अख्तियारको स्टिङ अप्रेसन धमाधम

news

काठमाडौं, असार २८ । कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामा चार लाख घुससहित पक्राउ परे । शुक्रबार प्राविधिक उपसचिव लामाले छुट पुर्जाको म्याद थप गराइदिने बहानामा घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै डीएफओ लामालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

बिहीबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा राजकुमार रौनियार र डा रामहरि रौनियारलाई ८ लाख घुससहित अख्तियारले पक्राउ ग¥यो । 

त्यस्तै असार १० गते शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख धनबहादुर वली घुस लिँदालिँदै अख्तियारको पन्जामा परेका छन् ।

असार ४ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पटेल ५० हजार घुससहित पक्राउ परे ।

अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले पछिल्लो समय स्टिङ अप्रेसनमा ठूला केस परेको बताए । उच्च पदस्थ कर्मचारी नै स्टिङमा परेका छन् ।

उनका अनुसार यस आर्थिक वर्ष १२० भन्दा बढी स्टिङ अप्रेसन गरिएको छ । जुन गत वर्षभन्दा २३ बढी हो । - अन्नपूर्ण पोस्ट दैनिकबाट

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...