कलाकार र खेलाडी राज्यका गहना होइनन् ?

news

लाओस राई:

नेपालको सन्दर्भमा फिल्म उद्योग र खेलकुद क्षेत्रको विकासको इतिहांस खासै लामो छैन । जति विश्वका अरु देशहरुको छ । संसारमा फिल्म उद्योग राम्रो स्थानमा पुगेको मुलुकको नाम लिन पर्दा अमेरिका, भारतलाई नै लिने गर्दछ । ती देशमा जस्तो ठुलै उद्योग नभए पनि सानोतिनो स्तरमा संचालन भने नभएको होईन । तर चाहे जति भने नभएको सही हो ।

चलचित्र, कला र कलाकारिता देशको दर्पण हो । जसको माध्यमबाट सिंगो देशको मान, प्रतिष्ठा र इज्जतलाई उँचो राख्न मद्दत गर्छ । त्यसो हुनाले कलाकार मनोरन्जनको पात्र मात्र नभएर देश र राष्ट्रको सम्पति र गहना हुन् । यति भनिरहँदा यस क्षेत्रको बिकास र बिस्तारको लागि राज्यको तर्फबाट के कस्ता सकारात्मक पक्षको पहलकदमी भयो त भन्ने प्रश्न पनि उठ्न सक्छ । त्यसको जबाफदेही सरकार नै हुने हो । तथापी, यस क्षेत्रको बिकासको हेतुले चलचित्र बिकास बोर्ड, कला प्रतिष्ठान जस्ता निकायहरु स्थापना पनि गरेका छन् । तर त्यसले अपेक्षित नतिजा मात्र ल्याउन नसकेको हो । त्यसमा संकोच मान्नु पर्ने कुरै भएन ।

चलचित्रको बिकासको सन्दर्भमा चर्चा गर्ने हो भने त्यसको इतिहास कठिन र दुखदायी भन्न पर्दछ । पहिलो चलचित्र ‘आमा’देखि सुरु भएको चलचित्र यात्रा आजको अवस्थासम्म आईपुग्नु लामो समय लाग्यो । एउटा भनाई छ, ‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर माथी पहिरो छ’ भने जस्तै यस क्षेत्रमा लाग्नेहरुको बेग्लै पिडा थियो र आज पनि छ । त्यसको एकमात्र उदाहरण भनेको उनीहरुले पाउने पारिश्रमिक सुन्दा टीठलाग्दो नै छ । धेरै कठिनाइ र असहजताका बीच नेपाली चलचित्र उद्योग विश्व रंगमंचमा सानो चिनारी बनाउन भने सफल देखिन्छ ।

त्यसको उदाहरणको रुपमा ओस्कार पुरस्कारको निम्ती छानिएका ‘क्याराभान’ ‘मुकुण्डो’ जस्ता भौगोलिक, सामाजिक, सास्कृतिक यथार्थतालाई उजागर गर्ने चलचित्रहरुलाई लिन सकिन्छ । त्यसकारण स्तरिय खालको चलचित्र निर्माण नै नभएको भने होईन । तर जति हुनु पर्ने थियो त्यति भएन भन्ने मात्र हो । कलाकार २१ सौं शताब्दीको दोस्रो दशकसम्म जुन स्तरमा कलाकारले आफ्नो अभिनय क्षमता र प्रतिभालाई चलचित्रमा प्रस्तुत गरेका छन् त्यो समय सापेक्ष नै छ, र त्यसको श्रेय सम्पूर्ण युनिटलाई जान्छ । अझै भन्ने हो भने यसलाई राजनीतिक ब्यबस्थामा आएको परिवर्तनले पारेको प्रभाव मान्न सकिन्छ । गणतन्त्र स्थापना पछिका कलाकार र त्यस अघिका कलाकार बीच धेरै भिन्नता पाउन सकिन्छ । त्यसकारण कलाको माध्यमबाट दर्शकलाई मनोरन्जन र आनन्द दिने मूल उदेश्य हो । त्यो झन नयाँ नयाँ तरिका दिने जुन अभिनयको थालनी भएको छ त्यो झनै प्राकृतिक र मनमोहक छ । कलात्मक र सम्मानयोग्य छ ।

