बुधबार राति २ बजेदेखि अधिकमास समाप्त

news

काठमाडौं, जेठ ३० । जेठ १ गते मंगलबार बेलुकी ५ बजेर ५३ मिनेटदेखि सुरु भएको अधिकमास बुधबार राति (बिहीबार बिहान) २ बजे समाप्त हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

अधिकमास भन्ने शब्दले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ । जेठ १ गते मंगलबार बेलुकी ५ बजेर ५३ मिनेटसम्म औंसी तिथि थियो ।

बेलुकी ५ बजेर ५४ मिनेटमा शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास सुरु भइ बुधबार राति औंसीको अन्त्य अर्थात् राति २ बजेसम्म रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

‘ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो । अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ’–उनले भने ।

अधिकमास परेकाले जेठ महिनाभर नित्य र नैमित्तिक कर्म गरिएपनि कुनै कामना राखेर गर्ने कर्म भने भएन ।

बुधबार राति २ बजेपछि कामना राखेर गरिने कर्म गर्ने बाटो शास्त्रीयरुपमा खुलेको उनले सुनाए ।

सूर्यको गतिकलाका आधारमा गणना गरिने मानलाई सौरमान भनिन्छ । तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो । १२ महिनाको एक वर्ष हुन्छ । एक वर्षमा १२ सौरमास र त्यति नै संख्यामा चान्द्रमास हुन्छन् ।

कहिले–काहीँ एक वर्षमा १२ सौरमास भएपनि चान्द्रमासको संख्या १३ हुनपुग्छ । त्यस्तो समयमा एकै चान्द्रमास दुईपटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ ।

त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास भएको बताउँछन्, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका उपप्राध्यापक पुरुषोत्तम भट्टराई ।

सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन् । एक चान्द्रमासमा लगभग साढे २९ दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ । दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ ।

तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भएपनि चान्द्रमासको संख्या १३ हुन्छ । त्यो बढी भएको तेह्रौं मास नै अधिकमास हो । तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।

अधिकमास पर्दा एक चान्द्रमासमा एउटा पनि सूर्यसंक्रान्ति पर्दैन । एउटा पनि सूर्यसंक्रान्ति, नभएको चान्द्रमास नै अधिकमास हो ।

धर्मशास्त्रमा सूर्यसंक्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ ।

त्यस्तै, कहिले–काहीँ एउटै चान्द्रमासमा दुईओटा सूर्यसंक्रन्ति पनि पर्छ । त्यस्तो दुईओटा सूर्यसंक्रन्ति परेको मासलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईओटा अधिकमास पर्दछन् ।

करिब एक हजार ५०० वर्षअघि बराहमिहिरको पालादेखि सुरु भएको सूर्य सिद्धान्त आधार मानिने पञ्चांग गणना पद्धतिअनुसार फागुनदेखि असोजसम्ममा अधिकमास पर्छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया