कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

news

अशोक घिमिरे (रासस)

काठमाडौं, साउन २१ । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ ।

नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकी डलरबाट ४११ अमेरिकी डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले जनाएको छ ।

अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत ४११ अमेरिकी डलर अर्थात ४५ हजार २९२ रुपैयाँ तिर्नुपर्नेछ ।

इपीएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारले तिर्ने हवाई भाडा सार्वजनिक खरिद ऐनअनुसार पहिलोपटक विद्युतीय बोलपत्रको माध्यमबाट प्रतिस्पर्धा गराइएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

बोलपत्रमा पाँच ट्राभल्स कम्पनीले सहभागिता जनाएका थिए ।

सिलिंग्स ट्राभल्स एन्ड टुर्स प्रालिले नेपाली कामदारलाई सबैभन्दा कम मूल्यमा हवाई टिकट उपलब्ध गराउने बोलकबोलसहित आइतबार टेन्डर पाएको हो ।

सिलिंग्स ट्राभल्सले अब कोरिया जाने नेपाली कामदारलाई रु ४५ हजार २९२ मा हवाई टिकट उपलब्ध गराउनेछ ।

उक्त ट्राभल्ससँग नेपालबाट सीधैं दक्षिण कोरियाको सियोलसम्मको हवाई टिकट उपलब्ध गराउनुपर्ने सम्झौता गरिएको छ ।

कोरिया जाने नेपाली कामदारलाई काठमाडौं–सियोल सीधा उडान नभए ६ घन्टाभन्दा कम ‘ट्रान्जिट’ भएको हवाई टिकट उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिस्पर्धाका माध्ययमबाट हवाई भाडा निर्धारण गर्दा कोरिया जाने नेपाली कामदारले तिर्ने रकममा वार्षिक रु १० करोडभन्दा बढी बचत हुने निर्देशक खनालले बताए ।

उनले भने–‘विदेश जाने कामदारले तिर्ने रकम र लागतमा कम गराइ नेपाली कामदारलक्षित कार्यक्रम ल्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिअनुरुप हवाई भाडाका लागि टेन्डर गरिएको हो ।’

हाल वार्षिक करिब ८ हजारको संख्यामा नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जाने गरेका छन् ।

सन् २००८ देखि इपीएस प्रणाली लागू भएसँगै दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई भाडाबापत ५४१ अमेरिकी डलर र २०७३ पुसदेखि ५२९.७५ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ५८ हजार २७२ सम्बन्धित ट्राभल्स एजेन्सीलाई बुझाउँदै आएका थिए ।

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् रोजगारीका लागि नेपाली कामदार दक्षिण कोरिया जान थालेका हुन् ।

कोरियामा कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारले अन्य देशका कामदारलेभन्दा उत्कृष्ट काम गर्दै आइरहेका छन् ।

त्यस्तै, औद्यौगिक क्षेत्रमा काम गर्ने नेपाली कामदारले पनि अन्य मुलुकका कामदारको तुलनामा इमान्दार काम गर्दै आएका छन् ।

हाल नेपाललगायत १६ मुलुकबाट वार्षिक करिब ५० हजार कामदार इपीएस प्रणालीमार्फत् दक्षिण कोरिया जाने गरेका छन् ।

इपीएसमार्फत् कोरिया जाने नेपालीको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ ।

खाँडी मुलुकमाजस्तो कामदारले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने र आकर्षक तलब सुविधाका कारण पनि कोरिया नेपाली कामदारको रोजाइमा पर्दै आएको छ ।

अहिले नेपाली कामदारले मासिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म पारिश्रमिक पाउँदै आएका छन् ।

त्यस्तै, सुरक्षित गन्तव्य, कामको सुनिश्चितता कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने, काम गर्ने अवधिको निश्चिता (चार वर्ष १० महिना), पुनः कोरिया जानसकिने, तेस्रो पक्ष र दलालको गुन्जायस नहुनेलगायत कारणबाट कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको इपीएस कोरिया शाखाका निर्देशक खनालले बताए ।

इपीएसमार्फत् नेपाली कामदारलाई कोरिया लैजाने कोटा र नेपाली कामदारले पाउने पारिश्रमिक बढाउन पनि पहल भइरहेको उनले बताए ।

सन् २००८ देखि गत जेठ मसान्तसम्म इपीएसमार्फत् ५४ हजार ३६३ नेपाली कामदार दक्षिण कोरिया गएका छन् । जसमा महिला तीन हजार ३३८ र पुरुष ५१ हजार ०२५ रहेका छन् ।

सन् २०१८ को भाषा परीक्षाबाट सात हजार ९९८ कामदार कोरिया जाँदैछन् ।

यसबाहेक कोरियाबाट फर्केका नेपाली कामदार कम्प्युटरमा आधारित परीक्षाबाटसमेत कोरिया जानसक्ने इपीएस कोरिया शाखाले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...