खर्च घटाउन पाँच सांसदको आग्रह

news

काठमाडौं, जेठ ३१ । विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा पाँचजना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उनीहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरेका हुन् ।

पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा. मीनेन्द्र रिजालले आगामी आवमा २० लाख पर्यटन भित्र्याउन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

उनले निर्माणाधीन विमानस्थलको समयावधि र खर्च विनियोजनको तादाम्यता नमिलेको भन्दै खर्च कटौतीको प्रस्ताव गरेको बताए ।

सांसद प्रेम सुवालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाउन प्रस्ताव गरे ।

उनले विश्व सम्पदासूचीमा सूचीकृत सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान नदिएको भन्दै खर्च कटौती गर्नुपर्ने प्रस्ताव पेस गरेको स्पस्ट पारे ।

युवा तथा खेदकुद मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गर्दै सांसद प्रमिला राईले अनावश्यक रकम घटाउनुपर्ने बताइन् ।

अर्का सांसद प्रकाश रसाइलीले अर्थ मन्त्रालय शीर्षकको खर्च रकम घटाउनुपर्ने प्रस्ताव प्रस्तुत् गरे ।

त्यसैगरी, सांसद दुर्गा पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च रकममा ग्रामीण पर्यटनको विकासमा ध्यान नदिएको भन्दै उक्त मन्त्रालयको विनियोजित बजेट घटाउनुपर्नेमा जोड दिइन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया