महाभारतकी कुन्ती-२४

news

-हरिविनोद अधिकारी

साँच्चै हाम्रो  कुरुवंशको कथा अचम्भलाग्दो रहेछ । गणित जस्तै । जताबाट हुन्छ भएको कुराको पुष्टि गर्ने प्रमाण इतिहासमा नै फेला परेको हुन्छ । अर्जुनलाई बभ्रुबाहनले मारेको खबरसँगै त्यसको पनि पुष्टि भएको छ , किन अर्जुनलाई बभ्रुबाहन स्वीकार भएन र किन बभू्रबाहन जस्तो अनुशासित मणिपुर नरेशले आफ्नै पिताजीको हत्या गर्न तम्सियो ? अनि त्यसका पछिल्तिर पनि केके रहेछ रहस्य ? यी सबै कुरा  अश्वमेध यज्ञकै सिलसिलामा धेरै कुरा सुन्न पाइयो, देख्न पाइयो ।

कतिसम्म भने पितामहकी माता गङ्गासमेत यस कथामा जोडिनु भएको पाएँ मैले । यो कुरा बुहारी उलुपीले खुलस्त गरेकी थिइन् रुँदै । स्वयं उलुपी पनि आफ्ना पति अर्जुनलाई श्रापमुक्त गर्नका लागि छोरा बभ्रुबाहनलाई उकासेकी रहिछन् युद्धका लागि । उलुपीलाई थाहा थियो , यो घटना घट्छ, घट्छ । यदि बभ्रुबाहनका हातबाट उसका पिताजीको हत्या हुनु छ भने चाँडै होओस् र अर्जुन चाँडै बाँचून् । त्यो पनि थाहा रहेछ उलुपीलाई कि अर्जुन सधैंका लागि मारिने होइनन्, क्षणिक समयका लागि मात्र हो तर मारिनु पर्ने विधान सत्य हो । त्यो पनि सबैलाई थाहा थियो कि युधिष्ठिरको अश्वमेध यज्ञ सफल हुन्छ र त्यसका लागि अर्जुन नै त्यो पात्र हो जसले घोडाको रक्षा गर्नेछन् र संसारका थुप्रै देशहरुलाई जितेर हस्तिनापुरको सीमा विस्तार गर्नेछन् र अरबौँ रुपैञाको सम्पत्ति आर्जन गरेर फर्कने छन् ।

बभ्रुबाहन र अर्जुनको युद्धलाई धेरै वीरहरुले त्रेतायुगमा  लव–कुश र श्रीरामका सैनिकहरुको त्यो लडाईँ सम्झेछन् जुन श्रीरामको अश्वमेध यज्ञको लागि छोडिएको घोडा विश्वामित्र ऋषिको गुरुकुल क्षेत्रमा प्रवेश गरेपछि शत्रुघ्न, लक्ष्मण, भरत, हनुमानसँग लव र कुशको लडाइँँ भएको थियो जुन लडार्इँमा लव र कुशले श्रीरामको अजातशत्रु सेनालाई हराएर घोडा कब्जामा लिएका थिए । मात्र दुई जना किशोरहरुबाट । ती दुई किशोरबाट पराजित श्रीराम सेनालाई सहयोग गर्न जब लक्ष्मण स्वयं शत्रुघ्न र भरतका सहयोगका लागि आएका थिए, अनि हनुमानसमेतलाई पक्रेर लब र कुशले लगे पछि बल्ल सीता महारानीलाई थाहा भयो । त्यसबेलामा बाल्मीकि ऋषि पनि तीर्थाटनमा जानु भएको थियो । मलाई सुनाउनेले बभ्रुबाहन र अर्जुनको युद्धलाई श्रीरामका सेना र लव कुशको युद्धसँग दांजेका थिए । वास्तवमा लव र कुश त कुनै सेना भएका  राजा थिएनन् , नितान्त ब्रह्मचर्याश्रममा रहेर बाल्मीकिसँग शिक्षा ग्रहण गरेका माताबाट मात्र पालित किशोरहरु थिए । उनीहरुलाई आमाको रुपमा सीता थाहा थियो, अभिभावकको रुपमा बाल्मीकि जान्दथे । रामायणको कथा सस्वर भनेर  र श्रोतालाई भावुक बनाउँथे । उनीहरुलाई के पनि थाहा थिएन भने ती श्रीराम उनीहरुकै पिताजी हुन्, सीता महारानीका पति हुन्, र चक्रवर्ती महाराज हुन् सूर्यवंशी । उनीहरुका रामायणका नायक अरु कोही नभएर आफ्नै पिता हुन् र भावी अयोध्या नरेश आफैँ हौँ भन्ने पनि थाहा थिएन । तर हाम्रो त के स्पष्ट थाहा थियो भने बभु्रबाहन अर्जुनपुत्र हुन् र मणिपुरमा आफ्ना आमाहरु उलुपी र चित्राङ्गदा सँगै रहेर राज्य गरिरहेका छन् ।

तर मेरो नाति बभू्रवाहनलाई भने आफू अर्जुनको छोरो  भन्ने थाहा भए पनि उसले आफ्नो पिताजीलाई देखेको थिएन । युधिष्ठिर ज्येष्ठ पिता भन्ने पनि थाहा थिएन तर उसलाई थाहा थियो मात्र के भने आफू मणिपुरको उत्तरदायी राजकुमार हुँ । राजा हुँ । सायद अर्जुनको रगत भएर होला, उसमा युद्धकलाको ज्ञान अरुभन्दा छिटै भएको थियो रे । चित्राङ्गदा अलि बढी नै धार्मिक प्रवृत्तिकी भएकीले सम्पूर्ण लालन पालनको जिम्मा उलुपीले लिएकी रहिछन् ।

मणिपुर र हस्तिनापुरसँग एकप्रकारले सञ्चार थिएन । हस्तिनापुरभन्दा मणिपुर टाढै पनि हो । शेषनागकी छोरी उलुपीमा एउटा विषाद थियो—उसको छोरो  इरावान हाम्रो पारिवारिक कारणले भएको महायुद्धमा कौरब पक्षबाट मारिएको थियो । हस्तिनापुरमा उनीहरुका लागि स्थान सुरक्षित नदेखेपछि मणिपुरमा गएर बभ्रुवाहनको रेखदेख र शिक्षा दीक्षामा ऊ केन्द्रित भएको जस्तो लाग्छ । तर मैले कहिल्यै पनि छोराहरुका आन्तरिक मामिलामा वास्ता पनि गरिन र उनीहरुको राजोचित मान्यतामा हस्तक्षेप पनि गरिन । अभिमन्युलाई सबैले भावी युवराजको रुपमा मानेका थिए , त्यसको कारण हुनसक्छ ऊ मेरी भदै सुभद्राको छोरो थियो । द्रौपदीले समेत भावी युवराजका रुपमा अभिमन्युलाई नै मानेको अवस्था थियो किनभने अभिमन्युका गुरुहरु भनेको वलराम र कृष्ण नै थिए । मेरा कारणले पनि र कृष्णका कारणले पनि हाम्रो परिवारमा अभिमन्युको महत्व त्यसै पनि थियो । हाम्रो वृष्णिकुलका कुलगुरुहरु नै अभिमन्युका पनि गुरुहरु थिए । सुभद्रालाई पनि के थाहा थियो भने भारतको भावी चक्रवर्ती महाराज उसकै कोखबाट जन्मेको छोरो नै हुनेछ ।

विधिको विधान त कसलाई पो थाहा हुने रहेछ र ? स्थिति यस्तो तयार भयो कि सुभद्राकै कोखबाट जन्मेको अभिमन्युको महायुद्धमै हत्या भयो महारथीहरुबाट । उसको छोरो उत्तराको कोखबाट जन्मने परीक्षितचाहिँ चक्रवर्ती महाराज हुने सम्भावना भयो । उही नै भावी महाराज हुनेछ । अहिलेसम्म युवराजका रुपमा भीमसेन भए पनि नवयुवराजको रुपमा उही नै हो परीक्षित किनभने हामीसँग अब अर्को उत्तराधिकारी बाँकी नै रहेछ । कर्णको छोरो वृषकेतु बाँकी छ, घटोत्कचको छोरो मेघवर्ण बाँकी छ, युयुत्सु बाँकी छ तर कुरुवंशीय प्रचलनमा ती राजा हुन लायक देखिँदैनन् एकातिर भने उनीहरु आफैँले पनि राज्यको हकदार भनेर आफूलाई मानेका छैनन् । बभ्रुबाहन उत्तराधिकारी हुनसक्थ्यो तर उसले मावलीको जिम्मा लिने प्रचलन भएकाले परीक्षित नै भावी राजा हो ।

अनि बभ्रूवाहनलाई हामीले साँच्चै आफ्नो सन्तानको रुपमा समेत सम्झेका थिएनौँ तर हो त छोरो अर्जुनकै । मेरै रगत मणिपुरमा राज्य गरिरहेको रहेछ । अनि उसैले महावीर धनुर्धारी अर्जुनलाई युद्धमा हराएर मृत्युशैयामा सुताएछ ।

सबैलाई थाहा नै थियो कि अग्निको आशीर्वादले नै अर्जुनमा धेरै क्षमता वृद्धि भएको थियो । गाण्डीव धनु प्राप्त भएको थियो, मनोरथ पूरा गर्ने दैवी रथ प्राप्त भएको थियो । अग्निलाई के खाउँ के खाउँ भनेको बेलामा नै  खाण्डव वनमा अग्निदहन गरिएको थियो । अग्नि सन्तुष्ट थिए । उलुपीले दिएको जानकारी अनुसार तिनै अग्निकी सासु ज्वालाका कारणले भनौँ, अर्जुनको हत्यासमेत हुन गएको हो । कसरी भने राजा नीलध्वजकी रानी ज्वाला थिइन् र उनकी स्वाहा नाम गरेकी छोरीले अग्निबाहेक अरु कसैसँग विवाह नगर्ने भएकीले अग्निसँग विवाह भएको थियो । पछि ज्वालाको दुव्र्यवहारले गर्दा राजा नीलध्वजले पनि उनलाई निकाले र उनको माइतीमा पनि उनलाई बस्ने ठाउँ भएन । तर स्वाहासँग विवाह गर्दा राजा नीलध्वजले अग्निलाई राज्यको सहयोगीका रुपमा शर्त गराएका थिए । स्वाहासँग राजा नीलध्वजको दरबारमा ज्वार्इँको रुपमा बसेका अग्निले रक्षा गरेकाले होला, युधिष्ठिरको घोडा निर्भीकताका साथ समातेर राखेका थिए । जब अर्जुन आफ्ना रथीहरुसहित सेना लिएर लड्न गयो, अनि अग्निको सहायताले सबै सेना भष्म हुन थालेछन् । अर्जुनले वारुणास्त्रद्वारा अग्नि समन गरे पनि प्रभावकारी हुन सकेनछ । स्वयं अग्नि आफैँ ससुरालीको सहयोगमा सक्रिय हुनु भएकाले अर्जुनका सेनालाई संहार गर्न अग्निको ठूलो सहयोग मिलेको थियो । अनि अर्जुनले पनि अग्निको आह्वान गरी पुराना कुरा सम्झाएछ । अग्निलाई आफ्ना पक्षमा पारेछ । भनेछ-तपाईँकै सम्मानका लागि अश्वमेध यज्ञ हुँदैछ र त्यही यज्ञका लागि छोडिएको घोडाको रक्षार्थ म हिँडेको हुँ । अग्नि जब शान्त हुनुभएछ, त्यसपछि ज्वाला जब भाँैतारिँदै राज्यविहीन रानीको रुपमा हिंडिन्, अनि गङ्गातटमा पुगिन् । गङ्गालाई उत्तेजित गराउन उनले भनिछन्म-लाई गङ्गाको जलले छोएकाले मेरोलागि अपशकुन भयो किनभने गङ्गा आफैँ छोराहरु मार्ने अपराधी हुन्, तर पनि उनको छोरा कान्छो भीष्मलाई मार्ने अर्जुनलाई अझसम्म कुनै श्राप त दिन सकेकी छैनन् । त्यस्ती अपुताको स्पर्शले पनि मलाई भतभत पोलेको छ । अनि गङ्गा पनि उत्तेजनामा आएर आफ्नो कान्छो छोरोको हत्याका लागि उत्तरदायी मानेकी अर्जुनलाई श्राप दिनु भएछ-अबका ६ महिनामा अर्जुनको पनि आफ्नै छोराले हत्या गरोस् जसरी कि आफ्नै पितामहको हत्या गर्नका लागि शिखण्डीलाई अघि लगाएर आफैँले बाण हानेर शरशैयामा सुत्न बाध्य पारेको थियो । अनि त्यो श्राप पर्ने बित्तिकै ज्वाला आत्महत्या गरिन्,आत्मदाह गरिछन् र उनको अतृप्त आत्माको विष गएर बभु्रवाहनको शरको टुप्पोमा बसेछ । गङ्गाको श्राप पूरा हुनु थियो र त्यो श्राप पूरा हुनका लागि कारण बनेकी थिइन् नीलध्वजकी रानी ज्वालाको प्रेतात्मा जसले अर्जुनको कुभलो चाहन्थ्यो । यो कुरा उलुपीलाई थाहा थियो र के पनि थाहा थियो उलुपीलाई भने शेषनागको मणिले हत्या गरिएका अर्जुनको शरीर ब्युँतिने छ । उनी आफैँ शेषनागकी छोरी थिइन् ।

स्वयं व्यासको लीला पनि अपरम्पार छ । उहाँलाई थाहा नभएको पनि केही छैन । मलाई ईश्वरीय सूचना यस्तो प्राप्त भएको थियो कि मेरा छोराहरुमध्ये युधिष्ठिरबाहेकको मृत्यु हिमालयको कन्दरामा हुनेछ । अनि म कसरी निर्धारित समयभन्दा पहिले अर्जुनको मृत्युको कल्पना गर्न सक्थेँ र ? अर्जुन मरेको होला भनेर पत्याउन सक्थेँ र ? तर मेरो अघिल्तिर टाउको विनाको अर्जुनको शरीर लमतन्न थियो र उसका उलुपी र चित्राङ्गदा दुवै रानीहरु कोकोहोलो गरेर रोइरहेका थिए । यता सुभद्रालाई थाहा थिएन र पनि सुभद्रा पनि धेरै दिनदेखि अर्जुन हस्तिनापुर बाहिर रहेकाले चिन्तित त थिई नै । द्रौपदी यी सबै कुरालाई महारानीको हैसियतले सूक्ष्म तरिकाले अवलोकन गर्दै थिइन् । मलाई त भतभत पोल्यो अर्जुनको अवस्था सुनेर अनि दौडिएँ मणिपुरतर्फ । त्यहाँ जे देखें र सुनेँ , त्यसबाट म के निष्कर्षमा पुगेकी हुँ भने भावीको भवितव्य कसैले रोक्न सक्दैन । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया