहिरिएका थिए ।

न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पुग्दा इंग्ल्यान्ड सन् १९९२ पछि पहिलोपटक फाइनलमा पुगेको हो ।

लन्डनमा हुने फाइनलमा घरेलु टोली नै हावी हुनसक्ने आँकलन गरिएको छ । लिग चरणको खेलमा इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ११९ रनले पराजित गरेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...