दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

news

सोल, जेठ ३१ । दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेलस्तरमा वार्ता सुरु भएको छ ।

स्थानीय सन्चारमाध्यामहरुले बिहीबार सो जानकारी दिएका छन् । बिहीबार बिहानबाट उक्त वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बिहीबार बिहान १० बजे दुई कोरियाका सैनिक जर्नेल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए ।

यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको १० वर्षमै पहिलोपटक यसरी वार्ता भएको बताइएको छ ।

यसअघि, सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीहरुबीच वार्ता भएको बताइएको थियो ।

पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमन्डलको नेतृत्व गरेर मेजर जनरल किम डो ग्युन बिहीबार बिहान उक्त गाउँमा पुगेका हुन् ।

त्यसैगरी, उत्तर कोरियाको तर्फबाट पनि जनरल आन लक सनले नेतृत्व गरेका छन् । उनीहरुबीच दुई कोरियाकाबीचमा सैनिक तहमा समस्या समाधानका लागि यो बैठकको आह्वान गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मंगलबार सिंगापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाबीच पनि सम्बन्धमा सुधार आएको छ ।

उक्त शिखर वार्तामा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक गृहकार्य गरिने र निःशस्त्रीकरणका लागि प्रक्रिया थालिने भनेर उत्तर कोरियाली नेताले प्रतिबद्धता व्यक्त गरेका छन् । रासस/सिन्ह्वा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया