यसरी भइरहेछ मानव खप्परको तस्करी (भिडियो)

news

दीपक श्रेष्ठ, उत्तम मानन्धर र प्रदीप तामाङ (इमेज):

काठमाडौं, जेठ ३१ । मानव खप्परजस्तो अतिसंवेदनशील वस्तुको पनि कारोबार हुने गरेको छ ।

मानव खप्परसँग जोडिएका विभिन्न अन्धविश्वासका कारण यसको किनबेच हुने गरेको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरीले मानव खप्परसहित दुईजना युवालाई गत शनिबार काठमाडौंबाट पक्राउ गर्‍यो ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको थियो । दुवैका साथबाट एकथान मानव खप्पर बरामद भयो । तन्त्र जगाउन भन्दै उनीहरुले मानव खप्पर लुकाएर राखेका थिए ।

नेपालको पूर्वी नाकामा मानव खप्पर तस्करी गर्ने गिरोह सक्रिय रहेको छ । पूर्वी नेपालमा बसोबास गर्ने जनजातिहरुमध्ये ठूलो संख्यामा रहेका राई र लिम्बूहरुले शवलाई गाड्ने गर्दछन् ।

तस्करहरुले चिहान खनेर मानव खप्पर संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । त्यस्ता तस्करहरुले शवसँगै रहेको गहनाहरु पनि निकाल्ने गरेको प्रहरीको दाबी छ ।

प्रहरी अनुसन्धानबाट तान्त्रिकहरुले मानव खप्परबाट धन प्राप्त गर्नसकिने भ्रम छरेर महँगो मूल्यमा बिक्री गर्ने गरेको रहस्य खुलेको थियो ।

मानव खप्परलाई विशेषरुपमा कुँदेर सजावटका लागिसमेत प्रयोगमा ल्याउने गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेल बताउँछन् ।

मानव खप्परसहित पक्राउ परेका व्यक्तिलाई कारबाही गर्ने कुनै विशेष कानुन छैन । प्रहरीले उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत् मुद्दा चलाउने गरेको छ ।

मानिसको खप्परसहित कोही पक्राउ पर्नु निकै संवेदनशील विषय हो । नयाँ बनेको मुलुकी अपराध ऐनमा यस्तो खालको अपराधलाई पनि कडा कानुनी कारबाहीको व्यवस्था गरिएको पोखरेलको भनाइ छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया