कटारी नगरपालिकाका लेखा अधिकृत ढकालमाथि तीन करोड भ्रष्टाचारको आरोपमा मुद्दा

news

काठमाडौं, साउन २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरेको पाइएको आयोगले जनाएको छ ।

अधिकृत ढकालले अनियमित तरिकाले आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको सरकारी कोषको रकम आफैंले खर्च गर्नुका साथै आफ्ना परिवार तथा आफन्तका सदस्यको नाममा घरजग्गा खरिद गरेको पाइएको आयोगले अभियोग लगाएको छ ।

आयोगले बिगोबमोजिमको रकम असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।

यस्तै, आयोगले माई नगरपालिका इलाममा कार्यरत् तत्कालीन लेखा अधिकृत ढकाल र सोही कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्धसमेत मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत ढकालले इलाममा रहँदासमेत कटारी नगरपालिकामाजस्तै रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै, प्रशासकीय अधिकृत कालीदास ढकालविरुद्ध पनि रु दुई करोड ३४ लाख ४३ हजार १०० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

उनीहरुले रकम जम्मा गर्न बैंकलाई पठाइएको पत्र र कार्यालयमा रहने पत्रमा विवरण फरक–फरक बनाउने, मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

सरकारी कोषको रकम दुरुपयोग गरी आफ्ना आफन्तको नाममा जम्मा पारेको, घरजग्गा जोडेको पाइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...