त्यसैले दर्शकको मन कलाकारले तानेकै हो । यसमा बिमति छैन । तर पुरानो मान्यता र संस्कारबाट विभूषित समाज त्यसको बिरुद्ध उभिएको छ । यो नै यस युगको द्वन्द हो । लामो समय देखि कला क्षेत्रमा समर्पित पुस्ता र नव प्रवेसी बीचको सामान्य खटपट हो कि जस्तो देखिने आजको समयमा बिकाससंगै विच्छ«खलता र उत्ताउलोपन लिएर आए भन्ने पनि आरोप छ । यसकारण कुन कुन कलाकारको कस्तो कस्तो उत्ताउलो अभिनय छ भन्दा पनि समय सापेक्ष छ कि छैन, समाज सुहाउँदो छ कि छैन भन्ने तिर सोच्नु नै कलाकारको मुख्य जिम्मेवारी हो । अर्को कुरा कलाकार आफैंमा एना हो भन्दैमा छर्लङ्ग हुनुपर्छ भन्ने पनि छैन, यो कुरा कलाकारले बुझ्नु पर्दछ । त्यसले समाजलाई नकारात्मक प्रभाब पार्छ कि भन्ने पक्षसंग कलाकार सधैं सजग हुनु पर्दछ । यी मुलभुत कुराहरु लेखक, गायक, निर्देशक, अभिनय संवाद ,पटकथा, आभुषण पहिरन प्रस्तुती गर्ने सबैले राम्रोसंग बुझ्नु पर्दछ ।

खेलकुद भन्ने बित्तिकै व्यक्तिको शारीरिक तन्दुरुस्ती संग सम्बन्धित भएको बिषय हो । जो ब्यक्तिको सम्पति हो । त्यो मानव जीवनको लागि अत्याबश्यक छ । आजको आधुनिक समयमा औद्योगिक खाद्य बस्तु खाने गर्नाले र सबै काम मेसिनले गर्ने मानिसमा बिभिन्न प्रकारको रोगहरु बढ्ने गरेका छन । त्यसकारण जुन घर, गाउँ, समाज र देश जति स्वस्थ हुन्छ, त्यति तन्दुरुस्त हुन्छ त्यस घर गाउँ ,समाज र देश उतिनै सक्षम हुन्छ वा खेलाडीमय हुन्छ । त्यसैले देश सम्पन्न हुनलाई त्यस देशको मानिस स्वस्थ हुन जरुरी छ । एकातिर स्वस्थ मानिसले जे पनि काम गर्न सक्ने, अर्कोतिर छिटो छरितो हुने हुँदा कम लागतमा धेरै काम हुन् जान्छ । त्यसले गर्दा देशलाई फाईदा पुर्याउँछ । जसरी अन्य पक्षले देश बिकासमा सकारात्मक भूमिका खेलेको हुन्छ, त्यसरी नै खेलकुद क्षेत्रको विकासले पनि देश बिकासमा महत्वपूर्ण भूमिका निर्बाह गरेको हुन्छ ।

झट्ट हेर्दा एकोहोरो लगानी गरे जस्तो देखिने तर त्यसको अन्तर्निहित फाईदा धेरै हुने हुनाले यसको बिकास पनि राष्ट्रको बिकास हो भन्दा हुन्छ । बिगतको कुरालाई बिर्सेर केहि समय अघिको घटनालाई सम्झना गर्ने हो भने त्यसबाट प्रष्ट हुन्छ । बिगत लामो समय अघि देखि दुई कोरिया बीचको अन्तर देशीय झगडा उत्कर्षमा पुगेको थियो । ओलम्पिक खेलमा सहभागिताले गर्दा दुई देश बीचको सम्बन्धलाई बार्ताको टेबुल्सम्म पुर्‍यायो । त्यस्तै अर्को उदाहरण भारत र पाकिस्तानलाई लिन सकिन्छ । देश विभाजनपछि धेरै पटक युद्धमा होमिएको देश खेलको माध्यमबाट धेरै पटक सम्बन्ध सुधार भएको तथ्य उजागर भईसकेको छ । त्यसकारण विग्रिएको सम्बन्ध सुधार्नका निम्ती सेतुको भूमिका निर्वाह गरेको छ । त्यो चाहे व्यक्तिको होस या देशको यसको मतलब राजनीतिक सम्बन्धको सुधार गर्नु यसको काम होईन यसको मुख्य काम भनेको शारीरिक सुसंगठित रुपमा अन्तराष्ट्रिय रुपमा देशलाई परिचय गराउनु हो । व्यक्तिको व्यक्तित्व बिकास गर्दै आर्थिक रुपमा आत्मनिर्भर गर्नतिर प्रोत्साहन गर्नुका साथै खेलाडीलाई अनुशासित र मर्यादित बनाउदै देश भक्तिको भाव जगाउनु हो ।

खेलाडी भन्ने वित्तिकै निरन्तर अभ्यास र लगनशीलताको पर्यायी भन्ने बुझिन्छ । त्यसकारण यसको मुलमन्त्र भनेकै बिकास, अनुशासन र गतिसिलता भन्ने गरिन्छ । त्यसैले युवामा लगनसिलता र अभ्यासको जरुरी छ । पहिलो कुरा सबै युवा, युवा अवस्थामा खेल्न सक्छन् तर खेलाडी बन्न सक्दैन । खेलाडी बन्नको लागि अनुशासन, लगनसिलता र निरन्तर अभ्यास चाहिन्छ । प्रतिस्पर्धा, असफलता र सफलता हरेक मानिसको जीवनमा आउनु पर्दछ । त्यसपछी मात्र जीवनको सार्थकता प्रमाणित हुन्छ ।यी त भए खेलाडीले कसरी सफल हुन सकिन्छ भन्ने सैद्धान्तिक कुरा जहाँसम्म खेलाडीको व्यक्तिगत जीवनसंग जोडिएको अनेकन पक्षहरू छन् त्यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । उत्पन्न समस्या र त्यसको समाधान सम्बन्धित निकायबाट भयो कि भएन भन्ने अर्को संवेदनसिल कुरा हो । त्यसकारण खेलाडीहरुलाई राज्यको तर्फबाट गर्नुपर्ने सबै सुबिधा सेवाको उचित प्रबन्ध गर्दै खेलाडीलाई उनीहरुको व्यक्तिगत समस्या जीवन निर्वाह गर्ने कठिन आवस्थाबाट माथि उठाई देश र राष्ट्रप्रति समर्पित मनो भावन निर्माण गर्ने जिम्मेवारी राज्यको हो । त्यसकारण खेलाडीले मेहेनत, र उनीहरुको प्रतिभाको सम्मान गर्दै प्रोत्साहान गर्ने जिम्मेवारी राज्यले लिएमा खेल क्षेत्रको बिकास र देशको सान बढ्ने थियो ।

त्यसैले समग्रमा भन्दा कला, चलचित्र, चलचित्र उद्योग, खेलकुद ,र खेलाडी सबै देशको सम्पत्ति हो यसको प्रवद्र्धन गर्न सके देशको सान बढ्नुको साथै देशको आर्थिक उन्नति हुने तथ्यलाई उजागर गनु पर्दैन । त्यसैले संघिय नेपालमा खेल क्षेत्रको बिकास हुन अनिवार्य छ । खेलको विकासका लागि खेलाडीलाई प्रोत्साहन गर्नु त छँदैछ त्यो भन्दा पनि विदेश पलायन रोक्नसक्नु राज्यको पहिलो दायित्व हो । यो दायित्व जुनसुकै सरकारले दृढताका साथ पुरा गर्नुपर्छ । क्षमता र प्रतिभा भएका खेलाडीको पहिचान र अवसरबाट बन्चित गर्ने राजनीति नेपाली समाजबाट जरैदेखि उखेल्न सक्नुपर्छ । सुविधा सम्पन्न खेल मैदान र भौतिक संरचना निर्माणमा सरकारी पहल सधैं प्रभावकारी हुनु जरुरी छ । कलाकालहरुको प्रोत्साहन र प्रवद्र्धनका लागि राज्यबाट विशेष व्यवस्था भएन भने उनीहरुमा हिनताबोद र निराशा अवश्य छाउनेछ । यसतर्फ राज्यको आँखा पुगोस । कलाकारिता क्षेत्रमा देखिने उश्रृखलता र छाडापनलाई रोकेर क्षमतावान र योग्य कलाकारलाई राज्यले चिन्न सक्नुपर्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया