बालिका बलात्कारपछि हत्या भएको १२ दिन वितिसक्दा पनि दोषी पक्राउ परेनन्

news

-दुर्गा उपाध्याय/ईमेज:

कन्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १२ दिन वितिसक्दा समेत दोषी पक्राउ परेका छैनन् ।

घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै स्थानीय प्रदर्शन गरिरहेका छन् । दोषी पक्राउ नपरेकोमा मृतकका आफन्तसमेत चिन्तित छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित यो घर निर्मला पन्तको हो । १२ दिनअघि निर्मला यही घरको आँगनमा भित्र बाहिर गर्दै थिइन् ।

तर अहिले उनको परिवार शोकमा डुबेको छ । साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला कहिल्यै घर फर्किन पाइनन् ।

उनको ११ गते बिहान घरदेखि झन्डै एक किलोमिटर टाढा सडक छेउको उखुबारीमा बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला प¥यो ।

बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव भेटिएपछि यो घर मात्र होइन, गाउँमै सन्नाटा छाएको छ ।

तीन जना छोरीको जिम्मेवारी सम्हालेर बसेकी निर्मलाकी आमा दुर्गादेवी सो दिन किनमेलका लागि बजार गएका बेला घटना भएको हो ।

निम्नवर्गीय परिवारमा हुर्किंदै गरेकी निर्मला घर नजिकैको सरस्वती माविमा कक्षा ९ मा अध्ययरत थिएन् ।

उनी पढाईमा अब्बल हुनुका साथै अनुशासित छात्रा भएको छिमेकीको भनाइ छ ।

हुर्किंदै गरेकी टोलकी चेलीको बलात्कारपछि विभत्स हत्या भएपछि शोकमा डुबेका स्थानीयबासी अहिले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आन्दोलनमा होमिएका छन् । पीडित परिवारमा आक्रोस बढ्दै गएको छ ।

मृतकका बाबु यज्ञराज पन्तले प्रहरी र स्थानीय प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएकोमा आक्रोस व्यक्त गरे ।

पीडित परिवारले आफूहरुलाई राहतभन्दा पनि दोषिलाई कारवाही हुनुपर्ने माग राखेका छन् ।

हत्याराले सजाय नपाएसम्म आफ्नी छोरीको आत्माले शान्ति नपाउने मृतककी आमा दुर्गादेवीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले घटनाको अनुसन्धान भइरहे पनि अहिलेसम्म उपलब्धि हासिल हुन नसकेको बताए । 

पछिल्लो समयमा कञ्चनपुरमा बलात्कारका घटना बढ्दै गएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा साउन १ गतेदेखि २० गतेसम्म ६ वटा बलात्कारका उजुरी दर्ता भएका छन् । तीमध्ये ५ वटा घटनाका दोषी पक्राउ परेका छन् ।

गत आर्थिक वर्षमा १७ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...