मूल्यवृद्धिले उपभोक्ता मारमा (भिडियो रिपोर्ट)

news

मीरा बस्नेत/नवीन स्थापित (इमेज):

काठमाडौं, जेठ ३० । बजेट भाषणको दुई साता बित्न नपाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको भाउ मनपरी ढंगले ह्वात्तै बढाएका छन् ।

सरकारले बजेट भाषणमा करको दायरा बढाएको बहाना देखाउँदै व्यापारीले  बेलगाम ढंगले दैनिक उपभोग्य वस्तुको भाउ बढाएका हुन् ।

वैज्ञानिक आधार र कारण नै नभइ मनलाग्दी ढंगले दैनिक उपभोग्य सामग्रीमा भाउ बढाएपछि उपभोक्ता भने मारमा परेका छन् ।

आगामी आर्थिक वर्ष २०७५/२०७६ को बजेटमा खाद्यवस्तुको आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले दाल, चामल, खाने तेल र तरकारीको भाउ बढाएका हुन् । व्यापारीले अहिले बढाएका सबै सामान भने नयाँ आयात गरेकाभन्दा पनि पुरानो मैज्दात नै हुन् ।

सरकारको बजेट कालाबजारीका लागि ‘स्वर्ग’ बनेको छ भने डेरावाल नागरिकका लागि सास्ती ।

बजार छाडा भइरहँदा सरकारका निकायहरु भने निकम्माझैं भएका छन् । कहीँ–कतै न त अनुगमन न त कालाबजारीलाई कारबाही, केही भएको छैन ।

बजारमा यतिबेला उपभोग्य वस्तुको मूल्य प्रतिकिलो ४ देखि २० रुपैयाँसम्म बढेको छ ।

धनीमानीदेखि गरिबगुरुवासम्मको भान्सामा पकाइने दालमा प्रतिकिलो १०, तेल प्रतिलिटरमा २० र चामल प्रतिबोरामा १०० रुपैयाँसम्म बढाइएको छ ।

हुनेका लागि यो भाउवृद्धिले असर नगर्ला तर हुँदा खानेहरुमाथि बजेटकै बहानामा सास्तीको डन्डा झन् बजारिएको छ ।

व्यापारीले सरकारले करको दर बढाएकाले मूल्यवृद्धि गर्नुपरेको तर्क गरेपनि दैनिक उपभोग्य सामानमा मूल्य बढ्ने गरी कुुनै नयाँ कर प्रस्ताव नगरेको दाबी सरकारको छ ।

उद्योग–व्यवसायका हकमा पहिले फिर्ता हुने गरेको भ्याटबापतको रकम अब फिर्ता नगरिनेमात्र भनिएको छ । आमउपभोक्ता भने हरेक वर्षको बजेट आफ्ना लागि कहर बनेको बताउँछन् ।

बजेट भाषणले जहिले पनि जनतालाई मारमा पारेको गुनासो सर्वसाधारणको छ ।

उपभोक्ता महँगीको मारमा सेकिइरहेका बेला व्यापारी भने कुनैपनि वस्तुमा मूल्यवृद्धि नभएको नक्कली जवाफ दिन्छन् ।

सर्वसाधारणले महँगी व्यहोर्नु परिरहेको गुनासो गरिरहँदा अनुसन्धान गर्ने निकाय नै मूल्यवृद्धि नै नभएको तर्क गर्छ ।

उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले उद्योग–व्यवसायीले पहिले भ्याटबापतको फिर्ता पाउने रकम नपाउने भएपछि कुनै–कुनै खाद्यवस्तुमामात्र मूल्य बढेको तर्क गर्छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया