सांसद पालले भनिन्–‘पेस्तोल देखाएर धम्की दिइयो’

news

काठमाडौं, साउन १७ । प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनीहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद पार्वत गुरुङले सांसद निरुदेवी पालमाथि भएको हमलाप्रति दुःख व्यक्त गर्दै त्यसविरुद्ध सत्तापक्ष र प्रतिपक्षीका सबै सांसद एकजुट हुनुपर्ने बताए ।

सांसद सुजाता परियारले दलित समुदायका उच्च शिक्षाको निम्ति छात्रवृत्ति प्रदान गर्नाका साथै आयमूलक काम सिकाउँदै आएको उत्पीडित समुदाय उत्थान विकास समिति बजेट र नीतिमा समेटिन नसकेको भन्दै गुनासो गरिन् ।

साथै, उनले सांसद निरुदेवी पालमाथि हमला गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरिन् ।

सांसद आशाकुमारी विकले पछिल्लो समयमा ७ नम्बर प्रदेशमा महिलामाथिका जघन्य अपराधका घटना बढेको तथ्यांक प्रस्तुत् गर्दै सुरक्षितरुपमा बाँच्न पाउने वतावरण बनाउन सरकारसँग माग गरिन् ।

सांसद विमला विश्वकर्माले दलित विकास समितिलाई निस्क्रिय बनाउँदा दलित विद्यार्थीका लागि छात्रवृत्ति कटौती भएको भन्दै दलित विद्यार्थीको उच्च शिक्षाका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

सांसद पवित्रा निरौला खरेलले सरकारले औलो उन्मूलनका लागि वर्षौंदेखि ठूलो धनराशि खर्च गरे पनि औलो उन्मूलन हुन नसकेकाले वर्षातका समयमा थप होसियार हुन सरोकारवाला सरकारी निकायको ध्यानाकर्षण गराइन् ।

सांसद पार्वती बिशंखेले जुम्लाको विरोध गाउँपालिका जनप्रतिनिधिले नै अर्काे जनप्रतिनिधिले छोएको चिया नखाएको घटनाका सम्बन्धमा जानकारी गराउँदै छुवाछूत व्यवहार गर्नेलाई कानुनअनुसार कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद दुर्गाकुमारी विश्वकर्माले मणिपाल अस्पतालले सरकारलाई बुझाउनुपर्ने रु ९ करोड राजश्व हालसम्म पनि बुझाउन आनाकानी गरेको र स्वास्थ्य बिमाअन्तर्गतको औषधिको व्यवस्था पनि नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद टेकबहादुर बस्नेतले संविधान जारी भएको तीन वर्ष पुग्न लाग्दा पनि अझै कतिपय मौलिक हकसम्बन्धी कानुन बनाउने काम बाँकी नै रहेको भन्दै यस सम्बनधमा सरकारको तयारी के छ ? सदनलाई जानकारी गराउनुपर्ने बताए ।

सांसद अञ्जना विशंखेले कलंकी–थानकोट बाटोको तत्काल सुधार गरी यातायातमा सहजता बनाउन र महिलामाथिका हिंसाका घटना बढेकामा सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पालमाथि भएको आक्रमणबारे सदनलाई जानकारी

बैठकमा सत्तारूढ दल नेकपाकी सांसद निरुदेवी पालले यही साउन १५ गते राति ८ः१५ बजे आफूमाथि मध्यबानेश्वरमा आक्रमणको प्रयास भएको जानकारी दिइन् ।

उनले दूध लिनेक्रममा कोठाबाट पसल गएर फर्कंदै गर्दा छेडो बाटोमा रहेका एक व्यक्तिले छेकेर पेस्तोल देखाइ तर्साउन खोजिएपनि दुर्घटना हुनबाट आफू जोगिएको बताइन् ।

उनले भनिन्–‘रेनकोट लगाएको उक्त व्यक्तिले सुनुवाइ समितिको भोलिको बैठकमा भाग लिइस् भने प्रधानमन्त्रीले पनि बचाउन सक्दैन भनेर धम्की दिएको र आफूले यस घटनालाई पृथक ढंगबाट हेरेको छु ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सांसद निरुदेवी पालमाथि भएको घटनाको निन्दा र भर्त्सना गरिन् ।

उनले भनिन्–‘यो घटनाको छानबिनका लागि समिति गठन गरियोस् । हामी सबै सांसद असुरक्षाको घेरामा छौं । सांसदको सुरक्षा दिन नसक्ने सरकारले आमजनताको सुरक्षा दिन सक्दैन भन्ने कुरा पुष्टि भएको छ । सरकारले जनतालाई मूल्यवृद्धिको उपहारबाहेक अरूलाई केही दिन सकेको छैन ।’

सांसद अतहर कमाल मुसलमानले राजधानीमा सांसद नै सुरक्षित भएको महसुस गर्न सक्दैन भने जनता कसरी सुरक्षित होलान् ? भन्दै यसबारे गृहमन्त्रीको जवाफ आउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले भने–‘सरकारले सबै सांसदलाई सुरक्षाकर्मी उपलब्ध गराउनसक्छ कि सक्दैन ? सक्दैन भने एक/दुईजनालाई उपलब्ध गराउनुको के अर्थ रहन्छ ? सरकारले आमजनतालाई सुरक्षाको उचित प्रबन्ध गर्न सकोस् ।’

सांसद हृृदयेश त्रिपाठीले सांसद निरुदेवी पालमाथि भएको घटनाप्रति दुःख व्यक्त गरे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...