प्रधानमन्त्रीको अभिव्यक्तिले गम्भीर संकेत, सरकार कसले चलाइरहेको छ ?

news

मीरा बस्नेत (इमेज)

काठमाडौं, असार २७ । विषादी परीक्षणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘क्याबिनेट’मै द्वन्द्व सिर्जना हुने आशंका बढ्दै गएको छ ।

एकले अर्कोलाई दोष देखाउनेक्रममा बिहीबार प्रधानमन्त्री ओलीले कृषि, आपूर्ति र परराष्ट्र मन्त्रालयलाई दोष देखाउँदै माफी गरे ।

तर, यस विषयमा आरोपित मन्त्रालयहरुको कुनै आधिकारिक भनाइ सार्वजनिक भएको छैन भने कसैलाई कारबाही पनि गरिएको छैन ।

विषादी परीक्षणको विषयमा सरकारका तर्फबाट शुक्रबार फेरि कृषिमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्रीले संसदीय दलको बैठकमा कुनै पत्र नआएको दाबी गरेपछि उत्पन्न विवादकाबीच आफूले मन्त्रालयमा बुझ्दा पत्र आएको थाहा पाएको बताएका छन् ।

यसअघि, प्रधानमन्त्री बोलेपछि चर्किन थालेको यो विषयमा कृषिमन्त्री खनालले संसदमा दोष आफ्नो नभइ आपूर्ति मन्त्रालयको भएको बताएका थिए ।

योलगत्तै संसदमै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले गल्ती भएको भन्दै सचिवको विश्वासमा पर्दा फसिएको बताएका थिए । तर, सरकारले कसैमाथि कारबाहीको कुरा भने अहिलेसम्म गरेको छैन ।

बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले कारबाहीको ठीकविपरीत गलत सूचना प्रवाह गर्ने कर्मचारीलाई ‘झुन्ड्याउन नसकिने’ भन्दै लाचारी प्रकट गरे ।

सरकारका प्रवक्ताले लाचारी प्रकट गरिरहँदा प्रधानमन्त्री ओली भने लज्जित भएर माफी मागिरहेका थिए ।

बिहीबार बिहान प्रधानमन्त्री ओलीले एक कार्यक्रममा पत्रकाबारेमा आफूलाई जानकारी नदिएर कृषि, आपूर्ति र परराष्ट्र मन्त्रालयले झुक्याएको भन्दै माफी मागे ।

प्रधानमन्त्री ओली सम्बन्धित मन्त्री, मन्त्रालय र कर्मचारीबाट झुक्किएको यो पहिलोपटक भने होइन ।

प्रधानमन्त्रीले यसअघि पनि चिनी प्रकरण, मेलम्ची, निर्मला पन्त हत्याकान्डलगायतमा आफूलाई झुक्याइएको अभिव्यक्ति दिइसकेका छन् ।

यसले सरकार कसले–कसरी चलाइरहेको छ र कसको नियन्त्रणमा छ ? भन्ने प्रश्न उठेको छ ।

सरकारी कर्मचारीले सम्बन्धित मन्त्रीलाई गम्भीर विषयमासमेत जानकारी नगराउँदा सरकार र कर्मचारीबीच पनि गहिरो अविश्वास देखिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...